• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

खत्वे समुदायमा स्नातक अध्ययन गरिरहेकी एक्ली बुहारी

जनकपुरधाम । जनकपुरधामकी अम्बिका मण्डल (खत्वे) अचेल एकदमै हर्षित छिन्, तर गत ५ वर्षदेखि रेडियोमा प्राविधिकको रुपमा काम गर्दै आएकी अम्बिकालाई सञ्चारक्षेत्रसँग जोडिनुपूर्व कहिल्यै लागेको थिएन कि उनले पनि जीवनमा खुसी अनुभूति गर्ने छिन् भनेर । 

जनकपुरधाम वडा नम्बर १६ घर भएकी अम्बिकाको विवाह १३ वर्षको कलिलो उमेरमै भयो ।  दलित परिवारमा जन्मिएकाले कक्षा ८ मा पढ्दैगर्दा घरका अभिभावकले  २०६३ सालमा अम्बिकाको विवाह जनकपुरधामकै वडा नम्बर १६ का राजा मण्डलसँग गरि दिए । 

पढ्ने उमेरमै विवाह भई घरपरिवार सम्हाल्न सुरु गरेकी अम्बिकाले ८ महिनाको गर्भ बोकी १५वर्षको उमेरमा एसएलसी दिईन् र त्यसको १ महिना पछि उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिईन् । तर पीडाबाट निस्किदै गरेकी अम्बिकाले २० वर्षकै उमेरमा ५ वर्षीय छोरालाई गुमाईन् । 

'म बच्चैदेखि बाल क्लबहरुमा भोलिन्टियरको रुपमा काम गर्थे त्यसै क्रममा एउटा तालिमको अवसर आएको थियो, बाबु त्यति बेला नर्सरीमा पढ्दै गरेकाले उसलाई सँगै लैजानु भएन त्यसैले माईतीमा बुवा आमाको जिम्मामा छोडेर गएकी थिए 'भावुक हुँदै उनले भनिन् । 

५ वर्षीय छोरालाई पारिवारिक जिम्मामा छोडेर तालिममा हिँडेकी अम्बिकाका लागि उनको छोरालाई जिवितै हेर्ने त्यो नै अन्तिम क्षण भयो ।  स्कुलबाट घर फर्केका उनको छोरा टिभी चलाएर हेर्न खोज्दा करेन्ट लागेर गम्भीर घाईते भए र उपचारका लागि लैजादैँ गर्दा बाटोमै मृत्यु भयो । तर अम्बिकाको दुःख त्यतिमै सिमित भएन छोराको मृत्युको दोष लगाउँदै वैदेशिक रोजगारीमा रहेका उनको श्रीमान्ले समेत उनीसँग मतलब गर्न छोडे । 

श्रीमान्ले मतलब गर्न छोडेपछि एक्लै भएकी अम्बिका माईतीमै बस्न थालिन् र जागिरको खोजी गर्दै विभिन्न ठाउँमा भौतारिन थालिन्, हुँदाहुँदै एक जना रेडियो क्षेत्रमै काम गरिरहेका प्राविधिकले उनलाई रेडियोमा काम गर्छौ भन्ने सोध्दा उनी झट्ट केही नसोची ‘हो’ मा जवाफ फर्काइन्, त्यसपछि सुरु भयो, उनको संघर्षसहितको खुसीको यात्रा ।

अम्बिका भन्छिन् सुरुमा त मलाई रेडियोको प्राविधिक क्षेत्र हो के भन्ने पनि थाहा थिएन तर मित्रहरुको साकारात्मक सहयोगले सिक्दै गए र अहिले पनि सिक्दैछु ।’

३५०० रुपैँयाबाट जागिर खान सुरु गरेकी उनी अहिले १० हजारभन्दा बढी मासिक रुपमा कमाउँछिन् । ससुराली र माईती दुबै पक्ष पूर्ण रुपले अशिक्षित रहेको अम्बिकाको उनी नै पहिलो स्नातक अध्ययन गर्ने छोरी र बुहारी बनेकी छिन् । 


उनी अहिले २७ वर्षकी भईसकेकी छिन् र स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।  अम्बिकाको प्रगतितर्फ बढ्दै गएको कदम देखेर उनको श्रीमान् समेतले असाध्यै सहयोग गरिरहेका छन् । र स्नातक अध्ययनका लागि विदेशबाट पैसा समेत पठाउने गर्दछन् ।

अम्बिका भन्छिन् ‘त्यतिबेला त उहाँले सहयोग गर्नुभएन तर अहिले उहाँले नै पढ्नका लागि भनिरह्नु भएको छ, उहाँ आफैँ नपढेपनि मलाई चाही जहिले नि हौसला दिनुहुन्छ थप अध्ययनका लागि ।’

गत ५ वर्षदेखि सञ्चार क्षेत्रमा लागेकी अम्बिका एक कुशल बुहारी, कुशल छोरीसँग सँगै कुशल गृहणी समेत छिन् ।  उनी रेडियो प्राविधिकमै दक्ष हुने लक्ष्य राखेकी छिन् । यसबाहेक उनले मैथिली डोकुमेन्ट्री, रेडियो नाटक समेत गरि सकेकी छिन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर