विश्वकप लिग २ ओमानकाे सामना गर्दै नेपाल, जित्नै पर्ने दबाब
काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार घरेलु टोली ओमानको सामना गर्नेछ । ओमानको मस्कटमा भइरहेको शृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो । दुवैले क्यानडालाई हराएको हो ।
ओमानले शुक्रबार क्यानडालाई ४१ रनले हराएको थियो । यस विजयले ओमानलाई लिग २ को अंकतालिकामा शीर्ष चारभित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो । नेपालले आइतबार क्यानडामाथि २१ रनको जित पाएको हो । यो जितले नेपाल पुनः शीर्ष ६ भित्र पुगेको थियो ।
ओमान २९ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ र पाँचौं स्थानको नामिबियाभन्दा २ अंकले अगाडि छ । ओमानले ७ खेल खेल्न बाँकी छ भने नामिबियाले १ खेलमात्र खेल्न बाँकी छ । नेपालमाथि जित पाए मात्र ओमानको औपचारिक रूपमै शीर्ष चार सुरक्षित हुनसक्छ ।
रोहित पौडेलको शतकमा नेपाल मस्कटमा पाएको जितबाट क्यानडालाई पछि पार्दै छैटौं स्थानमा उकालेको थियो । नेपालको ३३ खेलमा २६ अंक छ । क्यानडा ३४ खेलमा २५ अंकसहित ८ राष्ट्र सहभागी लिग २ को सातौं स्थानमा छ । ओमानमाथि विजय हात पारेमा नेपालले क्यानडालाई ३ अंकले पछाडि पार्नेछ ।
ओमानपछि नेपालले थप २ खेल खेल्न बाँकी छ । क्यानडाले पनि २ खेल खेल्न बाँकी छ । बाँकी ३ खेलमध्ये एकमा विजय हात पारेमा नेपाललाई पुछारमा रहेको युएईले भेट्टाउने छैन । यूएई ३२ खेलमा १९ अंकसहित आठौं स्थानमा छ ।





प्रतिकृया दिनुहोस