• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

जापानमा सुपरमार्केटको विक्रीदरमा ४.१ प्रतिशत कमी

टोकियो । जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबरमा कमी आएको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा यस बर्षको अक्टोबरमा ४.१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीबार जनाएको छ ।

उक्त सङ्गठनले सुपरमार्केटको सामान विक्रीदरमा कमी आउनुमा जापानमा गत महिना आएको आँधी तथा अन्य खराब मौसम, अक्टोबरमा गरिएको उपभोक्ता कर वृद्धि जिम्मेवार भएको जनाएको छ ।

सुपरमार्केटहरूको सङ्गठनका अनुसार जापानका ठूला सुपरमार्केट सञ्चालक ५५ कम्पनीका १० हजार ५२२ सुपरमार्केटहरूले अक्टोबरमा कुल नौ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेका थिए । यद्यपि यी सुपरमार्केटमा सेप्टेम्बरमा भएको कारोबार भने मार्चपछि आशालाग्दो रूपमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

उद्योगहरूले दिएको तथ्याङ्कमा घरायसी सामानहरूको वृद्धिदरमा अक्टोबरमा ७.२ प्रतिशतले कमी आएको थियो । उद्योगीहरूले कारोबारमा देखिएको कमीलाई उपभोक्ता करमा गरिएको करवृद्धिलाई नै जिम्मेवार बताएका छन् ।

यद्यपि उपभोक्ता कर वृद्धि नगरिएका खाद्यान्नका सामग्रीको कारोबार भने १.३ प्रतिशतले कमी देखिएको तथ्याङ्कमा उल्लेख छ । यस बर्ष जापानमा अन्य बर्षको तुलनामा यस बर्ष न्यानो मौसम रहेकोले चिसोमा प्रयोग हुने लत्ता कपडाको कारोबारमा निकै कमी आएको छ । 

गत बर्षको तुलनामा अक्टोबरमा लत्ता कपडाको कारोबार रकममा १५.१ प्रतिशतले कमी आएको छ । जापानमा जाडोका लुगाहरू प्रायः अक्टोबरमा बढी विक्री हुने गर्छन् । तर अक्टोबरको कारोबार सोचेभन्दा निकै खराब देखिएको सङ्गठनको तथ्याङ्कमा छ । 

यद्यपि कारोबारमा देखिएको कमीलाई उपभोक्ता कर वृद्धिका साथै उनीहरूको मूल्य वृद्धिको मनोविज्ञानका कारण पनि प्रभावित पारेको बताएका छन् । सिन्हुवा 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर