लालपूर्जा पर्खिएका सुकुमवासीलाई आश्वासनका भरमा लखेट्दै सरकार
काठमाडाैं। बागमतीलगायत खोलाकिनारका सुकुमवासी बस्तीमा डोजर चलाएपछि विरोध गर्नेलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जवाफ दिएका थिए– ‘खोलाछेउमा उहाँहरूलाई डुबानको जोखिम छ, सरकारले सुरक्षित ठाउँमा स्थायी व्यवस्थापन गर्छ ।’ तर, प्रधानमन्त्रीको आश्वासनअनुसार लालपुर्जा पर्खिरहेका सुकुमवासीलाई सरकार रित्तै हात लखेट्दै छ ।
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई ठाउँ खाली गर्न बुधबार सूचना टाँसेर शुक्रबार माइकिङ गरेको प्रशासनले शनिबार खाना र पानीसमेत बन्द गरिदियो । सुकुमवासी भोकै परेको हल्लाखल्ला भएपछि अभियन्ताले बाहिरबाट खाना बनाएर लगिदिए । तर, प्रशासनले भित्र लैजान रोकेपछि होल्डिङ सेन्टरका वृद्धवृद्धादेखि बालबालिकासम्म बाहिर सडकमा निस्किएर खान बाध्य भए ।
थापाथली, गैरीगाउँ र मनोहरा सुकुमवासी बस्तीबाट हटाइएकामध्ये १९ परिवारका ५९ जना बोडेको कृषि विकास बैंककाे तालिम भवनमा रहेको होल्डिङ सेन्टरमा छन् । गत बर्खामा कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँबाट विस्थापित केही परिवारसमेत बोडेमै छन् । केही परिवारलाई कोठा भाडा दिने भनेर सरकारले कीर्तिपुरबाटै पाखा लगाएको थियो । केही परिवारले होल्डिङ सेन्टर नछाड्ने अडान लिएपछि बोडे पुर्याएको थियो । अहिले बोडेको होल्डिङ सेन्टरबाट पनि लखेट्न लागेपछि तनावमा छन् ।
‘बागमतीमा बाह्रैमासा आउने गन्ध र बर्खाको भेलले पनि त्यति पीडा दिएन, जति यो सात महिनामा सरकारले दिएको छ । थापाथलीको टहरामा डोजर चलाएयता एक रात पनि राम्ररी निदाउन सकेको छैन,’ बोडे होल्डिङ सेन्टरबाट हटाउन लागिएका झवरलाल उरवाले गुनासो गरे, ‘यहाँबाट निस्किएपछि सडकपेटीमै बस्नुपर्छ, त्यसैले निस्किँदैनौं । सरकारले मेरो तीन पुस्ता होइन, पाँच पुस्ता हेरोस्, मेरो कहिँकतै जग्गा रहेछ भने थुनोस्, सजाय भोग्न म तयार छु । तर बस्ने ठाउँ नै नदिई यहाँबाट ननिकालोस् ।’
थापाथलीको छाप्रोमा छँदा उरवाले चटपटे पसल चलाउँथे । त्यहाँबाट हटाएर कीर्तिपुर होल्डिङ सेन्टरमा पुर्याइएपछि उनको कामकाज रोकियो । केही समय कतै काम पाइन्छ कि भनेर खोजे, तर पाएनन् । पछि सरकारले कीर्तिपुरबाट बोडे पुर्यायो । अहिले फेरि स्थायी वासस्थानको कुनै ज्ञारेन्टी नै नगरी अस्थायी सेल्टरबाट पनि निस्किन दबाब दिँदै खाना र पानीसमेत बन्द गर्ने निर्मम कदम चालेको छ ।
उरवाले काठमाडौं महानगरपालिका– ११ स्थित मतदानस्थलबाट ०७४, ०७९ र गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा मतदान गरे । संविधानले दिएको मताधिकार प्रयोग गर्न पाएका छन् किनकी उनको भोट सत्ता ताक्ने नेतालाई चाहिन्छ । तर, संविधानले नै मौलिक हकका रूपमा राखेको आवासको ज्ञारेन्टी भने उनले पाएका छैनन् । संविधानको धारा ३७ (१) मा छ, ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ ।’
थापाथली क्षेत्रबाटै हटाइएका दलमर्दन कामीको परिवार पनि बोडेस्थित होल्डिङ सेन्टरमै छ । उनको परिवारले बागमती नदी किनारमा २५ वर्ष गुजारेको थियो । अहिले सरकारले होल्डिङ सेन्टरबाट पनि रित्तै उठाउन खोजेपछि कामीको परिवार रन्थनिएको छ ।
‘अन्त जाने ठाउँ नै छैन, तर यहाँबाट उठेर जाउ भनेको छ,’ उनले भने, ‘लालपुर्जा पनि नदिने, जग्गा पनि नदिने, हाम्रो कहिँपनि जग्गा छैन, कहाँ जाने हो ? सरकारले लालपुर्जा नदिएसम्म यो ठाउँ छाड्दैनौं, बरू हरेक दिन धर्ना दिएर बस्छौं ।’
होल्डिङ सैन्टरमै बसेकी हरिमाया जिम्दालाई पनि बासको ठूलो चिन्ता छ । राज्यको दुई छाक खाएर लालपुर्जा पर्खिरहेकी उनलाई त्यही दुई छाक पनि रोकिदिएर विना लालपुर्जा हटाउन खोजेपछि ऐठन भएको छ । ‘यतिका महिनासम्म लालपुर्जा दिने तयारी भइरहेको होला भनेको त रित्तै पठाउने रे ! हाम्रो अन्त ठाउँ छैन, कहाँ गएर बस्नु ? जग्गा नै नदिने भए किन आश्वासन मात्रै दिनु ?’ उनले भनिन्, ‘सरकारले हामीलाई बस्ने ठाउँ देओस्, यहाँ एक मिनेट पनि बस्दैनौं । तर बास नहुँदासम्म यो ठाउँ छाड्दैनौं ।’
बोडे होल्डिङ सेन्टरमै बस्दै आएका प्रवेश राईगाई दैनिक ज्याला मजदुरी गर्छन् । उनी बिहानै होल्डिङ सेन्टरबाट निस्किन्छन्, बेलुकी फर्किन्छन् । शुक्रबार सुत्केरी श्रीमती र बच्चालाई होल्डिङ सेन्टरमा छाडेर काममा गएका उनी बेलुका फर्किँदा नमिठो खबर सुने– यो ठाउँ छाड्नुपर्यो रे । ‘बच्चाबच्ची लिएर कहाँ जानु ? कि त सरकारले स्थान देखाइदिनुपर्यो, बासको व्यवस्था नगरी हट् भनेर भन्न मिल्छ ? उनको प्रश्न छ, ‘खोला किनारबाट यस्तो स्थानमा ल्याएर राख्यो, फेरि यहाँबाट पनि घर न घाटको बनाउन मिल्छ ?’
बोडे होल्डिङ सेन्टरमा बसेका लाई हटाउन शुक्रबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । चर्को बिरोधपछि पछि हटेको सरकारले उनीहरूलाई खाना र पानी दिन छाडेको थियो । होल्डिङ सेन्टरबाट पानीका बोतल र जारसमेत फिर्ता लगेको सुकुमवासीहरूको गुनासो छ । उनीहरू बस्ने कोठा–कोठामै ‘छाड्न’ सूचना टाँसिएको छ ।
त्यसो त सुकुमवासी परिवारलाई खानपानको व्यवस्था सरकारले आफ्नो खर्चमा गरेको पनि थिएन । शान्तिसेवा गृहले खुवाउँदै आएको थियो । प्रशासनको आदेशपछि उक्त संस्थाले खाना खुवाउन पाएन । शुक्रबार उनीहरू फुको चिउरा र दालमोठमै गुजारा चलाउन बाध्य भए । शनिबार बिहान अभियान्ताहरूले लगेको खाना भित्र लैजान नदिएपछि होल्डिङ सेन्टरबाहिर सडकमा निस्किएर खाए । सरकारी कदमको चौतर्फी आलोचना भएपछि शनिबार साँझको छाक भने शान्ति सेवा गृहले नै खुवाएको छ ।
गत १२ वैशाखदेखि खोला किनारबाट हटाएका सुकुमवासीलाई सात महिनासम्म पनि सरकारले जग्गा वितरणको कुनै तयारी गरेको देखिँदैन । जग्गाको ज्ञारेन्टी नगरी होल्डिङ सेन्टरबाट हटाएर उनीहरूको जन्मका आधारमा सम्बन्धित जिल्लामा पठाउन खोजेको छ । त्यसपछि जिल्ला प्रशासनमार्फत् जग्गा खोज्न लगाउने भनेको छ ।
सरकारले वैशाख १२ पछि चार दिनमा नदी किनारका १९ वस्तीबाट दुई हजार ६०८ सुकुमवासी परिवारलाई हटाएको थियो, जहाँ १५ हजार प्रभावित भएका थिए ।
यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीहरूलाई स्थानीय तहमा जान अनुरोध गरेकी छन्।
शनिबार दिउँसो सुकुम्बासीहरू बसिरहेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेकी मन्त्री रावलले उनीहरूलाई स्थानीय तहमै जान अनुरोध गरेकी हुन्।
'जग्गाको व्यवस्था त्यहीँ हुन्छ। हामीलाई पनि यसमा थप काम बढाउन सहज हुन्छ,' मन्त्री रावलको भनाइ उद्धृत गर्दै सुकुम्बासी प्रतिनिधि दलमर्दन कामीले भने।
कामीका अनुसार मन्त्री रावलले सुरूमा १२ परिवारलाई मात्रै भेटेकी थिइन्। उनीहरू भूमिहीन ठहर भएका परिवार थिए।
उनीहरूलाई कोठा भाडाबापत पहिलो महिनाको रकम लिएर होल्डिङ सेन्टर खाली गर्न मन्त्री रावलले आग्रह गरेकी थिइन्।







प्रतिकृया दिनुहोस