• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पूर्वराजा ज्ञानेन्द्रसँग रातकाे ११ बजे भेट, प्रमलाइ भेट्न नीजि सवारीमा बालुवाटार

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गाेयल आफु नियुक्त भएको एक महिना पनि नवित्दै नेपाल भ्रमणमा आए । शनिवार नेपाल झरेका गोयल सोमबार भारत फर्किए । उनी भारत फर्किए पनि त्यसको तरंग भने नेपालमा घटेको छैन, बढ्दै छ । 

गोप्य राख्न खोजिएको प्रधानमन्त्री ओलीसँगको भेट
प्रमुख गोयल नेपाल आएको कुरा शनिवार अबेर र आईतबार बिहानबाट संचार माध्यममा आईसकेको थियो । तर उनको भेटघाटका विषय गोप्य नै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूसँग भएको गोयलको भेटलाई गोप्य राख्न खोजे । भारतमा नयाँ प्रधानमन्त्री आएपछि आफूले पहिलो भेट राजनीतिक नेतृत्वसँगै गर्ने, खुफिया एजेन्सीका प्रमुख गोयलसँग नगर्ने भन्ने प्रतिक्रिया पनि प्रधानमन्त्री निकटस्थहरुबाट बाहिरियो । 

तर, यथार्थ त्यस्तो थिएन । श्रोत भन्छ- गोयलले भेट्ने पक्का भएपछि दुतावासका कुटनीतिक नम्बर प्लेट भएका सवारी वा गोयलले प्रयोग गरिरहेका सवारीमा प्रधानमन्त्री निवासमा प्रवेश गर्दा हल्ला हुने विश्लेषण सहित उनीहरुलाई प्रधानमन्त्री निवासबाटै गएर नीजि सवारी साधनमा लिएर आउने योजना बन्यो ।

बालुवाटारस्थित सुरक्षा श्रोत भन्छ, त्यसैले प्रधानमन्त्रीको सचिवालयमा रहेका एकजनाले नीजि गाडी लिएर जानुभयो र लैनचौरबाट रअ प्रमुख गोयल सहितको टोलीलाई खुसुक्क प्रधानमन्त्री निवास बालुवाटार छिराएर भेट गर्नुभयो । भेट सकिएपछि सोही गाडीमा उनीहरुलाई ल्याएकै स्थानमा लगेर छोडिएको थियो ।

गोयलको नेपाल प्रवेश
जासुसी संस्था ‘रअ’का प्रमख गााेयल शनिवार अबेर अन्तर्राष्ट्रिय विमानस्थल झरे । उनको साथमा थिए ‘रअ’का वरिष्ठ अधिकारीहरु शशी भुषण सिंह र अरुण जैन । तीनै जनाले साथमा आफ्ना श्रीमतीहरु पनि लिएर आएको समाचार दैनिकको सुरक्षा श्रोत बताउँछ ।

गोयलसहितको टोलीका लागि बौद्ध टुसालस्थित हायात होटलको कोठा नम्बर ३ सय २४ बुक गरिएको थियो । गोप्य राखिएको सो होटलको बसाईकै क्रममा प्रमुख गोयलले केही भेटघाट र छलफल भने गर्न भ्याए । 

शनिबार अबेर काठमाडौं आएका उनले आईतबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरे । भारतीय राजनीतिज्ञ हुन् वा अन्य नेपाल आएका बेला भ्याएसम्म पशुपतिनाथको दर्शन गर्ने गर्दछन् । 

पूर्व राजासँग भेट
‘रअ’ प्रमुख गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहसंग समेत भेटवार्ता गरेको समाचार दैनिकले पत्ता लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका गोयलले पूर्वराजा ज्ञानेन्द्रलाई रातको ११ बजे भेट गरेका हुन् ।

ज्ञानेन्द्रसँगको भेट भने विरेन्द्र प्रहरी अस्पताल नजिकै रहेको व्यापारी कर्ण शाक्यको घरमा भएको थियो । ज्ञानेन्द्रसँगको भेटका क्रममा उनको साथमा पूर्वराजाका प्रमुख सचिव पशुपतिभक्त महर्जन समेत थिए ।

