• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ह्वाट्सएपमा ‘जासुसी आक्रमण’, कम्पनीले भन्यो - ‘ह्वाट्सएप अपडेट गर्नुहोस्’

तस्विर : वेब

एजेन्सी । इन्टरनेटमा सन्देश आदानप्रदान गर्न विश्वमै सर्वाधिक प्रयोग हुने ह्वाट्सएपमा एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राख्न सफल भएको बताइएको छ ।

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका अनुसार सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्षित गरेको र यो काम कुनै दक्ष साइबर विज्ञले गरेको छ ।

ह्वाट्सएपले विद्यमान कमजोरीलाई हटाउन सो एपको अपडेट उपलब्ध गराएको छ र कम्पनीले सबै प्रयोगकर्तालाई ह्वाट्सप अपडेट गर्न बताएको छ । ह्वाट्एसपका एक अर्ब ५० करोडबढी प्रयोगकर्ता छन् । 

ह्वाट्एसपमाथि ह्याक इजरायलमा आधारित एनएसओ समूहले गरेको फाइन्यान्शल टाइम्सले लेखेको छ । सो आक्रमणबारे पहिलो पटक मे महिनामा थाहा भएको बताइएको छ ।

आक्रमण गर्ने व्यक्तिले ह्वाट्सएपको भ्वाइस कल सुविधा को प्रयोग गरेर निसानामा भएको व्यक्तिलाई घण्टी दिने गर्थे । फाइन्यान्शल टाइम्सका अनुसार त्यसो गर्दा कल नउठे पनि जासुसी गर्ने उद्देश्यले बनाएको सफ्टवेअर निसानमा रहेको स्मार्टफोनमा  स्वतः जडान भइदिन्थ्यो । तर कलको विवरण भने त्यो फोन वा अन्य डिभाइसमा बस्दैनथ्यो ।

ह्वाट्सएपका अनुसार उसको सुरक्षा टोलीले सो कमजोरी पत्ता लगाएको थियो । उसले मानव अधिकार समूह, केही सुरक्षा प्रविधि समूह र अमेरिकी न्याय मन्त्रालयलाई त्यसबारे जानकारी दिएको बताएको छ ।

मङ्गलवार तेल अभिभस्थित एउटा अदालतमा एनएसओ समूहको प्रविधि निर्यातको अनुमति खारेज गर्ने सम्बन्धमा सुनुवाइ हुँदैछ ।

इजरायली कम्पनी एनएसओ समूहद्धारा सो सफ्टवेअर विकसित गरिएको अनुमान छ । एनएसओलाई ‘साइबर हतियार विक्रेता’ का रूपमा चिनिन्छ ।

यसको प्रमुख सफ्टवेअर पेगाससले फोनको माइक्रोफोन र क्यामरा प्रयोग गरेर स्थान तथा स्थितिको जानकारी जासुसी गर्न सक्ने बताइएको छ । (डेभ ली/बिबीसी)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर