• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चन्द्रागिरी गोप्य बैठक : एजेण्डा पार्टी एकता, छलफल विष्णु पौडेलको जग्गा खरिद प्रकरण !

काठमाडौं । लामो समयदेखि पार्टी एकिकरणका काममा प्रगति हुन नसकेपछि त्यही बाहाना बनाएर नेकपाका केही ‘लाईक म्याण्डेड’ नेताहरु अचानक चन्द्रगिरी हिल्स पुगे । छलफलका लागि अनौपचारिक तथा मौखिक एजेण्डा बनाईएको थियो, अड्किएको पार्टी एकताका काम टुंगो लगाउने । त्यस्तो एजेण्डा भएपनि नेताहरुको अन्तर्यमा भने तयारी थिएन् । 

एकताको टुंगो लगाउन नभई नहुने पात्रहरु माधव कुमार नेपाल लगायत पनि थिएनन्, जसले अध्यक्षद्वयको योजनामा भाँजो हालेका थिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायत पार्टी एकताका एजेण्डामा एकमत नै भएकाले यस विषयमा खासै कुरा गर्नै परेन । 

बैठकमा सहभागि एक नेता निकट श्रोत भन्छ, ‘गोप्य बैठकमा पार्टी एकताका विषयमा छलफल गर्ने भनिएको थियो, सामान्य छलफल भएपनि कुनै निचोड निकालिएन । तर, महासचिव विष्णु पौडेलले भने त्यही मौकामा चौका हाने । उनले बालुवाटारमा सरकारी जग्गा किनेको भन्ने पछिल्लो बिबादका विषयमा अध्यक्षद्वयलाई संगै राखेर राम्रै ब्रिफिङ गरे ।’

पछिल्लो चरणमा महासचिव पौडेलका छोराको नाममा रहेको बालुवाटारको ८ आना जग्गा सरकारी रहेको र जग्गा दलालहरुले जालसाजी गरेर व्यक्तिको नाममा ल्यायी बेखबिखन गरेको खुलेको थियो । जुन घटनामा महासचिव पौडेलको समेत संलग्नता रहेको समाचारहरु सार्वजनिक भएका थिए । 

महासचिव पौडेलले भने सो जग्गा खरिद बिक्रिमा आफु र आफ्नो परिवारको संलग्नता नरहेको बताएका थिए भने सरकारका प्रवक्ता गोकुल बास्कोटाले महासचिवले जग्गा किनेको तर दलालले फसाएकाले पिडित बनेको बताएका थिए ।

चन्द्रागिरी हिल्समा खुलेको नयाँ रिसोर्टमा बसोबास मिलाउन महासचिव पौडेल बिहिबार मध्यान्न देखि नै खटिएका थिए भने अध्यक्ष, प्रधानमन्त्री, गृहमन्त्रीलगायतका केही नेताहरु साँझ पुगेका थिए ।

चन्द्रगिरी गोप्य बैठकमा महासचिव पौडल अध्यक्षद्वय ओली र प्रचण्डलाई कन्भिन्स गर्न सफल भएको श्रोतको दावी छ । अध्यक्ष प्रचण्डको सचिवालयले भने अध्यक्ष बिहिबार राति चन्द्रागिरि गएको र सो क्रममा पार्टी एकताका विषयमा छलफल भएको जानकारी पाएको बताएको छ । 

पार्टी एकताका विषयमा छलफल गर्ने भनिएको बैठकमा माधवकुमार नेपाललाई खबरै नगरिएपछि उनि निकटका नेताहरु भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप चिढिएको नेताहरु बताउँछन् ।

चन्द्रागिरी गोप्य बार्तामा त्यस बाहेक राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मुखमा आएको चीन भ्रमणका विषयमा पनि सामान्य छलफल भएको श्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर