• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ट्रम्पका भ्रामक र गलत ट्वीटमा ट्वीटरको फ्याक्ट चेक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टुइटमा टुइटरले तथ्य जाँच्न थालेपछि उनमा नयाँ चुनौती थपिएको छ । ट्रम्पले ट्वीटर मार्फत लगातार विवादस्पद र भ्रामक ट्वीट गर्न थालेपछि पछिल्लो समय ट्वीटरले उनले लेखेको टुइटमा तथ्य जाँच शुरु गरेको हो । 

ट्रम्पले  ट्वीटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् । अब ट्रम्पले राखेको टुइट विषयमा टुइटर बास्तविकता प्रस्तुत गर्नेछ  । ट्रम्पले नेपाल समय अनुसार मंगलबार बेलुका गरेको ट्वीटमा पहिलो पटक ट्वीटरले तथ्य–जाँच प्रस्तुत गरेको हो ।

 

ट्रम्पले ‘मेल–इन ब्यालट’ अर्थात हुलाक मार्फत हुने चुनावमा धाँधली बाहेक अरु केही नहुने भन्दै ट्वीट गरेका थिए । ट्वीटरले त्यसको तल हुलाकबाट हुने मतदान सम्बन्धी तथ्य पेश गरेको हो । जसमा हुलाकबाट हुने मतदान पारदर्शी हुने र ट्रम्पको आरोप झुट रहेको उल्लेख छ ।

ट्वीटरले तथ्य–जाँचलाई चेतावनीको संकेत दिएर राख्छ र त्यसमा क्लिक गरेपछि तथ्या जाँच हेर्न पाइने छ । ट्वीटको ठीक तल आश्चर्यवाचक चिन्ह सहित तथ्य–जाँच राखिएको हुन्छ ।

ट्रम्पले लगातार गलत र भ्रामक जानकारी पोस्ट गर्ने गरेकाले सामाजिक सञ्जाल ट्वीटरले सावधानीको संकेत दिन थालेको हो । ट्रम्पले मंगलबार बेलुका गरेको ट्वीटमा मतदान प्रक्रियाबाट भ्रामक जानकारी रहेको ट्वीटरले बताएको छ ।

यो महिनाको सुरुमा ट्वीटरले यस्तो चेतावनी नोटिफिकेशन सम्बन्धी नयाँ फिचरबारे जानकारी गराएको थियो ।

ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनका बारेमा गरेको भ्रामक ट्वीट डिलिट गर्न नमानेपछि ट्वीटरले उनका ट्वीटमा तथ्य–जाँच राख्न थालेको हो ।

ट्वीटरले तथ्य–जाँच राख्न थालेपछि ट्रम्प अति आक्रोशमा आएका छन् । उनले लगातार ट्वीट गरेर वाक स्वतन्त्रताको ट्वीटरले हनन् गरेको आरोप लगाएका छन् । उनले आफू राष्ट्रपतिका हैसियतमा वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने भन्दै ट्वीटरलाई नै चेतावनी दिएका छन् ।

उनले यो वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अब ट्वीटरले दखल दिन थालेको समेत गम्भीर आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर