नेकपाले २ महिने राष्ट्रिय जागरण अभियान गर्ने (भिडियाे)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियानसम्बन्धी कार्यविधि पारित गर्दै महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई अभियानको मुख्य उद्देश्य बनाएको हो।
नेकपा नेता प्रकाश ज्वालाका अनुसार कात्तिक ७ गते अभियानको उद्घाटन हुनेछ। अभियानका क्रममा विभिन्न भेला आयोजना गर्नुका साथै पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिइनेछ। सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसमेत अभियानमार्फत गरिने नेता ज्वालाको भनाइ छ।
त्यस्तै पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित गर्न वडा अधिवेशन र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। जसअनुसार पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ। स्थानीय निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना पनि पार्टीले बनाएको नेता ज्वालले बताए।
त्यस्तै बैठकमा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइएको छ। पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने तथा प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा पनि छलफल भएको नेता ज्वालाले जानकारी दिए। त्यस्तै ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग नेकपाले गरेको छ।






2026-10-07-01-32-59.jpeg)
प्रतिकृया दिनुहोस