एनपीएल दोस्रो क्वालिफायर: आज सुदूरपश्चिम कि चितवन पुग्ला फइनल ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ।
अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो। यता, चितवनले भने हिजो भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।
एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो।
उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्साउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछ। सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टिम हो।
पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएको सुदूर तेस्रो पटक उपाधि उचाल्ने दाउमा रहने छ भने चितवन पहिलो पटक उपाधि नजिक पुगेको हो।







प्रतिकृया दिनुहोस