मोहना–राजघाट पुल : पुल हेर्दै डुङ्गाको भरमा नदी तर्नु पर्ने बाध्यता

थप म्यादमा पनि बनेन पुल

धनगढी । मोहना नदीमा मोहना–राजघाट पुल बन्न थालेपछि खुशि थिए, स्थानीय । तर, पुलनिर्माण कार्य सुरु भएको पाँच वर्षसम्मपनि पूरा नभएपछि उनीहरु निराश भएका छन् । 

पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । बर्खा लागेपछि उनीहरु चर्को मूल्य तिरेर डुङ्गामार्फत नदी तर्न बाध्य भएका छन् । 

पुलनिर्माण कार्य सुरु हुँदा केहि वर्षभित्रै पुलमार्फत सहज रुपमा नदीतर्ने सपना देखेका स्थानीय निराश छन् । पुलनिर्माण कार्य सुरु भएको पाँचवर्ष बित्दापनि उनीहरुको सपना साकार हुन सकेको छैन । तीनवर्षमा बन्नुपर्ने पुलको हालसम्म एक स्पान मात्रै तयार भएको छ ।

एकवर्ष थप गरिएको समयावधिमा पनि निर्माणाधीन पुलकै छेउमा स्थानीयवासी डुङ्गा मार्फत नदी तरिरहेका छन् । ‘पुल नबनेपछि अधुरो पुल हेर्दै, डुङ्गामार्फत नदीतर्नु पर्ने बाध्यता छ’, कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका शम्भु चौधरीले भने–‘पुल नबन्दा हरेक वर्ष यस्तै सास्ती छ ।’ 

धनगढी उपमहानगरपालिकाको चटकपुर र कृष्णपुर नगरपालिकालाई जोड्ने गरी मोहना–राजघाट पुलनिर्माण गर्न लागिएको हो । यो ठाउँबाट धनगढी उपमहानगरपालिकाको विभिन्न ठाउँ र कृष्णपुर नगरपालिकाको राजघाट, पिपरैया, चपरतल्लालगायत धेरै ठाउँका स्थानीय ओहोर–दोहोर गर्ने गरेका छन् । 
विद्यार्थीमात्रै दैनिक करिब सयको हाराहारीमा ओहोर–दोहोर गर्ने गर्दछन् । मोहना–राजघाट पुलबन्ने लामो समयदेखि प्रतिक्षागर्दै आएपनि पुल नबन्दा सबैतिर निराशा छाएको चौधरीको भनाइ छ । उनले आफूहरुले धेरै समस्या भोग्दै आएको समाचार दैनिकलाई सुनाए । 

‘नदीमा पुल नहुँदाको पीडा र समस्या कति हो कति’, चौधरीले अगाडि थपे–‘बर्खा याममा झनै समस्या हुनेगर्दछ । बाढी आएमा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपर्दछ ।’ 

पुल नहुँदाको पीडा दैनिक तरकारी, दूध बिक्री गर्न धनगढी आउने किसान र अत्यावश्यक कामकालागि आउजाउ गर्ने स्थानीयलाई त छदँैछ । तर, शिक्षाको ज्योती हासिल गर्न धनगढीसम्म आउने विद्यार्थीलाई सबैभन्दा बढी समस्या भइरहेको छ । डुङ्गामार्फत नदी तरेवापत विद्यार्थीले शुल्कतिर्नु नपरे पनि जोखिम मोलेर उनीहरु धनगढीसम्म पुग्ने गरेका छन् । 

वर्षाहुँदा र नदीमा ठूलो बाढी आएको बेलाविद्यालय नै छोड्ने गरेको धनगढीको सिटी स्कुल कक्षा ६ मा अध्ययनरत विद्यार्थी पवन महराले बताए । विद्यालयबाट घर फर्कने क्रममा मोहना नदी किनारमा भेटिएका उनले भने–‘हरेक दिन यसरी नै हामी डुङ्गा तरेर आउने जाने गरेका छौं । नदीमा पानी बढेपछि भने विद्यालय जाँदैनौं ।’ 

राजघाट क्षेत्रमा सरकारी विद्यालय भएपनि राम्रो विद्यालयमा अध्ययनकालागि सो क्षेत्रका धेरै विद्यार्थी धनगढीसम्म पढ्न आउने गरेकाछन् । आफू जस्तै डुङ्गा तरेर धेरैजना विद्यार्थी स्कुल आउने गरेको महराको भनाइ छ । 

डुङ्गा तरे वापत मोटरसाइकल सहितको यात्रीले ३० रुपैयाँ रोयल्टी तिर्नु पर्दछ भने साइकलयात्री र व्यक्तिले १० रुपैयाँ । यात्रुलाई डुङ्गामार्फत नदीपार गराएवापत नदीमा पानीको अवस्था हेरेर पैसा लिने गरेको डुङ्गा चालक सुनिल चौधरीले बताए । दैनिक चारसयसम्म व्यक्तिले ओहोर दोहोर गर्ने गरेको उनले सुनाए । 

आर्थिक वर्ष २०७०/०७१ मा ठेक्काभइ मोहना–राजघाट पुलनिर्माण कार्य २०७१ सालबाट सुरु गरिएको थियो । २०७२÷०७३ मा पुलनिर्माणको काम सम्पन्न गर्नुपर्ने भएपनि चन्द्रशेखर मल्लको निर्माण कम्पनी एलाइट एडभेञ्चर जेभीले समयमा काम गर्न सकेन । तोकिएको समयमाकाम पूरा नभएपछि एक वर्ष म्याद थपगर्दा पनि एलाइट एडभेञ्चरले काममा तदारुकता देखाएन । पुलनिर्माणमा कम्पनीले चरम लारपरवाही गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ असार मसान्तमा थप गरिएको म्यादपनि सकिएको छ । अझै पुलको दुई स्पान बनाउन बाँकी छ । 

पुल निर्माणका लागि कम्पनीलाई दिइएको थप म्यादपनि गुज्रिएकाले अब हर्जाना लगाएर काम गराउने सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुनकुमार बमले बताए । ‘जम्मा लागतको प्रतिदिन ०.०५ प्रतिशत हर्जाना लिएर अब निर्माण कम्पनीलाई काममा लगाउँछौं’, उनले भने–‘कम्पनीले कामगर्न जति ढिलो गर्छ, उसले त्यत्तिनै घाटा ब्यहोर्नु पर्दछ ।’ 

१२० मिटर लामो पुलको ठेक्का रकम सात करोड ४५ लाख रुपैयाँ रहेको छ । निर्माण कम्पनीले आउँदो पुस, माघसम्म पुलको सम्पूर्ण काम सम्पन्नगर्ने प्रतिबद्धता जनाएको प्रमुख बमले बताए । ‘ठेकेदारले जुनसुकै मूल्य चुकाएर भएपनि चाँडै कामगर्नु पर्दछ’, उनले भने–‘पुल अलपत्र छोडेर भागेमा जमानत र धरौटी जफत गरी कालो सूचीमा हाल्छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर