• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

युवाको टिमले नाकामै खुवायो १२ सय बढीलाई खाना

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट सोमबार एक हजार पाँच सय भन्दा बढी भारतका विभिन्न स्थानमा अलपत्र नेपालीहरु भित्रिएका छन् ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेलुकी पाँच बजेसम्म पन्ध्र सय भन्दा बढी नागरिक भित्रिएको जानकारी दिए ।

“एकिन तथ्याङ्क अझै आइपुगेको छैन ।” सहायक प्रजिअ उपाध्यायले भने“भारतबाट आउने सबैको तापक्रम मापन लगायत स्वास्थ्य परीक्षण गर्दा सबैको अवस्था सामान्य देखियो ।”

आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डाचौकीनाकाबाट सुरक्षा सर्तकता अप्नाएर नेपालीहरुलाई भित्रिन दिने निर्णय गरेको थियो ।

“दिउँसो १२ बजेदेखि गड्डाचौकी नाका खोलिएको हो ।” उपाध्यायले भने–“राति भने आवागमन बन्द हुन्छ ।” प्रशासनले भोलीदेखि भने बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीहरुलाई आउन दिने जनाएको छ ।

भारतीय सुरक्षाकर्मीहरु नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीहरुलाई पुर्याएका थिए ।

उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो ।

भन्सार परिसरमा भोकै बसेका नागरिकहरुलाई कञ्चनपुरका युवा व्यापारी तथा व्यवसायीहरुले खाना र पानीको प्रवन्ध मिलाएका थिए । नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले खाना र पानी वितरण गरेको थियो । 

“सीमामा केही समययता नेपालीहरु भोकै बसेको पनि सुनियो ।” यहाँका युवा व्यापारी दिनेश मल्लले भने–“साथीहरुको समन्वय र सहयोगी भावले नै आज अलपत्र नेपालीहरुको भोक र प्यास मेटाउन सक्यौं ।”

युवा व्यापारी तथा व्यवसायीका साथै केही सञ्चारकर्मीहरुको पहलमा नाकाबाट भित्रिएका एक हजार दुई भन्दा बढी नागरिकहरुलाई खाना खुवाइएको छ ।

त्यसैगरी कञ्चनपुर प्रशासनले नाकामा भित्रिने ब्यक्तिहरु बिबरण संकलन समेत गरिरहेको छ ।

भित्रिएका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए ।

“कालिकोट लगायतका केही जिल्लाका नागरिकहरुलाई पठाइसकेका छौं ।” उनले भने–“अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ ।”

उता गड्डाचौकी नाका खुलेसंगै सीमावर्ती भारतीय बजारमा नेपालीहरु आउने क्रम बढेको छ । कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनी लगायतका सीमानाका छलेर नेपालीहरु भारतबाट आउने क्रम बढेपछि स्थानीय प्रशासनले गड्डाचौकीनाकाबाट आवागमन सुचारु गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर