• २०८३ मङ्सिर २ बुधबार
  • Wednesday, 18 November, 2026

लुम्बिनी फाइनलमाः सुदूरपश्चिमले दाेस्राे एलिमिनेटर खेल्ने

काठमाडाैं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। 

जारी एनपीएलमा सुदूरपश्चिम लुम्बिनीसँग लगातार दोस्रो पटक पराजित भएको छ। यसअघि उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। 

पराजित सुदूरपश्चिमले फाइनल पुग्न थप एक मौका पाउनेछ। सुदूरपश्चिमले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। 

एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। यो खेल भोलि हुनेछ। 

सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र निरोसन डिकवेल्लाले ३८ रनको साझेदारी गरे। रोहित २८ बलमा १ चौका सहयोगमा २१ रन बनाउँदा थरिन्दु रत्नायकेको बलमा अनिल खरेलको हातबाट क्याच आउट भए।

निरोसन डिकवेल्लाले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ३७ बलमा सात चौका र दुई छक्का हाने। दीलिप नाथ १० रनमा अविजित रहे। 

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र निरोसन डिकवेल्लाले ३८ रनको साझेदारी गरे। रोहित २८ बलमा एक चौका सहयोगमा २१ रन बनाउँदा थरिन्दु रत्नायकेको बलमा अनिल खरेलको हातबाट क्याच आउट भए। 

आशिफ शेख चार रनमा हेमन्त धामीको बलमा क्याच आउट भए। ओपनर डार्सी सर्ट बिना रन स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए। 

सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई, स्कट कुग्लेजिन र हेमन्त धामीले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो। 

कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ५१ बलमा तीन चौका र एक छक्का हाने। 

सुदूरपश्चिम ३.१ ओभरमा आठ रन बनाउँदा तीन विकेट गुमाएर दबाबमा आएको थियो। चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशान पाण्डेले ६४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। 

१४.१ ओभरमा इशान २७ रन बनाउँदा रन आउट भए। दीपेन्द्र र इशानबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओपनर जर्ज मुन्से गोल्डेन डकआउट भए। आरिफ शेख चार, विनोद भण्डारी र थनुका दबारे समान तीन रन बनाउँदा पेभेलियन फर्के। थरिन्दु रत्नायके एक रनमा शेर मल्लको बलमा बोल्ड आउट भए। 

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न लुम्बिनीका लागि रुवेन ट्रम्पलमेनले दुई विकेट लिए। किफायती बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र १४ रन खर्चे। 

शेर मल्लले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिए। अविशेष गौतमले चार ओभरमा ११ रन दिएर एक विकेट आफ्नो नाममा गरे। किशोर महतोको नाममा एक विकेट रह्यो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर