• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 05:55 am

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी, आज राति रामजानकीको विवाह [फोटोफिचर]

जनकपुरधाम । मिथिलाञ्चलको घर घरमा आज रामजानकी विवाहपञ्चमी महोत्सवको रौनकता छाएको छ । त्रेता युगको झ–झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौ दर्शनार्थीहरु जनकपुरधाम पुगी सकेका छन् । आजै राति जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा वैवाहिक कार्यक्रमको आयोजन गरिने छ । वैवाहिक कार्यक्रमका लागि मन्दिरमा मण्डप समेत सजाई सकिएको छ । 

जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिंगारिएको छ । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गरिरहेको प्रतिक्रिया दिए । महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छन् । 

यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनन् । उनी भन्छन्‘ सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वभाविक नै हो ।’

राति हुने वैवाहिक कार्यक्रम हेर्नका लागि लाखौँ दर्शनार्थी जनकपुरधाम पुगी सकेका छन् । 

त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका  शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा  साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ । यो विधि जानकी मन्दिरको छेउमै रहेको राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिन्छ । 

तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पूरुष संगै आफ्नो छोरीको बिहे गरि दिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ । 

महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारोको भीडका बिच तिलकोत्सव विधि सम्पन्न हुन्छ । तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुर राम मन्दिरमा आउँछ । जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरी बिच अंकमाल (समधि मिलान) हुन्छ । 

तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीतहरु गाउँछन् भने हास्य परिहासको माहौल समेत हुन्छ पूजारी ऋषिकेश झा बताउँछन् । जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गाली सहित हस्सी ठटटा गरिन्छ । राम मन्दिरका महन्थ राम गिरीका अनुसार समधि मिलान कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् । 

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरुले जनकपुरधामकै पवित्र सरोवर  रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहकालागि वेदी तयार गरिन्छ । 

छैठौ दिन आज ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न भएको छ भने आजै रातिमा वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्यम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुगेको थियो । स्वयम्बर पछि दूबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुगेको छ जहाँ वैवाहिक कार्यक्रम हुनेछ । रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरु गीतनाद गाउने गर्छन् । 

विवाहपञ्चमीको सातौ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरुलाई भोजन गराउँदै विदाई गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरुलाई गाली गलौज गर्ने समेत परम्परा रहेको छ । मन्दिरका पूजारीहरु तथा मिथिलाका नारीहरु गीतकै माध्यमले गाली गर्ने गर्छन् । जसले अदभूत वातावरणको निर्मण गर्छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित

गैंडा पार्कको शिलान्यास

  • २४ मङ्सिर, २०७६

चितवन । विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षण गर्नका लागि चितवनको मेघौलीमा मेघौली गैंडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ

प्रयाप्त विद्युत उत्पादन भएपछि सौर्य उर्जामा खर्च नगर्ने महानगरको निर्णय

  • २४ मङ्सिर, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्षदेखि वैकल्पिक उर्जा अन्तरगत सौर्य बत्तिमा लगानी नगर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा