• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जो आफैंले चलाएको सवारी दुर्घटनाबाट ‘ह्विलचियर’ र ‘ओछ्यान’को प्यारो भए...

प्रहरी भन्छ–‘सहयोगका लागि कानून अभाव छ’

झापा । दुर्घटना ! भोग्न त के सम्झँदा नै आङ सिरिङ्ग हुन्छ । 

अझ, दुर्घटनामा नै आफन्त गुमाउनु वा अंगभंग भएर जीवनयापन गर्नुपर्दाको क्षण जो कोहीका लागि पनि सहज हुँदैन् । 

नेपालमा हुने अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको प्रहरीले बताउँदै आएको छ । 

एकातिर सवारी चालकको कारण दुर्घटना बढिरहेको प्रहरीले दाबी गर्छ भने अर्कोतिर चालकहरुको पीडा बेग्लै छ । सवारी दुर्घटनामा परि आफ्नो जीवन नै भद्रगोल बनेको बताउने केही सवारीचालकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । यसरी सवारी दुर्घटनामा परेर अंगभंग भई जीवन विताइरहेका केही प्रतिनिधिमुलक सवारी चालकको कथा हामीले खोजेका छौं । 

समाचार दैनिकका झापा जिल्ला प्रतिनिधि सुदिप अधिकारीले झापा जिल्लामा आफ्नो कष्ठपूर्ण जीवन बिताइरहेका केही चालकहरुको कथा खोजेका छन् :

१४ बर्षदेखी संघर्षपूर्ण जिवन जिउँदै मण्डल
झापा बिर्तामोड घर भएका सुरेशकुमार मण्डल १४ बर्षदेखी ह्विलचेयरको साहारमा बाँचिरहेका छन् । समाचार दैनिकसंगको कुराकानीमा उनले भक्कानिँदै भने–‘यो जस्तो कष्टपूर्ण जीवन कसैले पनि भोग्नु नपरोस् । तर, धेरै मानिसहरुको कष्टपूर्ण अवस्था देखेरपनि चित्त बुझाउँछु ।’

१४ बर्षअघिको घटना स्मरण गर्दै उनी गहभरी आँशु पारे । १४ बर्षअघि यात्रु लिएर उनी झापाबाट काठमाडौं जाँदै गर्दा सवारी दुर्घटनामा परेका थिए मण्डल । त्यो बेलादेखी अहिलेसम्म उनको कम्मर मुनीको भाग चल्दैन । उपचारका लागि उनले धेरै अस्पताल धाए । तर उनको केहि सिप लागेन ।

बिहान उठेदेखी बेलुका सुतञ्जेलसम्म उनलाई अरुको साहारा चाहिन्छ । बिहान उठेपछि उनका बुवाले उनलाई दिसापिसाब गराउने तथा हात मुख धोईदिने गरिदिन्छन् । अनि केही खाएर घर अगाडीको नरिवलको रुखमुनी ह्विल चेयरमा बसेर टोलाएरै दिनहरु बिताइरहेका छन् मण्डल ।

४ बर्षदेखी ओछ्यानमै थलिएका धिमाल
झापा मेचीनगर नगरपालिका ८ इंटाभट्टा घर भएका धनबहादुर धिमाल २०७२ साल जेठ १५ गते सवारी दुर्घटनामा परे । आफैंले चलाएको बस सप्तरीको एक जंगलमा राति रुखमा ठोक्कियो । उनी निदाएका कारण बस रुखमा ठोक्किन पुगेछ । दुर्घटनामा परेदेखी अहिलेसम्म उनी ओछ्यानमै थला परेका छन् ।

उनीपनि आँखाभरी आशु पार्दै भन्छन–‘चालकको सानो गल्तीले धेरै जना अंगभंग हुनेहुँदा सचेत भएर गाडी चलाउनु राम्रो । म त यस्तो भइगएँ । अरुले यस्तो पीडा कहिले पनि भोग्नु नपरोस् ।’

दुर्घटनापछि देब्रे खुट्टा गुमाएका कार्की
सवारी दुर्घटनाकै समस्या भोग्नेमध्येका अर्का एक पात्र हसन प्रदिप कार्की । झापा बिर्तामोडका कार्कीको पनि आफैंले चलाएको बस दुर्घटनामा परेको थियो । दुर्घटनापछि प्रदिपको त देब्रे खुट्टानै काट्नुपर्ने अवस्था आयो । अहिले उनको दैनिकी वैशाखीको भरमा चलिरहेको छ । 

बाटोमा अरु चालकले बस कुदाएको देख्दा उनी भक्कानिन्छन् अनि सोच्छन्–‘कुनै दिन म पनि यसैगरि गाडी कुदाउँथे ।’

प्रहरी भन्छ : सहयोगका लागि कानून अभाव छ
माथि उल्लेखित केही चालकहरु देशका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता अरु थुप्रै पूर्व चालकले भोग्नुपरेको पीडा करिब मिल्दोजुल्दोनै छ । त्यस्ता दुर्घटनामा परेका चालकहरुको आयस्रोत नै बन्द भएपछि आफन्त र छिमेकीहरुले सहयोग गर्ने गरेका छन् । सवारी साधनका धनीले जति दिए अनि तेस्रो पक्ष बीमाबाट जति पाए, त्यतिले उनीहरुले चित्त बुझाउनु पर्ने बाध्यता छ ।

यसरी दुर्घटनामा परेर अंगभंग भएका तथा ओछ्यान नै लागेकाहरुका लागि वीमाको रकम तथा यातायातका संघ संगठनहरुले गर्ने सहयोग एकमात्र उपाय भएको प्रहरी अधिकारीहरुको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयय झापाका प्रमुख होम अधिकारीका अनुसार तेस्रो पक्ष वीमाबाट जति पाउँछ, पायो ।

यातायातका संघ संगठनहरुले त्यस्ता घाइते गाडीका कर्मचारीलाई उपचार गरिदिने गरेका छन् । तर, सरकारले सहयोग गर्ने भन्ने विषयमा कानूनमा केही उल्लेख छैन ।

सवारी दुर्घटनामा परि अंगभंग भएका वा ओछ्यानमा नै जीवन व्यतित गरिरहेका व्यक्तिको संख्या दिनप्रतिदिन बढ्दोे छ । उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग तथा प्रहरी सम्मिलित संयन्त्र निर्माण आवश्यक भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर