• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

धनिपुर्जा हराएको देश

आफ्नै देशको बरखी बारेर
मौनधारण गरिरहे जस्ता हिमालहरू
राहदानी भिरेर
उडानको पर्खाइमा रहेका नदीहरू
आत्महत्या गर्न
हामफालिरहे जस्ता झरनाहरू
अनि गुँरास कुम्लो पारेर
बसाइ सर्न लागेका पहाडहरु देखेर
म सोधिरहेछु आमालाई
आमा म गोर्खाली हुँ कि हुोइन ?

सोधिरहेछु
कँहा छ आमा सुस्ता र लिपुलेकको लालपुर्जा  !
किन हडपिरहेछन् दलालहरूले !
कँहा राखेकिछ्यौ आमा बुद्धको जन्मदर्ता !
किन दाबी गरिरहेछन् नाजायज आमाहरू !
अनि कहाँ छ सगरमाथाको चिनाटिपन !
कहाँ राखेकिछ्यौ अरुणको नागरिकता
के साच्चै मेरो देशको धनिपुर्जा हराएकै हो आमा !
कि ऐलानी हो आमा मेरो देश !
सोधिरहेछु
आफै काल पर्खिरहेको मधेशले
कसरी मेट्ला कर्णालीको अनिकाल !
अनि कसरी मेट्ला
भरीया र ढाक्रेहरूको प्यास
आफै लिलाम भएको अरुणले !

बिन्ती आमा
फेरि जन्माइदेऊ दुइचार अमरसिंहहरू
मैले पाथिभरा भाकेको छु
जन्माइदेऊ एउटा बुद्ध
मैले हलेसी भाकेको छु
अनि जन्माइदेऊ भृकुटी र अरनिकोहरू
आमा मैले छिन्ताङ भाकेको छु
छिट्टै पोत्नुछ आमा
सेताम्मे हिमालहरूको क्यानभासमा
रक्ताम्मे गुँरासहरूले स्वाभिमानको रङ्ग
देशको रङ्ग । विजयको रङ्ग।

आमा,
अब चुपचाप शान्त बग्ने छैन कोशी
टोलाएर उभिरहने छैन कन्चनजङ्घा
बरु रातै हुनेछ सगरमाथा
रातै बग्नेछ दुधकोशी
लडाकु हुनेछन् बुद्ध
तर आत्मसमर्पण गर्ने छैन देश
बरु सहिद हुनेछ ब्रह्माण्डको ।
मलाई यति भनिदेऊ आमा
कहाँ छ बलभद्रहरूले राख्न दिएको
यो देशको धनिपुर्जा
वीर पुर्खाहरूले दर्ता गराएको
गोर्खाली इतिहास
छिट्टै नविकरण गर्नुछ आमा
भन्देऊ
कहाँ छ मेरो देशको धनिपुर्जा
कहाँ छ आमा ? कहाँ छ ?

डाडाँगाँउ, धनकुटा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर