सन् २०१९: सुधारको बाटोमा नेपाली अर्थतन्त्र

काठमाडौं । नयाँ वर्ष २०२० सुरु भएकाे छ । नयाँ वर्षको पूर्वसन्ध्यामा पुरानो वर्ष राजनीतिक, आर्थिक, सामाजिक दृष्टिकोणले कस्तो रह्यो भनेर विभिन्न कोणबाट समीक्षा हुन थालेको छ । 

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि केही महत्त्वपूर्ण घटना भएका छन् । समृद्ध नेपाल सुखी नेपालीसहितको एकसूत्रीय एजेन्डामा रहेको नेपाल सरकार त्यसतर्फ परिणाम दिन सक्ने अवस्थामा नरहे पनि त्यसतर्फ उद्यत भने पक्कै देखिन्छ । 

समग्रमा भन्नुपर्दा अंग्रेजी वर्ष २०१९ नेपाली अर्थतन्त्र मिश्रित खालको मान्न सकिन्छ । आर्थिक रूपमा मुलुकले खासै फड्को मार्न सकेन । 

यस वर्षका केही मुख्य घटना यस्ता छन्

डुइङ बिजनेसमा फड्को

यो वर्ष नेपालमा व्यावसायिक वातावरण बन्दै गरेको विश्व बैंकको प्रतिवेदनले जनाउँछ । विश्व बैंकको डुइङ बिजनेस रिपोर्ट–२०२० ले नेपाल ९४औं स्थानमा उक्लिएको देखाएको छ । नेपाल पहिलोपटक १०० राष्ट्रभित्र परेको हो । डुइङ बिजनेस इन्डेक्सअनुसार नेपालमा व्यावसायिक वातावरण बन्दै गएको विश्व बैंकको रिपोर्टले देखाउँछ । 

व्यापार व्यवसाय गर्ने वातावरणसँग सम्बन्धित विभिन्न १० विषयहरूको अध्ययन गरी विश्व बैंकले हरेक वर्ष देशहरूको सूचकांक सार्वजनिक गर्ने गरेको छ । डुइङ बिजनेसका १० सूचकहरूमध्ये नेपालका पाँच सूचकमा सुधार आएको विश्व बैंकले जनाएको छ । त्यस्तै, दुई सूचकमा स्थिर र तीनवटा सूचकमा गिरावट आएको छ । 

विश्व बैंकको प्रतिवेदनअनुसार नेपालले यो वर्ष ६३.२ अंक प्राप्त गरेको छ । नेपालले गत वर्ष ५९.६ अंक प्राप्त गरेको थियो । गत वर्ष नेपाल ११०औं स्थानमा थियो । एकै वर्ष फड्को मार्ने गरी व्यावसायिक वातावरण सुधारको सूचकांकले सरकारलाई उत्साहित बनाउने देखाएको छ । यद्यपि, सर्वाधिक सुधार गर्ने मुख्य २० देशमा भने नेपाल अटाएको छैन । 

त्यस्तै, मानव विकास सूचकांकमा पनि नेपाल दुई स्थान माथि उक्लिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको प्रतिवेदनअनुसार नेपाल १४७औं स्थानमा आइपुगेको छ ।

वैदेशिक लगानीमा उल्लेख्य वृद्धि

यो अवधिमा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा २५ अर्बभन्दा बढीको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । विभागका अनुसार यो अवधिमा १४१ उद्योगका लागि करिब २७ अर्ब रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । गत वर्षको यो अवधिमा ९ अर्ब बढीको लगानी प्रतिबद्धता आएको थियो । 

मुलुकमा लगानीको वातावरण बन्दै गएको, बिजुलीको उपलब्धता, स्थिर सरकार लगायतका कारण विदेशी लगानीको चासो बढेको हो । 

वर्षको सुरुमा लगानी सम्मेलन

अंग्रेजी नयाँ वर्षको सुरुवातमा नै सरकारले महत्त्वपूर्ण मानेको लगानी सम्मेलन गरेको छ । यो सम्मेलनमा सरकारले ७७ वटा आयोजनालाई सोकेसमा राखेको थियो । जसमा सरकारले सोचेजस्तो विदेशी लगानीकर्ताले प्रतिबद्धता भने जनाएनन् । प्रतिबद्धता जनाएका आयोजनामा पनि अहिले लगानी आइसकेको छैन । सरकारले यसै साता मात्र केही आयोजनालाई लगानीका लागि स्वीकृति दिएको छ । 

ऊर्जा क्षेत्र

सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । रुग्ण विद्युत् आयोजना निर्माणसँगै निकट भविष्यमा उत्पादित बढी भएको बिजुलीका अन्तर्राष्ट्रिय बजार खोजीको क्षेत्रमा समेत सरकारले महत्त्वपूर्ण कार्य अगाडि बढाएको छ । 

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुरु गरेको ‘इनर्जी डिप्लोमेसी’ले नेपालमा विदेशी लगानीकर्तालाई सकारात्मक वातावरण बनाएको छ । यो वर्ष सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण सुरु भएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।

त्यसगरी तीन आयोजनाका लागि ८५ अर्बको वैदेशिक लगानी स्वीकृत भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा ६५ अर्ब, ५० मेगावाटको मस्याङ्दीबेसी जलविद्युत् आयोजनाका लागि ११ अर्ब ७७ करोड रुपैयाँ र नेपाल टेलिकमको समेत लगानी रहने गरी निर्माण हुन लागेको माथिल्लो त्रिशूली थ्री बी ८ अर्ब २२ करोड रुपैयाँ बराबरको लगानीका लागि स्वीकृत गरेको छ ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनको चरणमा

सन् २०१९ को पूर्वाद्र्ध अर्थात् (२०७५ मंसिर ११ गते) सरकारले नयाँ युगको सुरुवात भएको भन्दै योगदानमा आधारित समाजिक सुरक्षा योजना ल्याएको थियो । उक्त योजनाको हाल कार्यान्वयनको चरणमा रहेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कायविधि’ २०७५ परिमार्जनसहित कार्यान्वयनमा ल्याइसकेको छ । उक्त कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ । 

एक वर्षको अवधिमा कोषमा १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ ३१ पैसा रकम संकलन भएको कोषले जनाएको छ । कोषमा १० हजार ४ सय ७७ रोजगारदाताबाट कुल १ लाख १५ हजार ६०६ योगदानकर्ताबाट यो रकम जम्मा भएको हो । एक लाख भन्दा बढी योगदानकर्ता कोषमा जोडिए पनि अपेक्षित रूपमा भने योजनाप्रति आकर्षण देखिएको छैन । विशेषगरी ठूलो संख्यामा कर्मचारी रहेको बैंक तथा वित्तीय संस्थाहरू यसप्रति आकर्षित देखिएका छैनन् । 

स्थिर पुँजी बजार

अंग्रेजी वर्ष २०१९ मा अर्थतन्त्रको मेरुदण्ड मानिने पुँजी बजारमा खासै उत्साह आउन सकेन । सन् २०१९ मा सेयर बजार २१.२३ ले ओरालो लाग्यो । सन् २०१८ को डिसेम्वर ३१ मा डिसेम्बर ३१ मा ११८७.२८ अंकमा रहेको नेप्से २०१९ को डिसेम्बर ३१ मा ११६६.०३ अंकमा आइपुगेको छ ।

अघिल्लो वर्ष सेयर लगानीकर्ताको तारो बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारका सन्दर्भमा सकारात्मक टीकाटिप्पणी गरे पनि त्यसप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा लय समात्न सकेन । पुँजी बजार सुधारका लागि लगानीकर्ताले उठाएका ५८ बुँदे माग पूरा नभएको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् । बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय संसदीय समितिमा अड्किएको छ भने मार्केट डिलर भित्र्याउने विषयले पनि गति लिन सकेको छैन् । 

त्यसैगरी, एनआरएनको लगानी पुँजी बजारमा भित्र्याउने विषयलाई पनि खासै प्राथमिकता पाउन सकेको छैन । त्यसमा पनि पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन भएको साढे २ महिना बितिसकेको छ । तत्कालीन अध्यक्ष डा. रेबतबहादुर कार्की आफ्नो चारवर्षे कार्यकाल पूरा गरी असोज मसान्तदेखि बिदामा बसेपछि बोर्ड नेतृत्वविहीन बनेको हो । 

वित्तीय क्षेत्र

अंग्रेजी नयाँ वर्ष २०१९ मा बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव कायम नै रह्यो । नियामक राष्ट्र बैंकको हस्तक्षेप तथा बैंकहरूबीच भएको भद्र सहमतिले ब्याजदर सन्तुलनमा रहे पनि निक्षेप संकलन र कर्जा प्रवाहमा उत्साहजनक प्रगति हुन सकेन । यो वर्ष नेपालको बैंकिङ इतिहासमा पहिलोपटक ठूलो बिग मर्जर सम्पन भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक आपसमा गाभिएर मंसिर २० गतेदेखि एकीकृत कारोबार गर्न थालेका छन् । 

बैंक पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, ग्राहक, शाखा सञ्जाललगायतले देशमा विद्यमान अन्य वाणिज्य बैंकको तुलनामा बलियो बैंकको रूपमा स्थापित भएको हो ।

पर्यटन क्षेत्र

सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन तयारी गरेको छ । नयाँ वर्षका लागि सरकारी साथै निजी स्तरबाट आ–आफ्नै खालका पहल भएका छन् । आगामी वर्षलाई उत्साहको रूपमा माउने तयारी गरिरहँदा यो वर्षमा भने अतुलनीय क्षति नेपाली पर्यटन क्षेत्रले बेहोर्नु पर्यो । 

गत फेब्रुअरीमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकप्टर दुर्घटनमा परी मृत्यु भएको थियो । दुर्घटनामा मन्त्री अधिकारी, व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटनमन्त्रीका अंगरक्षक सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।यसले नेपालको पर्यटन क्षेत्रमा मात्रै नभई देशलाई नै ठूलो क्षति व्यहोर्नु परेको थियो । 

पर्यटनमन्त्री लगायतको निधनको दुःखद खबरका बीच सरकारले आउँदो वर्षका लागि घोषणा गरेको भ्रमण वर्ष सफल बनाउने कार्यलाई निरन्तरता दिएको छ । जसका लागि नयाँ पर्यटनमन्त्री रुपमा युवानेता योगेश भट्टराई नियुक्त भए । साथै, भ्रमण वर्ष कार्यक्रमका लागि संयोजकका रुपमा व्यवसायी सुरज वैद्यलाई नियुक्त गरियो । त्यस्तै, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गन्तव्य स्थान तोकेरै कार्य अगाडि बढाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर