ट्रम्पलाई म्याक्राेनकाे काउण्टरः आप्रवासीका कारण हैन फ्रान्समा समस्या
एजेन्सी। फ्रान्समा भड्किएको प्रदर्शनका विषयमा केही विदेशी नेताहरूले दिएका अभिव्यक्तिलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले ‘मूर्खतापूर्ण टिप्पणी’ भन्दै कडा आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पछिल्लो अशान्तिको मुख्य कारण आप्रवासीहरू भएको दाबी गरेपछि म्याक्रोनको यो प्रतिक्रिया आएको हो।
फारस खाडी (पर्सियन गल्फ) क्षेत्रका अरब राष्ट्रहरूको भ्रमणका क्रममा बुधबार बोल्दै राष्ट्रपति म्याक्रोनले भने, 'हामीमाथि आप्रवासी र इस्लामिक कट्टरपन्थीहरूको हुलले आक्रमण गरी कब्जा जमाएको दाबी केही मानिसहरूले गरिरहेका छन्, जुन पूर्ण रूपमा असत्य हो। वास्तविकता के हो भने, अहिले हाम्रो देशको बारेमा नराम्रो बोल्नेहरू फ्रान्सलाई माया नगर्ने मानिसहरू हुन्। अनि त्यस्ता मानिसहरूले मलाई चिढ्याउँछन्।'
यसअघि सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सलाई 'क्रिश्चियन धर्म र पश्चिमी सभ्यतालाई नै घृणा गर्ने आप्रवासी, जिहादी र कम्युनिस्टहरूले कब्जामा लिएको, लुटपाट गरेको र जलाएर नष्ट बनाएको' दाबी गरेका थिए।
फ्रान्समा सेप्टेम्बर महिनादेखि शिक्षाको अवस्था र बढाउँदो जीवनयापन खर्च (महंगी ) को विरोधमा सुरु भएको प्रदर्शनले अहिले देशभर हिंसात्मक रूप लिएको छ। यसै हप्तामा मात्रै २,००० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। वर्षौँपछिको सबैभन्दा भयावह दङ्गा र हिंसा साम्य पार्न फ्रान्सेली अधिकारीहरूमाथि तीव्र दबाब परिरहेको छ। आगामी शनिबार पुनः हुनसक्ने प्रदर्शनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनहरूले कर्फ्यु आदेश जारी गर्नुका साथै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
यस अशान्तिमा कुनै विदेशी हात वा हस्तक्षेपको प्रमाण भेटिएको छ कि छैन भनी सोधिएको प्रश्नमा फ्रान्सेली राष्ट्रपतिले भने, 'भएका घटनाहरूमा कुनै प्रत्यक्ष वा दृश्य विदेशी हस्तक्षेप देखिएको छैन। सूचना र तथ्यहरूलाई तोडमरोड गर्ने गरी विदेशी पक्षबाट भ्रामक प्रचार पक्कै भएको छ, जसका कारण विदेशी नेताहरूसहित धेरै व्यक्तिहरूबाट अस्विकार्य र मूर्खतापूर्ण टिप्पणीहरू आएका छन्।'
पेरिसमा अक्टोबर १७ मा बढेको महंगीविरुद्ध भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले पसलका सिसा फुटाएका थिए।
ट्रम्पका अलावा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि यस अशान्तिका पछाडि आप्रवासीहरूकै हात रहेको संकेत गरेका थिए। सोमबार सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले भनेका थिए, 'पश्चिमी उदारवादीहरूले विविधता र करुणाको नाममा तेस्रो विश्वका मानिसहरूलाई फ्रान्स र अन्य देशहरूमा भित्र्याए। तर उनीहरूले घुलमिल हुने र समाजसँग अनुकूल हुने जस्ता मौलिक प्रश्नहरूलाई पूर्ण रूपमा उपेक्षा गरे।'
मंगलबार ओभल अफिसबाट बोल्दै ट्रम्पले भान्सको भनाइको समर्थन गरे र यो प्रदर्शन शिक्षा वा महंगीका कारण नभएको दाबी दोहोर्याए। ट्रम्पले भनेका थिए, 'यो शिक्षाको विषय नै होइन। यो त पूर्ण रूपमा आप्रवासनको विषय हो। फ्रान्सलाई, त्यहाँका जनतालाई र त्यहाँका हरेक कुरालाई आधारभूत रूपमा घृणा गर्ने गैरकानुनी मानिसहरू भित्रिनुको परिणाम हो यो।'
यसैबीच युरोपमा पनि हंगेरीका प्रधानमन्त्री पिटर मग्यारले कुनै प्रमाणबिना नै यो हिंसालाई फ्रान्सको आप्रवासन नीतिसँग जोडेका छन्। आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, 'यो अर्थहीन विनाश र अनपेक्षित हिंसालाई हेर्दा, हंगेरीले आप्रवासनका विषयमा किन सबैभन्दा कडा नीति लिनुपर्छ भन्ने कुरा अब सबैका सामु प्रस्ट भएको हुनुपर्छ।'
बुधबारको पत्रकार सम्मेलनमा म्याक्रोनले कुनै पनि विदेशी नेताको नाम किटान नगरे पनि युरोप र ‘अटलांटिक पार’ (अमेरिका) का नेताहरूले गलत सूचनालाई बढावा दिएको आरोप भने लगाए। 'हामी आफ्नो देशमा शान्ति, सम्मान र प्रगति चाहन्छौँ। तर मानिसहरूले सरासर असत्य कुराहरू बोलेर भ्रम फैलाउन मिल्दैन,' म्याक्रोनले भने।
एलिजे दरबारका अनुसार फ्रान्सेली राष्ट्रपति पेरिस प्रस्थान गर्नुअघि साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग वार्ताका लागि बुधबार अप्रत्याशित रूपमा साउदी पुगेका थिए।







प्रतिकृया दिनुहोस