गणेशप्रसाद अधिकारीले दिए रात्रीभोज
गोयललाई नेपाली समकक्षी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीले रात्री भोज दिए । पछिल्लो चरणमा अनुसन्धान विभाग समेत गृहमन्त्रालयबाट झिकेर प्रधानमन्त्री मातहत नै लगिएको छ । रात्रिभोज होट हायात मै आयोजित थियो ।

दुतावासको रात्रीभोजमा शेरबहादुर

लैनचौरस्थित भारतीय दुतावासले ‘रअ’ प्रमुख गोयल सहितको टोलीलाई रात्रीभोज दियो । सोही भोजमा सहभागि भए नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । देउवाको साथमा काँग्रेसका युवा नेता अमरेश कुमार सिंह लगायतको सहभागिता समेत रहेको दुतावास श्रोतले समाचार दैनिकलाई जानकारी दियो । तर देउवाको सचिवालयले भने आफूहरु गोयललाई भेट्न लैनचौर गएको कुरा अस्वीकार गर्दै आएको छ । 

प्रचण्डसँग भेट
नेकपाका अध्यक्ष प्रचण्डसँगको भेट भने सोमबार विहान भएको हो । आफ्नो दुवै सहयोगी शशी भुषण र अरुण जैनसहित सामन्त गोयल खुमल्टार पुगेका थिए । विहान साँढे ७ बजे प्रचण्ड निवास पुगेका उनीहरु २ घण्टापछि साढे ९ बजे बाहिरिएका हुन् ।

प्रचण्डको सचिवालयले भने गोयलसँगको भेट स्वीकार गरेको छ । योजनावद्द भेटवार्ता भन्दा पनि प्रधानमन्त्रीलाई भेट्न नेपाल आएका बेला पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्षका हिसावले अध्यक्ष प्रचण्डसँग 'कट्सी कल' गरेको उनीहरुले बताएका छन् ।

नीजि सवारीमा घुम्यो गोयलको टोली
रअ प्रमुख गोयलको टोलीले काठमाडौं भ्रमणका क्रममा पशुपतिनाथको दर्शन गर्न देखी विभिन्न भेटवार्तामा आवत जावत गर्दा नीजि सवारी साधन प्रयोग गरेको थियो । जसमा बा ५ च ११८५, बा ८ च ३३४, बा २१ च ८३१३, बा ८ च २७४२, बा १६ च ७४६४ नम्बरका कारहरु प्रयोग भएको उच्च श्रोतले समाचार दैनिकलाई बतायो ।

भ्रमणको निश्कर्षबारे विज्ञ
नेपाल भारत सम्बन्धबारे अध्ययन गरिरहेका विज्ञहरुले गोयलको यो भ्रमणको महत्वपूर्ण अर्थ हुने बताएका छन् । समाचार दैनिकसँग कुरा गर्दै पत्रकार तथा दक्षिण एसियाली राजनीतिबारे कलम चलाउदै आएका विश्लेेेषक कमलदेव भट्टराईले भारतमा नयाँ कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछि नेपालले राजनीतिक भ्रमणको निम्तोकाे अपेक्षा गरेको बताए ।

उनले भने, त्यसका बावजुत भारतले कर्मचारीको भ्रमण पहिला गराउनुले नेपाल भारत सम्बन्ध राजनीतिक तहबाट फेरी कर्मचारीतन्त्रमा सिफ्ट हुने हो कि भन्ने ठाँउ छ ।’

विश्लेषक भट्टराईले समाचार दैनिकसँग कुरा गर्दै भने, ‘गोयलको नेपाल भ्रमण पहिलो हो । पहिलो भ्रमण भएकाले यसको पहिलो सन्देश औपचारिक र परिचयात्मक कट्सी कल नै हो । तर यति लामो समयसम्म यति धेरै अधिकारीहरुसँगको भेटको निश्चित अर्थ र सन्देश रहेको छ ।’ 

सन् २०१४ मा भारतमा मोदी प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि नेपाल र भारतबीच राजनीतिक तहमा भेटघाट र सम्बन्ध विस्तार भएको थियो ।
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर