• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

घरघरमै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकका लागि घरमा गएर उपचार सेवा दिन सुरु गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए । 

कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उनले बताए । गाउँपालिकाभित्रका आठवटै वडामा घरमै पुगेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको उनको भनाइ छ । ‘धेरै ज्येष्ठ नागरिक उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था छ,’ उनले भने, ‘कम्तीमा महिनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर उहाँहरूको स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पु¥याउनका लागि कार्यक्रमको थालनी गरिएको हो ।’ यही भदौ ४ गते सबै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालिम प्रदान गरी कार्यक्रम सुरु गरेको उनले बताए ।  
  
गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिने सुरु गरेको उनले बताए । ‘हरेक वडामा ८० वर्षमाथिका कम्तीमा एक सय ५० जना ज्येष्ठ नागरिक छन्, उनले भने, ‘तीमध्ये पनि आधाजति मात्र गाउँमा बसोवास गर्दा रहेछन्, उनीहरू सबैमा उपचार सेवा पु¥याउन सकिने पालिकाले अपेक्षा गरेको छ ।’
   
नेपाल सरकारको तय गरेका विभिन्न राष्ट्रिय कार्यक्रमलाई असर नपर्ने गरी गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । ‘गाउँघर क्लिनिक, खोप कार्यक्रम, पोषण कार्यक्रमलगायतका कार्यक्रमलाई प्रभाव नपर्ने गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौं ।’ शाखा प्रमुख भट्टले भने, ‘घरघरमा गएर उपचार सेवा दिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरूप केही रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।’
   
एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न सक्ने उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर