देवघाट धामको मोहनी र ‘माघ स्नान’
चितवन । आज माघे सङ्क्रान्ति । चितवन, तनहँ र नवलपुरको संगम देवघाट धाम, जहाँ विशेष मेला लाग्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ लाई मकर सङ्क्रान्ति भनिन्छ । यही सङ्क्रान्तिको धार्मिक आस्थाका कारण त्रिशूली र कालीगण्डकीको संगम देवघाटमा ‘माघ स्नान’ गर्ने भक्तजनको घुइँचो लाग्थ्यो ।
यहाँ कहिलेदेखि माघ स्नान सुरु भयो ? ठ्याक्कै तिथि मिति छैन । यद्यपि पुस्तौदेखि स्नान गर्दै आएको मेला पहिलो पटक देवघाट क्षेत्र बिकास समितले स्थगित गरेको छ । मेला स्थगित भएपनि स्नान भने जारी हुने देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए ।
लाखौं भक्तजनहरुको उपस्थित रहने देवघाटको माघी मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षालाई ध्यानमा राखेर क्षेत्र बिकासले विभिन्न तयारी गरेको छ । कोरोनाको जोखिम यतावत् रहेकाले क्षेत्र बिकासले स्थानीय पसलहरु सञ्चालन भए पनि बाहिरबाट आएर पसल सञ्चालन र भिडभाड गर्न रोक लगाएको निर्देशक घिमिरेले बताए ।
मेला रोकिए पनि भक्क्तजनको भिड कम हुने अवस्था छैन । आस्थाका कारण भक्तजन ओइरन्छन् । उनीहरुको सुरक्षालाई मध्यनजर गरेर खाने पानी, स्वाथ्य सुरक्षा, शौचालय, बिजुली, स्नानघाटमा नुहाउने व्यवस्था, निःशुल्क तातो पानी, चिया, एम्बुलेन्स लगायतको व्यवस्था गरिएको उनले बताए ।
अघिल्ला वर्षहरुमा पाँच लाख भक्तजनले मेला भर्थे । यो वर्ष दुई लाखदेखि साढे दुई लाखले मेलामा सहभागिता जनाउने अनुमान गरेर सोही अनुरुप तयारी गरिएको कार्यकारी निर्देशक घिमिरेले जानकारी दिए ।
........
देवघाटको धार्मिक एवं ऐतिहासिक महत्वः
पुराणहरुमा देवघाटधामलाई सबै तीर्थहरुमा श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने तीर्थको रुपमा वर्णन गरिएको छ । वराहपुराण, स्कन्दपुराण, भागवत् आदिमा यस तीर्थको ठूलो महत्व उल्लेख गरिएको छ ।
वराहपुराण अनुसार यस क्षेत्रमा देवताहरु अटन (भ्रमण) गर्ने भएकाले यस क्षेत्रलाई देवाट वा देवघाट भन्ने नामाकरण गरिएको दाबी पाईन्छ । नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिमा उत्तिकै महत्वपूर्ण छ ।
त्रिशुली र कालीगण्डकी नदीको संगम देवघाटधाम समुन्द्री सतहबाट २०० देखि ५७५ मिटरसम्मको उचाईमा रहेको छ । यस क्षेत्रलाई सृष्टिको बिहानीदेखि देवताहरुले र हिन्दु संस्कृतिको संवाहक मुनिमहर्षिहरुले आफ्नो कर्म र साधनाको भुमिको रुपमा उपयोग गरिआएको पुराणहरुमा उल्लेख गरिएको छ ।
अहिले यहाँ थुप्रै सन्त, महात्मा तथा साधकहरुले साधनामय जीवन बिताइरहेका छन् । गुफा, मठ मन्दिर, साधनाकुटी, आश्रम तथा शिक्षालयहरुले यहाँको गौरवलाई थप उचाईमा पु¥याएको छ ।
.........
माघे संक्रान्ति पर्व :
माघे सङक्रान्तिका दिन देवघाटका सबै मठ, मन्दिरहरुमा भक्तजनहरुले पूजाआजा, भजनकिर्तन, दानपुण्य आदिमा व्यस्त रहन्छन् । सूर्य मकर राशिमा गएको बेला देवघाटमा स्नान गर्नाले अक्ष्य पुण्य र प्रसागमा स्नान गरेको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।
देवघाट क्षेत्र बिकास समितिका निर्वतमान अध्यक्ष शिवराज पौडेलले देवघाटको महिमा सुनाउँदै समाचार दैनिकसँग भने– ‘त्रिशुली नदी र कालीगण्डकीको संगम यसै दिनमा भएकोले यस दिनमा देवघाटधामको विशेष महत्व भएको हो । मकर संक्रान्तिको दिनमा यस पवित्र देव नदीको संगममा स्नान गर्न सम्पूर्ण देवताहरु यहाँ आईपुग्ने अद्देश्यरुपमा भएपनि सम्पूर्ण देवताहरुको जमघट हुने भएकाले यस समयमा संगममा स्नान गर्नुको ठूलो महत्व छ ।’
पौडेलका अनुसार वशिष्ठमुनिको जन्मजयन्तीको दिन माघे संक्रान्तिमा पर्ने र सम्पूर्ण ऋषिमुनिहरु भेला हुने गरेकाले त्यसै समयदेखि यहाँ मेला लाग्ने गरेको भनाई रहेको पौडेलले बताए ।
हिन्दु मात्रै नभई गुम्बामा प्रतिवर्ष माघे संक्रान्तिकोे अवसरमा पौष २८ गते देखि तीन दिनसम्म विश्व शान्ति पूजा हुने र जसमा सहभागि हुन टाढाबाट बुद्धिष्ट लामाहरु आउने गर्छन । जसका कारण बौद्धहरुका लागि पनि माघे सङ्क्रान्ति र देवघाट महत्वपूर्ण रहेको पौडेलले बताए ।
.......
देवाटमा गएर के गर्नेः
यातायातको साधनबाट झोलुङ्गे पुलमा पुगिन्छ । त्यहाँ पुगेपछि सङल्पेश्वर हनुमान, सप्तगण्डकी र तीर्थदेवतालाई नमस्कार गरी स्नानघाट जानुपर्छ । सङ्गममा सर्वप्रथम जल, आचमन, अभिषेक गर्ने र आफू पवित्र बनी संकल्पसहित ३ पटक स्नान गर्नु पर्दछ । त्यसपछि सूर्य भगवान, तीर्थदेव र आफ्ना पितृहरुलाई सम्झी छुट्टाछुट्टै जल चढाउनु पर्छ । सम्भव भए संगममा वा अन्य योग्य ठाँउमा बसी विधिपूर्वक सन्ध्या, तर्पण, श्राद्ध, देवपूजन, दान आदि गर्नुपर्छ ।
यि कार्य गरिसकेपछि गंगा, पशुपति मन्दिरको दर्शन गर्दै अघोरी आश्रम हुँदै गलेश्वर आश्रममा आई ज्योतिलिङ्गेश्वर मन्दिरमा पूजा अर्चना, हवन र यथासक्य दान पुण्य गर्नुपर्छ । त्यसपछि वशिष्ठ गुफा, सीता गुफा आदिको दर्शन गरी चक्रवर्ती र सत्यनारायण मन्दिरको दर्शन पूजा गरी महेश्वर सन्यास आश्रम हुँदै दुर्गा पाञ्चायन मन्दिरको बाटो हरिहर मन्दिर पुगेर पूजा अर्चना गर्नुपर्छ । त्यसपपिछ राम मन्दिर, सन्यनारायण मन्दिर पुलको नजिकमा रहेका केदारेश्वर मन्दिर तथा बद्रीनारायण मन्दिर आदि अन्य मन्दिर पनि दर्शनीय रहेका छन् ।
........
देवघाटमा रहेका धार्मिक पर्यटकीय स्थलहरुः
वशिष्ठ गुफा र सीता गुफाः
गलेश्वर आश्रमको पश्चिम कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति छ । वशिष्ठ ऋषिको गुफा रहेको मुन्तिर सीता गुफा रहेको छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । भगवान् रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफा भनेर चिनिएको छ ।
चक्रेश्वर मन्दिरः
गलेश्वर आश्रम परिसरबाट पूर्व उच्च स्थानमा रहेको प्राचीन र ऐतिहासिक चक्रेश्वर मन्दिर । यहाँ चक्रैचक्र भएको ठूलो शिला स्थापित छ । पाल्पाका राजा मुकुन्द सेनले यहीँ आएर तपस्या गरेका थिए । एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापित गरेकाले उहाँकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको हो । यस मन्दिरको वरपर चार ठाउँमा मन्दिरका भग्नावशेषहरू रहेका छन् । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर थिए भन्ने भनाई छ ।
केदारनाथ मन्दिरः
झोलुङ्गे पुलबाट पूर्वतर्फ केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो यो मन्दिरको पहिलो तलामा शिव पञ्चायन देवताका मूर्ति स्थापना गरिएको छ । माथिल्लो तलामा गङ्गाजी र त्यहाँबाटै जलधारा हुने व्यवस्था गरिएको छ ।
वागीश्वरी मन्दिरः
देवघाट र नारायणगढको मध्यमार्गमा रहेको जङ्गलमा ऐतिहासिक वागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको दुईवटा बाघका कलात्मक मूर्ति छ । अन्य शिला मूर्ति भग्नावशेषका रूपमा रहेका छन् । मूर्तिको अध्ययन गर्दा पन्ध्रौ शताब्दीतिरको भएको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।
बद्री मन्दिरः
झोलुङ्गे पुलबाट पूर्वतर्फ बद्रीनाथ भगवान्को विशाल मन्दिर छ । यो विशाल मन्दिरको उचाई ५२ फिट र ४२÷४२ फिटमा यो मन्दिर फैलिएको छ ।
मौलाकालिका मन्दिरः
नवलपरासीको गैँडाकोट नगरपालिकामा मौलाकालिका मन्दिर छ । यो मन्दिर डाँडामा रहेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा सैनिकले शिलाको स्थापना गरी कालिकाको पूजा गर्दै आएको मान्यता रहेको छ । यो मन्दिर जानका लागि सजिलो सिँढी निर्माण गरिएको छ ।
महेश सन्यास आश्रमः
वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न यस आश्रमको स्थापना गरिएको हो । २०५० सालमा डाक्टर स्वामी आत्मनन्द गिरीले स्थापना गरेको यो आश्रममा संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म संस्कृत विषयको पढाई हुने गरेको छ । प्राचीन गुरुकुलको सम्झना दिलाउनेगरी सय जनासम्म छात्रले दिक्षित हुँदैछन् । जुन पढाई निःशुल्क रुपमा हुन्छ ।
हरिहर सन्यास आश्रम:
एकहजार भक्तजन अटन सक्ने गरी निर्माण गरिएको यो आश्रममा संस्कृतमा माध्यमिक तहसम्म अध्ययन हुँदै आएको छ । आवासीय सुविधासहित वटुकहरूले यहाँ निःशुल्क अध्ययन गर्छन् ।
गलेश्वर आश्रम
यस आश्रममा ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर रहेको छ । १५० रोपनी क्षेत्रफलमा पैmलिएको यस आश्रममा गायत्रीको ऐतिहासिक महत्व बोकेको चुतुर्भुजी नारायण, लक्ष्मी र अन्य देवताका मन्दिर छन् ।
यहाँ पनि माध्यमिक तहसम्म संस्कृतको अध्यापन हुँदै आएको छ । यहाँ पाँच सयजना भक्तले नियमित साधना गर्दै आएका छन् ।
यसैगरी देवघाट धामको क्षेत्रभित्र दर्जनौँ मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम, वृद्धवृद्धाका लागि निःशुल्क आश्रम, गङ्गा मन्दिर, गलेश्वर आश्रम, ज्योतिर्लिङ्गेश्वर महादेव, अघोर आश्रम, अद्वैत संस्था, शुक्लाकृष्ण गण्डकी अखण्ड कीर्तन, दुर्गा पाञ्चायन मन्दिर, सीताराम मन्दिर, सत्यनारायण मन्दिर, साढेवगर, लक्ष्मीवराह भगवान्, सङ्मेश्वर पशुपति मन्दिर, यज्ञशाला मन्दिर, अष्टदश पुराणमन्दिर, शङ्कराचार्य मन्दिर, राधासर्वेश्वर भजनाश्रम, बौद्ध गुम्बा, गणेशस्थानलगायत दर्जनौँ मन्दिर तथा हेर्न लायक स्थान रहेका छन् ।
देवघाटको महिमा धौधौः
देवघाट क्षेत्र भन्नाले भौगोलिक रुपमा चितवनतर्फ भरतपुर महानगरपालिकाको–१, २ र ११ वडाको केही भाग, तनहँुतर्फ देवघाट–५ को क्षेत्रलाई र नवलपरासी पूर्वमा गंैडाकोट–३ को गरेर ५ हजार ४ सय ५४ हेक्टर क्षेत्रफल जग्गा देवघाट क्षेत्र बिकास समितिको नाममा चर्चेको छ ।
देवघाटको गुरुयोजना अनुसार धार्मिक क्षेत्र, आवासीय क्षेत्र, पर्यटकीय क्षेत्र, वन सम्पदा नदी क्षेत्र, बगर क्षेत्र, बजार क्षेत्र, बोटानिकल गार्डेन, नमूना गाँउ, आश्रम दियालो बंगाला जस्ता क्षेत्रहरु २०५२ सालमा छुट्टाईएको हो । तर क्षेत्र बिकास समितिले भने गुरुयोजना अनुसार काम गर्न सकेको छैन् । गुरुयोजना अनुसार काम गर्न कानुनको अभाव रहेको समितिका पदाधिकारीहरुले बताउँदै आएका छन् ।
पटक–पटक ध्यानकर्षण गराउँदा पनि सरकारले पहल कदमी न लिएको गुनासो सरोकारवालाहरुको छ । देवघाट क्षेत्रभित्रका तीनवटै जिल्लामा सरकारी जग्गाहरु सुकुम्बासीको नाममा ओगटिएको छ । भौतिक संरचनाहरु खडा गरी त्यसलाई स्थायी रुप दिइएको छ ।
सामान्य रुपमा सुकुम्बासीको बस्ति जस्तो छैन । सुकुम्बासीको नाममा रहेका जग्गामा टोपी खस्ने महल, पार्टी प्यालेसहरु निर्माण भएका छन् । जग्गा अतिक्रमणका लागि क्षेत्र बिकास समितिले समित नै बनाएर खोजी गर्ने भनिए पनि समितिले अहिलेसम्म केही काम गरेको पाईएको छैन । देवघाट क्षेत्र बिकास समितिका पुर्व सदस्य ईन्द्र रेग्मी क्षेत्र बिकासको जग्गामा मठ, मन्दिर धर्मशाला आदिको नाममा संघ संस्था र व्यक्तिले अनियन्त्रीत रुपमा जग्गा अतिक्रमण गरिरहेको तथ्य बताउँछन ।
रेग्मीले भने– ‘क्षेत्र बिकास समिति गठन भएदेखि हालसम्म यसतर्फ सजग हुन नसकेका हुन् वा आँखा चिम्लएका हुन् । यदि उनीहरुले बेलैमा ध्यान दिन सकेको भए अहिलेको गतिमा अतिक्रमण पक्कै हुने थिएन् ।’
प्रतिकृया दिनुहोस