छोरीको जन्मदिनमा विद्यालयलाई पानी ट्याँकी उपहार

सुर्खेत । हाल अमेरिकामा बस्दै आएकी जयन्ती थापाले छोरी सुजन थापाको जन्मदिनमा विद्यालयलाई पानी ट्याँकी उपहार दिएकी छिन् । अमेरिकामा बसेर पनि नेपालमा समाजसेवा गर्दै आएकी थापाले छोरीको १९ औं जन्मदिनको अवसरमा २५ हजार बराबरको पानी ट्याँकी जनजागृत प्राथामिक विद्यालय पदमपुर सुर्खेतलाई उपहार प्रदान गरेकी हुन् ।

थापाको तर्फबाट पानी ट्याँकी र शैक्षिक सामग्रीहरु समेत उपहार उनका बुबा धर्मजंग थापा र आमा पार्वती थापाले एकमुष्ट विद्यालयलाई हस्तान्तरण गरेका थिए । एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यालयले केक काटेर सुजन थापाको जन्मदिन समेत मनाएको छ ।

औपचारिक कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं। १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले समाज परिवर्तनका लागि सकारात्मक सोच हुन आवश्यक रहेको बताए । उनले भने, ‘मान्छे धनी हुँदैमा समाज परिवर्तन हुने होइन । समाज परिवर्तन हुनका लागि सकारात्मक सोच चाहिन्छ ।’ विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शुद्ध पिउने पानीको आवश्यकतालाई मध्यनजर गर्दै पानी ट्याँकी उपलब्ध गराएकोमा उनले धन्यवाद समेत दिए ।

हाम्रो समाजमा अझैँ पनि छोरीलाई हेयको दृष्टिले हेरिन्छ तर आफूले समाजसेवी छोरी जन्माउन सकेकोमा गर्व लागेको बताउँदै जयन्ती थापाका बुबा धर्मजंग थापाले छोरीको समाजसेवाले आफूलाई खुसी दिएको बताए । उनले भने, ‘मैले खुसी प्राप्त गरेको छु तर समाजले सानो तिनो भएपनि आवश्यकता पूर्ति गरेको छ ।’ ‘जयन्तीको विशेष अभिरुची भनेको शिक्षामा थियो । आज भन्दा चार पाँच वर्ष अघिदेखि उनले समाजसेवामा हात बढाइरहेकी छिन्’ बुबा धर्मजंग थापाले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माले जयन्तीको जस्तै सोच लिएर अगाडि बढ्न सबैलाई आग्रह गरे । हामी विश्वको जुनसुकै स्थानमा बसेको भएपनि नेपाल र नेपाली प्रतिको अगाध मायालाई स्पर्श गर्न सक्नु पर्ने उनको भनाई थियो । शर्माले जयन्तीले गरेको सहयोगले बालबालिकाहरुलाई पानी पिउनका लागि अब समस्या नहुने भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

जयन्ती थापाले उक्त विद्यालयमा एक लाखको अक्षय कोषको स्थापना गरेर २ जना विद्यार्थीको पढाई लगायतको सम्पूर्ण खर्च व्यहोरिरहेकी छन् भने ३ जना बालबालिकालाई आफ्नै खर्चमा उक्त विद्यालयमा पढाइरहेकी छन् ।

समाजसेवाबाट आफूलाई सन्तुष्टि प्राप्त हुने बताउने जयन्तीले ‘कहिले कालिकोटका आगलागी पीडितहरुसँग, कहिले चितवन तथा सुर्खेतका वृद्धाश्रम त कहिले विरामीको उपचारमा त कहिले खेलप्रेमी अनि कहिले साहित्यप्रेमीहरुलाई सहयोग गर्दै आइरहेकी छन् । कर्मथलो अमेरिकामा रहेपनि उनले थालेको समाजसेवाको कारण धेरै असाहय बालबालिकाहरुले शिक्षाको उज्यालो प्राप्त गरिरहेका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक विद्यार्थी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।


विद्यालय परिवारको तर्फबाट प्रधानाध्यापक ज्ञानु शर्मा गैरेले सहयोगी जयन्ती थापालाई आभार व्यक्त गर्दै उज्जवल भविष्यको कामना गरेकी थिइन् । कार्यक्रममा जयन्ती थापाका आमाबुबालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर