• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

चिकित्सक संघको आन्दोलन : ‘डाक्टरलाई सरकारले ज्यानमारा सोच्यो’

काठमाडौं । भदौ १ बाट लागु भएको फौजदारी संहितामा उपचारका क्रममा लापरबाहीबाट मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान रहेको र त्यो चिकित्सकको पेशाहकविरुद्ध भएको भन्दै नेपाल चिकित्सक संघले आजबाट आन्दोलन सुरु गरेको छ । नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिताको संशोधन माग गर्दै आइतबार काठमाडौंको माइतिघर मण्डलाबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ । 

सरकारको चर्को विरोध गर्दै भर्खरै आएको मुलुकी संहिताको विरोधमा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुको उपस्थिति रहेको थियो । 

कहिले चिकित्सा शिक्षा विधेयक संसोधनको माग त कहिले सरकारले ल्याएको मुलुकी संहिताको विरोधमा चिकित्सक तथा स्वास्थ क्षेत्र विवादमा रहेको छ । डा. गोविन्द केसीको आमरण अनशनको विषयलाई लिएर सरकारको चर्को विरोध भयो । स्वास्थ्यक्षेत्रसँग सम्बन्धित भएर पछिल्लो समय निरन्तर रुपमा भएको सरकारको विरोधले एकातर्फ सरकारको लोकप्रियता घटिरहेको छ भने अर्कोतर्फ स्वास्थ्यसेवा झनै प्रभावित हुन पुगेको छ । 

माइतिघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भई समापन भएको थियो । कोणसभामा डा. गोविन्द केसी, डा. हरिहर वस्ती, डा. केदाननरसिंह केसी, मुक्तिराम श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई बिरामीमारा कानुनी संहिताको संज्ञा समेत दिएका छन् ।

काउन्सिलमा ५ हजार लाइसेन्स फिर्ता गर्ने

चिकित्सक संघले आइतबार नै ५ भन्दा बढी हजार चिकित्सकको नेपाल मेडिकल काउन्सिल प्रमाणपत्र (लाइसेन्स) सरकारलाई फिर्ता गर्ने तयारी गरेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालभरमा २२ हजार डाक्टरहरुले लाइसेन्स लिएका छन् । चिकित्सक संघले देशभरका १६ शाखाबाट ५ हजारभन्दा बढी लाइसेन्स संकलन गरेको छ । समाचार दैनिकसँगको कुराकानीमा चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले आज नै संकलन भएका सबै लाइसेनसहरु काउन्सिलमा बुझाउने तयारी रहेको बताए । 

कुनै पनि डाक्टरले लाइसेन्स बुझाइसकेपछि बिरामी जाँच गर्न पाउँदैन् । उक्त व्यवस्थाअनुसार आइतबार लाइसेन्स बुझाउने तयारीमा रहेका झण्डै पाँच हजार डाक्टरहरुले बिरामी जाँच गर्न पाउने छैनन् । 

एप्रोनसहित देशभर प्रदर्शन

नेपाल चिकित्स संघले आजबाट देशभरनै प्रदर्शन गर्ने भएको छ । नेपाल चिकित्सक संघको आह्वानमा आजबाट नै देशभरका आकस्मिक भन्दा बाहेकका सबै सेवा ठप्प पारेको हो । 

त्यस्तै, संघले यसै विषयमा एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘काठमाडौं उपत्यकाको हकमा बिहान १० बजे माइतीघर मण्डलामा तथा शाखाहरुको हकमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एप्रोनसहित अनिवार्य उपस्थित भई कार्यक्रम सञ्चालन गर्नु हुन समेत सम्पूर्ण स्वास्थयकर्मी तथा चिकित्सकहरुमा हार्दिक अनुरोध गरिन्छ ।’ सम्बन्धित जिल्ला प्रशासन शाखा अगाडि चिकित्सक संघ जिल्ला शाखा कार्यलयलाई अनुरोध गरेको छ । यसैअनुरुप विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम भइरहेको संघका महासचिव कार्कीले बताए ।

के छन् चिकित्सक संघको माग ?

चिकित्स संघले आफ्ना मागहरु लिखत रुपमा सार्वजनिक गरेको छ । सार्वजनिक मागहरुमा मुलुकी संहिताअन्तर्गत रहेको परिच्छेद १९ अन्तर्गतको कसुर सम्बन्धमा चारवटा मागहरुको संशोधन हुनपर्ने माग गरेको छ । संघले पहिलो नम्बरमा दफा नम्बर २३० मा रहेको उपदफा २ लाई खारेज हुनपर्ने मागलाई पहिलो नम्बरमा राखेको छ । त्यस्तै दफा नम्बर २३१ लाई पनि खारेज हुनपर्ने संघको माग रहेको छ । 

त्यस्तै, दफा नम्बर २३२ मा रहेको लापरवाही वा हेलचक्राई, वदनियत चिताई इलाज गर्न नहुने शब्दलाई पुष्टी गर्न विशेषज्ञ समिति बनाई छानबिन गर्नुपर्ने भन्ने थप गर्नुपर्ने पनि माग राखेको छ । 

संघले मुलुकी संहिताको दफा २३९ लाई पनि खारेजको माग राखेको मुलुकी संहिताको दफा २३९ लाई पनि खारेजको माग राखेको छ । त्यसैगरी संघले ड्यिुटीमा रहेका स्वास्थ्यकर्मीहरुलाई हातपात गरेको खण्डमा हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावलीसम्बन्धी ऐन २०६९ लाइै संशोधन गरि बिना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गर्नपर्ने माग राखेको छ ।

के छ मुलुकी ऐनमा ? 

मुलुकी संहिताको दफा २३० उपदफा २ मा भनिएको छ–‘लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास प्रतिकुल असर नपर्ने मामुली प्रकृतिको औषधी खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन् ।’ 

त्यस्तै, दफा नम्बर २३१ मा भनिएको छ–‘कसैले कसैको ज्यान मार्ने वा अगंभंग गर्ने नियतले उयपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधी खुवाँउदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानिजानी वा सो थाहा पाउनुपर्ने मानसिव कारण भई त्यस्तो औषधी खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न मान शरीरको कुनै एक अंगको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्न वा गराउन हुँदैन ।’

डा. लोचन कार्की भन्छन् : सरकारले डाक्टरलाई ज्यानमारा सोच्यो

नेपाल चिकित्स संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा जस्तो सोचेको बताएका छन् । मुलुकी अपराध संहिताको विषयमा सरकारलाई पटक पटक संसोधनको माग गर्दा पनि सरकारले वास्ता नगरेको उनको आरोप छ । उनले भने–‘सरकारले हाम्रा कुराहरु सुनेन् । सरकारले कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु पर्यो ।’ 

त्यस्तै, उनले निरन्तर बिरामीको सेवामा समर्पित स्वास्थ्य क्षेत्रको नै अपमान हुने गरी सरकारले ऐन निर्माण गरेको उनको आरोप छ । समाचार दैनिकसँगको कुराकानीमा उनले भने–‘सरकारले हामीलाई (डाक्टरलाई) ज्यानमारा र अपराधी सोच्यो यस्तो अवस्थामा हामी काम गर्न सक्दैनौं ।’

यस्तो छ संघकाे विरोधका कार्यक्रम

चिकित्सक संघले आजदेखि विभिन्न विरोधका कार्यक्रमको औपचारीक घोषणा समेत गरेको छ । यस्ता रहेका छन् संघको विरोधका कार्यक्रमहरु : 

१) २०७५ भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य सस्थाका प्रशासनिक कामहरु बन्द गर्ने । 

२) २०७५ भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने ।

३) २०७५ भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेशनहरु बन्द गर्ने । 

४) २०७५ भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।

५) २०७५ भाद्र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर