• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

 आलु र काँक्राको अचार खाँदा ३१ जना बिरामी

सुर्खेत  । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् । 

स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेख वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ ।

 बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए । “अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ,” उनले भने , “फुड प्वाइजन को अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन ।”
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर