• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जुन परिवारको पेटमा अन्न नपरेको २ महिना भयो...

चितवन । छानो खरले छाएको छाप्रो । छाप्रो भित्र केही पकाउने भाडा छन् । अंगेना छेउमा लस्करै दाउरा हार लगाएर राखिएको छ । मकै, चामल, नुन, तेल, मरमसलाले भरीभराउन हुनुपर्ने मझेरी गिठ्ठा र भ्याकुरले भरिएको छ । त्यही गिठ्ठा र भ्याकुरको भरमा कमला चेपाङको परिवार बाँचेको छ । 

चितवनको इच्छाकामना गाउपालिका वडा नं ७ काफलडाँडाकी कमला चेपाङको घरमा अन्न सकिएको २ महिना भयो । ७ जनाको परिवार रहेको कमलाको घरमा चैत महिनादेखि नै खानेकुरा सकिएको छ ।

उनको घर भित्रको सम्पतीमा सिलभरको एउटा गाग्री, रातो रंगको प्लाष्टीकको जग, पानी तताउने कित्ली र निकै दुख गरेर किनेको एउटा कुकर छ । उनी दुख पोख्छीन्, बाच्नै गाहे छ । गाँउका काममा गएका सबै जना घरमा आएका छन् । उनलाई  सबै जना किन घरमा आए भन्ने पनि थाहा छैन । उनि भन्छिन्, खोई किन हो काममा गएको सबै आयो । बन्द छ रे । सबै जंगल जाँदा त गिठ्ठा र भ्याकुर सकिएला जस्तो छ । 

कमलाको दिन गिठ्ठा र भ्याकुर खोजेर बित्छ । उनका श्रीमान ज्याला मजदुरी गर्थे । उनी पनि काममा नगएको दुई महिना भयो । काम नपाए पछि खाने सामल किन्न नसकेको कमला चेपाङ बताउँछीन् । उनि भन्छिन्,‘एक हलको पाखो मेला छ । यस्ले ३–४ महिनालाई पुग्ने मकै फल्छ । अरु दिन त उहाँले ज्याला गरेर कमाएको खाने हो । अहिले काममा गएको छैन । खाने कुरा पनि छैन् । उनी थप्छिन, कस्ले हो अस्ती चामल दिएको थियो । दुई दिन पकाएर खायो ।’

काफलडाँडाकै सुवास चेपाङको कथा पनि कमलाको भन्दा फरक छैन । उनको घरमा आठ जनाको परिवार छ । उनी होटलमा काम गर्छन। उनले कमाएको पैसाले उनको परिवार चलेको थियो । लक डाउन पछी होटल नगएको बताउने सुवासको दिन गिठ्ठा, भ्याकर खोजेरै वित्छ । उनी दुखेसो पोख्छन्, बिहानै बेलुकै गिठ्ठा खान्छौ, के गर्नु । खाने अन्न छैन, काम गर्न जाने ठाउँ छैन ।

यी त भए केही प्रतिनीधि पात्र । चितवनको पहाडी भेगमा बसोबास गर्ने अधिकांश चेपाङको घरको भान्छा रितीएको छ । घरमा अन्नपात नभएपछी सबैको घरमा गिठ्ठा र भ्याकुरलेभरीएको छ । बन्दाबन्दीले गर्दा चितवनका पहाडी भेगमा बसोवास गर्ने चेपाङ समुदायमा यतिवेला खाने कुरा सकिएपछी संकट आएको छ । 

नेपालमा लकडाउन भएको दुई महिना पुग्यो । यहाँका चेपाग समुदायका मानिसहरु ज्यालादारी काम पनि नपाउदा बेरोजगार भएका छन् । लकडाउन भएको सुरु समयमा विभिन्न संघ संस्थाले राहत बाँडे पनि इच्छाकामना गाउँपालिकाको  वडा नं ७ काफलडाँडामा भने राहत पुग्न सकेको छैन् । उनीहरु भन्छन् एक पटक पन्ध्र किलो चामल दिईएको थियो । भोकै बसेका हामिले तिन चार दिन त खायौ । फेरी उही अवस्था आएको छ । 

विगत १२ वर्ष देखि चेपाङ समुदायको भान्छामा अन्न पुराउने र बालबच्चालाई पढ्ने वातावरण मिलाउदै आएका गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष एवं चेपाङ अभियान्त केपि किरण शर्मा भन्छन्, यो समय प्राकृतिक रुपमा नै उनीहरुको घरमा केही अन्नवाली नहुने समय हो । यो समयमा थोरै भएको मकै पनि सकिन्छ । अहिले भने ज्याला मजदुरी समेत गर्न नपाएपछी चितवनका करिब ४५ हजार चेपाङमा अनिकाल लागेको उनको भनाई छ । संरक्षण गृहमा रहेका १ सय ८०  जना बच्चाहरु अहिले  घर घरमा  गएका र सबैले खान पाईन भन्दै फोन गर्दा मन भकानिने उनी बताउछन् ।  

अभियान्ता शर्मा भन्छन, ‘एउटै घरमा सात आठ जना देखि १७ जनाको परिवार हुन्छ । एक पटक दिईएको १५ किलो चामल दुई छाकमा सकिएपछी अहिले सो समुदायमा गिठ्ठा र भ्याकुर खोज्न जानुको विकल्प छैन । उनी थप्छन्, ‘कसैले राहत दिन्छु भने पनि उनीहरु माग्न जाने पहुँचमा नरहेका कारण थप समस्या भएको छ ।’

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९,  कालिका नगरपालिकाको वडा नम्वर ९, १० र ११ त्यसैगरी राप्ती नगरपालिकाको ९ नम्वर वडा देखि १३ नम्वर वडा र ईच्छाकामना गाउँपालिकाको अघिकांश क्षेत्रमा चेपाङ समुदायको वसोवास रहेको छ । 

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङ भने गाउँपालिकाभित्र २ हजार ८ सय घरधुरीलाई वडा र टोल मार्फत् राहत वितरण गरिसकिएको बताउँछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर