• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मानव जातीको एकता, राष्ट्रको एकता र उच्च मनोवलले हामी विजयी हुनेछौं–प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणबाट बच्न र फैलन नदिन थप सावधानि अपनाउन अपिल गरेका छन् । 

शनिबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले सो अपिल गरेका हुन् । ‘मानव जातीको एकता, राष्ट्रको एकता र उच्च मनोवलले हामी विजयी हुनेछौं ।’ उनले अन्तिममा भनेका छन् । 

यतिबेला सिंगो विश्व नै यस घातक भाइरसबाट बच्नका लागि संघर्षरत रहेको उल्लेद गर्दै उनले विश्व समुदायसँगै नेपाली जनताले अपनाएको सजगताप्रति उनले धन्यवाद व्यक्त गरेका छन् । 

साथै, उनले नेकपाका कार्यकर्तालाई यो महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्नका लागि स्वंयसेवी बन्न आग्रह गरेका छन् । यो लडाईंको अग्रभागमा रहेर जोखिम उठाउने चिकित्सक र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न राज्यले थप जोड दिन आवश्यक रहेको बताएका छन् । 

अध्यक्ष प्रचण्डले सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरबाट ननिस्कन र अनुशासनमा बस्न उनले जनसमुदायलाई अनुरोध गरेका छन् । ‘आजसम्म ४ जना नेपालीमा देखिएको र उहाँहरुको अवस्था सामान्य भएकाले आत्तिनपर्ने अवस्था छैन् ।’, उनले भनेका छन्, ‘तर, चीन, कोरिया, अमेरिका जस्ता मुलुकहरुबाट पाठ सिकेर उच्च सतर्कता अपनाउन भने विशेष ध्यान दिनै पर्दछ ।’

कोरोनाको कारण ज्यान गुमाएका विश्वका सबै नागरिकप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, शोकाकुल परिवारप्रति समवेदनासमेत अध्यक्ष दाहालले भिडियो सन्देशमार्फत दिएका छन् ।

उनले स्वास्थ्यकर्मी, चिकित्सक, राष्ट्रसेवक कर्मचारी र संचार जगत्को उच्च मुल्यांकन गर्दै प्रशंसा गरेका छन् । उनले आमसंचार माध्यमहरुले आधिकारीक सूचना आम जनतामा पुर्याउन सतर्क रहने आशा गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर