• २०८३ कार्तिक ३ सोमबार
  • Monday, 19 October, 2026

टाइगर श्राफमाथि महाराष्ट्रमा गाेली प्रहार

एजेन्सी। गोली प्रहार गरिएका तर बच्न सफल बलिउड अभिनेता टाइगर श्राफलाई घटनालगत्तै आइतबार राति महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले भेट गरेका छन्।

गम्भीर घटना भन्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले राज्य सरकार टाइगर श्राफको साथमा रहेको बताए।

भेटपछि पत्रकारसँग कुरा गर्दै उपमुख्यमन्त्री एकनाथ शिन्देले भने, ‘टाइगर श्राफमाथि भएको गोली प्रहार गम्भीर घटना हो। उनी आक्रमणबाट बच्न सफल भए। पाँच राउन्ड गोली चलाइएको थियो, तर सौभाग्यवश उनी जोगिए। उनका चालक घाइते भएका छन् र यो घटना निन्दनीय छ। मैले अभिनेतालाई भेटेर कुरा गरेँ। उनको देब्रे हातमा बारुद र सिसाका टुक्राले चोट लागेको छ।’

उनका अनुसार घटनाले टाइगर र उनकी आमा स्तब्ध भएका छन्। उपमुख्यमन्त्री एकनाथ शिन्देले अगाडि भनेका छन्, ‘मैले उनीहरूलाई राज्य सरकार र मुम्बई प्रहरी साथमा छ भनेर विश्वास दिलाएको छु। कुनै पनि प्रकारको त्रास र धम्की सह्य छैन। १९९० को दशकमा यस्ता ग्याङ वार सामान्य थिए, तर मुम्बई प्रहरीले १९९५ मा यसको अन्त्य गर्‍यो। गोलीको जवाफ गोलीले दिइयो र यस्तो ग्याङ वार अन्त्य भयो।’

उनले थपे, ‘मानिसहरूलाई तर्साउने, धम्काउने यस्ता प्रयास सह्य छैन। जस्तालाई त्यस्तै जवाफ दिनेछौँ। हामी यस्तो गुन्डागर्दीको पूर्ण अन्त्य गर्नेछौँ।’ घटनापछि राज्यका विपक्षी दलले कानुनी व्यवस्थाको अवस्थामा प्रश्न उठाएका छन्।

कंग्रेस र शरद पवारको एनसीपीले राज्यका मुख्यमन्त्री आम जनतालाई सुरक्षा दिन असफल भएको टिप्पणी गरेका छन्।

आइतबार मुम्बईको जुहुमा अभिनेता टाइगर श्राफ सवार कारमा मोटरसाइकलमा आएका व्यक्तिहरूले पाँच गोली हानेका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार टाइगरका कार चालक र नजिकै रहेका अटो-रिक्सा चालकलाई पनि गोली लागेको छ। उनीहरूलाई नजिकैको अस्पताल भर्ना गरिएको छ।

घटनालगत्तै लरेन्स ग्याङका अनिल पण्डित र हरमन सन्धुले गोली आफूहरूले हानेको बताएका छन्।

अनिल पण्डितले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले उसलाई सम्झाएका थियौँ तर उसले बुझ्न चाहेन।आज हामीले उसलाई राम्रोसँग बुझायौँ। मुम्बई फिल्म उद्योगमा जसले हाम्रो कुरा सुन्दैन वा सलमानसँग काम गर्छ, अर्को नम्बर उसको हुनेछ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर