• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

तीनवटै प्रज्ञा–प्रतिष्ठानको कार्यकाल सकियो

काठमाडौं ।  नेपाली कला, साहित्य, संस्कृति, गीतसंगीत, नाटक, ललितकला, भाषाको विकास गर्ने उद्देश्य राखेर स्थापना गरिएका नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको चार वर्षे प्राज्ञ परिषद् तथा सभाको कार्यकाल आजदेखि सकिएको छ । सरकारले २०७१ भदौ २० गते चार वर्षका लागि उनीहरुलाई नियुक्ति गरेको थियो ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले आफ्नो कार्यकाल सफल रुपमा सकिएको संस्मरण गरे । उनले यस अवधिमा विभिन्न भाषाका १ सय ६ वटा पुस्तक प्रकाशन गरेको बताए । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र संबर्धन गर्दै आएको बताउँदै उनले प्रज्ञा प्रतिष्ठानले चार वर्षमा आर्थिक अभावका बीच पनि उल्लेखनीय काम गरेका धारणा राखे । 

२०१४ सालमा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको हो । प्रतिष्ठानले  ‘मैथिली शब्दकोष’, ‘भोजपुरी शब्दकोष’, ‘तामाङ शब्दकोष’, ‘नेपाली डायस्पोराका कविता’, ‘नेपाल प्रज्ञा प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘नेपाली–बृहत् शब्दकोष’को नयाँ संस्करण, ‘नेपाली नारी साहित्यकार परिचय कोष’लगायत विभिन्न भाषामा कृति प्रकाशन गरिसकेको छ । यस्तै प्रतिष्ठानले हाल ४२ कृति छपाइका लागि छापाखानामा पठाएको जनाएको छ । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो चार वर्षे कार्यकालमा थोरै बजेटमा पनि नेपाली भाषा र साहित्यको विकासका लागि धेरै काम गरिएको जिकिर गरे । प्रतिष्ठानले चार वर्षमा १ सय ८३ पुस्तकका अध्ययन, अनुसन्धान र अनुवादका साथै २२७ गोष्ठी, सम्मेलन र कार्यशाला आयोजना गरिसकेको छ । यस्तै बयोवृद्ध साहित्यकारका उपचारका लागि प्रतिष्ठानले २४ लाख छ हजार सहयोग प्रदान गर्नाका साथै सहित्यिक पत्रिकालाई २२ लाख दुई हजार सहयोग उपलब्ध गराएको छ । 

प्रतिष्ठानले २२ साहित्यकारलाई प्रज्ञा पुरस्कार तथा सम्मान र दश साहित्यकारलाई ‘हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार’ अर्पण गरेको छ । प्रतिष्ठानले चार वर्षको अवधिमा मोदनाथ प्रश्रित, प्रा डा वासुदेव त्रिपाठी, नीरञ्जन (निनु) चापागाई र मञ्जु काँचुलीलाई आजीवन सदस्यता प्रदान गरेको छ । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सो प्रतिष्ठान १९ करोड ९३ लाखको लागतमा पुनः निर्माण गरिएको छ । सोही अवधिमा नेपाल भारतमैत्री भवन निर्माण भई हस्तान्तरण हुनका साथै सोही भवनमा आधुनिक छापाखाना, पुस्तकालय र सभाकक्ष पनि सञ्चालनमा ल्याइएको छ । दश करोड ६८ लाख ७५ हजारको लागतमा आधुनिक छापाखाना खरिद गरी प्रयोगमा ल्याइएकिएको छ । प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी चार वर्षको अवधिमा प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय मुलुकसँग सम्बन्ध विस्तार गरिसकेको बताए । ‘बङ्गाल एकेडेमी र पाकिस्तान एकेडेमी अफ लेटर्ससँग प्राज्ञिक आदानप्रदानको सम्झौता भएको छ,’ उनले भने । त्यस्तै प्रतिष्ठानले चाइना फेडेरेसन अफ लिटरेरी एण्ड आर्ट सर्कल र गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सम्झौता नवीकरण पनि गरेको छ । 

कुलपति उप्रेतीले विभिन्न बाजा, वेशभूषा र ध्वनि चक्का व्यवस्थित गरी सङ्ग्रहालय स्थापना गर्ने, इ–लाइब्रेरी निर्माण गर्नेलगायत काम आफूले गर्न चाहे पनि समय अभावका कारण सम्पन्न गर्न नसकेको दुखेसो व्यक्त गरे । 

त्यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पनि आफ्नो कार्यकालमा गरिएका कामको विवरण सार्वजनिक गरेको छ । संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा प्रतिष्ठानले विभिन्न पुस्तक सार्वजनिक गर्दै आफ्नो अन्तिम प्राज्ञसभा सम्पन्न गरेको छ । प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सामाजिक सञ्जालमार्फत चार वर्षे कार्यकालमा स्वतन्त्ररूपले कार्य गर्न सहयोग गर्ने सम्माननीय प्रधानमन्त्री, संस्कृतिमन्त्री, प्राज्ञ परिषद् र प्राज्ञसभाका सदस्य तथा कर्मचारीप्रति आभार प्रकट गरेका छन् । 

उता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले भने नत प्राज्ञसभा गर्न सक्यो नत आफ्नो कार्यकालमा गरिएका कामको विवरण सार्वजनिक गर्यो । कुलपति रागिनी उपाध्याय बंगलादेशमा जारी एसियन बायनालेमा भाग लिन प्राज्ञ परिषद् सदस्य रमेश श्रेष्ठसहित ढाका उडिन् । त्यस्तै अर्का प्राज्ञ परिषद् सदस्य धनबहादुर याखा जर्मनी हानिए । एकआपसमा झगडा गरेर देश विदेशमा चर्चा कमाएका ललितकला प्रतिष्ठानका पदाधिकारीले आफ्नो कार्यकाल सकिन लाग्दा प्राज्ञसभा समेत गर्न सकेनन् ।

सरकारले प्रतिष्ठानमा खाली भएका पदाधिकारी, प्राज्ञ परिषद् तथा प्राज्ञसभाको नयाँ नियुक्तिका लागि  छनोट सिफारिस समिति बनाएको छैन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर