• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

के गर्नु ? सरकारै खत्तम छ !

भीडमभीड फुटपाथमा हिँडदै, दाँतले जिब्रोको टुप्पो थिच्दै
एक सज्जनले पिचिक्क थुक्यो पिचकारी 
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

अफिस मेचमा बसेर, नाकमा औँला कोचेर
झिकेर केही नाकबाट मेचमुनि त्यो पोत्यो
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

बाथरुमबाट निस्केर चिसै हात लिएर
भेट्यो साथी तुरुन्तै मिलायो त्यै हात दिएर
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

बाटोमा युवती हिँड्दै छिन्, दुईवटा केटाले जिस्क्याए
देख्ने वरिपरि पाकाले चुपचाप हेरे, मुस्काए
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

दसबर्से कलिलो केटोेले चुरोट किनेर सल्कायो
पैसा फिर्ता दिँदै पसले मुसुक्क हेरेर मुस्कायो
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

जानुपर्ने कतै छैन, चढ्यो भीड बस छानेर
सर्दै सर्दै युवतीसँग उभियो ठेलठाल गरेर
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

चकलेट बिस्कुट पानपराग पानी होस् या बदाम
खायो सक्यो फ्यात्त फ्याँक्यो फोहोेर सप्पै सडकमा
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

तिर्दा भाडा ट्याक्सीको, बसको होस् या टेम्पोको
फिर्ता माग्दा खुद्रा छैन तीन चार रुपियाँ सित्तैँ भो
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’

चौध पन्ध्रको केटो छ स्कुलको ड्रेसमा
भट्टीमा पस्यो रक्सी खायो गिलास ठोक्दै टेबलमा
र भन्योे– ‘के गर्नु ? सरकारै खत्तम छ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर