कर्णाली प्रदेशमा प्रहरीको कार्यक्रम : पुरोहितलाई प्रशिक्षण !

१० वटै प्रजिल्लाका ४४४ पुरोहितलाई प्रशिक्षण

सुर्खेत । बाल विवाहको समस्या नेपालमा पछिल्लो समय केही कमी हुँदै गएपनि वर्षोंदेखि यसले समाजमा जरो जाडेकै हो । जनचेतनाको कमीको कारण विभिन्न विकट जिल्लाहरुमा अहिले पनि बाल विवाह नहुने भने छैन् । 

अझ, तराईका जिल्लाहरुमा यसको प्रभाव प्रष्टै देख्न सकिन्छ । दैनिकजसो, संचारमाध्यममा बाल विवाहका तिता समाचारहरु सुन्न र देख्न सकिन्छ । 

यसैबीच, कर्णाली प्रदेश प्रहरीले भने बाल विवाह न्यूनिकरणका लागि एक नयाँ प्रशिक्षण तालिम सुरु गरेको छ । बाल विवाह न्यूनिकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले प्रदेशका १० वटै जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पुरोहितहरुलाई जनचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

१० वटै प्रजिल्लाका ४४४ जना पुरोहितलाई एक कार्यक्रम आयोजना गरेर प्रहरीले प्रशिक्षण दिएको हो । 

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी पूर्णचन्द्र जोशी पुरोहितहरुलाई जनचेतनामूलक कार्यक्रमबाट प्रशिक्षित गराउँदा मुलुकको ५० प्रतिशत बाल विवाह न्यूनिकरण गर्न सकिने दाबि गर्छन् ।

‘बाल विवाह सम्बन्धी कानुनी व्यवस्था बारेमा पुरोहितलाई सचेत गराउने उद्देश्यका साथ यो कार्यक्रमको सुरुवात गरिएको हो ।’समाचार दैनिकसंगको कुराकानीमा जोशिले भने–‘पुरोहितलाई बाल विवाह सम्बन्धी पूरर्ण ज्ञान दिनुले समाजको ५ण्प्रतिशत बाल विवाह रोक्न मद्दत हुने अपेक्षा हामीले राखेका छौं ।’

उनका अनुसार प्रदेशका १० वटै जिल्लामा उक्त प्रशिक्षण दिइएको हो ।

बाल विवाहले भविष्यमा हुनेसक्ने असर र समाजमा सिर्जना गरेको विकृतिको बारेमा उनीहरुलाई जानकारी दिँदै बाल विवाह गर्दा कानुनले दिने सजाय र बाल विवाह गराउँदा आफूलाई पर्ने असर ईत्यादीको बारेमा पुरोहितहरुलाई प्रशिक्षणमुलक कार्यक्रम आयोजना भएको उनले समाचार दैनिकलाई जानकारी दिए । 

‘रिति अनुसार पुरोहितले विधि पुर्याएर मात्रै विवाह हुने हो । धेरै जसो पुरोहितले नै विधि पुर्याउँछन् ।’ डिआईजी जोशिले भने–‘एकै ठाउँमा भेला गराएर बाल विवाहका बारेमा जानकारी गराएमा बाल विवाह न्यूनिकरणमा धेरै ठूलो सघाउ पुग्छ ।’

कर्णाली प्रदेशमा कति छन् पुरोहित ?  
कर्णाली प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्याङ्क अनुसार प्रदेशमा जम्मा ४४४ जना पुरोहितहरु छन् । जसमा सुर्खेतबाट ६५, दैलेख ३९, कालीकोट ४१, जुम्ला ५३, मुगु २५,  हुम्ला २३, डोल्पा ५१, सल्यान ९२, जाजरकोट ३२ र पश्चिम रुकुमबाट २३ पुरोहित छन् । 

कति छन् बाल विवाहका मुद्दा ?

त्यस्तै कर्णाली प्रदेशमा बाल विवाहसम्बन्धी मुद्धा पनि निक्कै पर्ने गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यलयले तयार गरेको  पछिल्लो ४ बर्षको तथ्याङ्क हेर्ने हो भने २०७३ /०७४ मा कर्णाली प्रदेश भरि रुकुममा मात्रै ३ वटा मुद्धा गरेका छन् ।  

२०७४/०७५ मा दैलेखमा ३ र रुकुम मा एउटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, २०७५÷०७६ मा सुर्खेतमा ७, दैलेखमा ७, सल्यानमा ३, जुम्लामा २ वटा मुद्दा परेका छन् । यसैगरी २०७६/०७७ मा सल्यानमा ३ वटा बाल विवाहका मुद्दा दर्ता रहेका छन् ।

डिआईजी जोशिका अनुसार गरिबी, अशिक्षा र सामाजिक चेतनाको कमीले यस्तो समस्या आएको हो । 

१४४ जनालाई उद्धार 
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो चार वर्षमा प्रदेशमा बाल विवाह हुन लागेका १४४ जनालाई उद्धार गरिएको छ । आर्थिक बर्ष २०७३ /०७४ मा २१ जना, आर्थिक वर्ष २०७४/०७५ मा ४७ जना, आर्थिक वर्ष २०७५/०७६ मा ५९ जना, आर्थिक वर्ष २०७६/०७७ मा १७ जना, र चालु आर्थिक वर्षमा १७ जनाको उद्धार गरेको प्रदेश प्रहरी कार्यलयले जानाएको छ । 

मुलुकी फौजदारी संहिता अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष सम्म कैद ३० हजार सम्म जरिवाना को वयवस्थाा गरिएको छ ।

याे पनि ः 

कर्णालीमा कुपोषणको भयावह : ‘आमाको दुध खाएर छोरा मोटायो, छोरीलाई कुपोषण’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर