४९ दिनपछि जन्मभूमी प्रवेश गर्न पाएका नेपालीको खुशी : युद्ध जितेभन्दा बढी ! [फोटोफिचर]

धनगढी । धनगढीसँग जोडिएको भारतीय नाका गौरिफन्टाबाट फिर्ता गरेर पलिया पुर्याइएका नेपालीलाई पुनः त्यही ठाउँ टेक्न ४९ दिन लाग्यो । पलियामा ४९ दिन क्वारेन्टाईनमा राखिएका उनीहरु सहित दुई सय र भारतका विभिन्न स्थानमा अलपत्र परेका चार सय ८० जना नेपालीले जन्मभुमीममा पाईला टेक्ने साईत जुर्यो । ४९ दिनपछि सीमामा टेक्न पाउँदा उनीहरु निकै खुशी थिए । उनीहरु भन्दै थिएकी– ‘यति खुशी छौं कि खुशीको कुनै सीमा नै छैन ।’

उनीसंगै पलियाबाट आएका नेपालीको अनुहारमा ४९ दिनसम्म भोगेको पीडा भन्दा खुशी प्रष्ट देखिन्थ्यो । खाना राम्रोसंग नपाएको, मच्छरले टोकेको, राम्रो संग सुत्न नपाएको, परिवारसंग बिछोडमा तडपिएर दिन काट्नु परेको सबै पीडा उनीहरुले बिर्सिसकेका थिए ।

उनीहरुको अनुहार र ती अनुहारमा देखिने खुशी हेर्दा उनीहरु कुनै ठूलो युद्ध जितेर आएको जस्तो लाग्थ्यो । सीमाबाट नेपाल पाईला टेको नेपालीहरु भन्दै थिए– आज त हामीलाई युद्ध जितेर आएको जस्तै खुशी मिलेको छ । 

पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका २ जना, कास्की, सिन्धुली, रौतहट र सिन्धुलीका एक÷एक गरी एक सय ८० जना रहेका छन । जसमध्ये ४ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

रामपुरमा रहेका बझाङ थलाराका ९५ जना, निघासन, लखिमपुर, पलिया लगायतका स्थानमा क्वारेन्टाईनमा रहेका ४ सय ८० जना नेपालीको आज झण्डै ५० दिनपछि नेपाल प्रवेश गर्ने धोको पुरा भएको हो । 

उनीहरुले उद्धारका लागि आग्रह गर्दै आएको भएपनि गृह मन्त्रालयको अनुमति नपाउँदा उद्धार हुन सकेको थिएन । स्थानीय प्रशासनको लामो समयको प्रयासपछि उनीहरुको आज उद्धार भएको हो ।

उनीहरुको उद्धारको विषयमा मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका बीचमा छलफल भएको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी र खिरी जिल्लाका अधिकारबीचको छलफलपछि उनीहरुले नेपाल प्रवेश पाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर