बीमा कम्पनीले बैंकको ऋणपत्रमा लगानी गर्न सक्ने

काठमाडौं । बीमा कम्पनीले बैंकहरुको ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् । बीमा समितिले जारी गरेको लगानी निर्देशिका, २०७५ मार्फत बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले समितिले लगानी निर्देशिका जारी गरिसकेको र त्यसमा बीमा कम्पनीले बैंकको ऋणपत्रमा लगानी गर्नसक्ने व्यवस्था रहेको बताए । उनले हाल अधिकांश बीमा कम्पनी बैंकमा निक्षेपमा रकम राखेर ब्याजका भरमा चल्ने गरेको भन्दै त्यसरी दीर्घकालिन हुन नसकिने बताए । उनले बीमा कम्पनीलाई पूर्वाधार लगायतका क्षेत्रमा लगानी बढाउन साथै बैंकहरुको ऋणपत्र समेत खरिद गर्न सक्ने बताए । 

बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सो अनुसार बैंकहरुले ऋणपत्र निष्काशन गरिरहेका छन् । 

बीमा समितिको लगानी निर्देशिकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गको वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्रमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, नेपाल धितापत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनिमय बजारमा सुचीकृत पब्लिक लिमिटेड कम्पनीको डिवेञ्चरमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था छ । साथै कृषि, पर्यटन र जलस्रोतको पूर्वाधारमा पनि २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ । 

समिति अध्यक्ष चापागाईले बैंकको ब्याजमा मात्रै सीमित बीमा कम्पनीहरुलाई लगानी निर्देशिका बमोजिम लगानी गर्न निर्देशन दिएका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर