• २०८३ कार्तिक २६ बिहीबार
  • Thursday, 12 November, 2026

स्पेनमा पनि सुरु भयाे आमहड्ताल, लाखाैं श्रमिक वर्ग सडकमा

काठमाडाैं। युराेपभर आन्दाेलनले लपेटिरहेका बेला स्पेनमा पनि हड्ताल सुरु भएकाे छ । बढ्दो महँगी र आवास खर्चको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडताल भएकाे हाे । यस क्रममा बार्सिलोना र राजधानी म्याड्रिडमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको बताइएको छ ।

बार्सिलोनामा प्रदर्शनका क्रममा नकाबधारी समूहले फोहोर फाल्ने कन्टेनरमा आगो लगाउनुका साथै पसलका सिसा फुटाएका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । स्पेनको गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौंलाई पक्राउ गरिएको छ ।

आमहडतालका कारण स्पेनभर यातायात र अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा आवागमन अवरुद्ध भएको थियो ।

बार्सिलोनाको प्रदर्शनमा सहभागी एक महिलाले बीबीसीसँग अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको बताएकी छन् । उनका अनुसार प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासमेत सहभागी थिए । तर, साँझपख सडकका विभिन्न स्थानमा आगलागी भएको उनले बताइन् ।

स्पेनमा सस्तो आवासको माग र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यविरुद्ध केही समययता प्रदर्शन हुँदै आएका छन् । म्याड्रिडमा ८७ वर्षीया मारीकार्मेन अबास्काललाई सात दशकदेखि बस्दै आएको फ्ल्याटबाट निकालिएपछि विरोध चर्किएको थियो । केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो ।

प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आम्दानीको तुलनामा दैनिक खर्च बढ्दै जाँदा जीवनयापन कठिन बनेको बताइन् ।

स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ । आवास सुधारसम्बन्धी आफ्नो योजनाले संसद्बाट स्वीकृति नपाएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना समयअगावै निर्वाचन गराउने घोषणा गरेका थिए ।

प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले सस्तो आवासको माग गर्दै काम रोक्न सर्वसाधारणलाई प्रोत्साहित गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर