• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

काठमाडौं ।  नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।  चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरे । 

नेकपाका धर्म्शिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरे । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिए । सोही दलका  दीपकप्रकाश भट्टले  सुदूरपश्चिम प्रदेशको सहज व्यापारका लागि मार्गप्रशस्त गर्ने गरी नाका  विस्तार गर्न माग गरे ।

 नेकपाकै नवराज सिलवालले महिला हिंसाको घटना एवं महिला तथा बालबालिकामाथि तेजाब प्रहारको घटनामा वृद्धि भएको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले  खुला रुपमा तेजाब बिक्रीवितरण भइरहेकाले तत्काल नियमन गर्नुपर्नेमा पनि जोड दिए ।

नेपाली काँग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गरे  । उनले रोगको पहिचान र  क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गरे ।  सांसद भुसालले पछिल्ला दिनमा  कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गरायो । 

सोही दलकी डिला सङ्ग्रौलाले देशका अधिकांश विश्वविद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारसँग माग गरे । काँग्रेसकै दिव्यमणि राजभण्डारीले इपासपोर्ट तथा अन्तःशुल्क स्टिकर छपाइमा भइरहेको ढिलाइ र  ‘जिटुजी’का माध्यमबाट खरीद गर्न खोजिएकाले त्यसमा अनियमितताको आशङ्का गरे । 
    
    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर