उपमहानगरको बोर्ड बैठकमा घम्साघम्सी, वडाध्यक्षहरुले च्याते माइन्युट

नगरप्रमुख एकलौटी हिड्न खोजेको वडाध्यक्षहरुको आरोप

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै घम्सा घम्सी भएको छ । 

नगरसभा नजिँकिदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगर प्रमुखको रबैयाप्रति बिरोध जनाएपछि घम्साघम्सी भएको हो ।

वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको हरहिसाबको विवरण तथा निति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए । विवाद लम्बिदै जाँदा उपस्थित वडाध्यक्षहरु तयार पारिएको माइन्युट समेत च्यातेका छन् । 

बोर्ड बैठकमा उपस्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक संचालन गर्न खोजेको आरोप लगाए । बोर्ड बैठकमा जबरजस्ती प्रमुख साहले माइन्युटमा हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको वडाध्यक्ष जानकीरामले बताए । 

पालिकाको सभा संचालन गर्न अगाडी पहिले निति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनु पर्ने हुन्छ । निति तथा कार्यक्रम पारित गराउनका लागि जनप्रतिनिधिहरुलाई  कम्तीमा २४ घण्टा अगाडी उपलब्ध गराउनुपर्ने जनकपुरधाम उपमहानगरपालिकाले बनाएको बैठक संचलान सम्बन्धि कार्यविधिको छलफलको विषय ससम्बन्धी १२ नम्बर बुन्दाको १मा उल्लेख छ । 

तर, अध्ययन गर्नका लागि निति तथा कार्यक्रम नै नदिई सीधा बोर्ड बैठकमा उपलब्ध गराइएकोमा वडा नम्बर ३का वडाध्यक्ष दीपेन्द्र साहले आपत्ति जनाए ।  उनले प्रमुख साहको रबैया नसच्चिए आफूहरु बैठक संचालन हुन नदिने चेतावनी दिए । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष परमेश्वर साहले नगर प्रमुख साह अलोकतान्त्रिक विधि अपनाएर अगाडी बढ्न खोजेको आरोप लगाए । उनले भने ‘विगत ३ वर्षदेखि हामी उपमहानगरपालिकाको काम कारवाही पारदर्षी बनाउन माग गरिरहेका छौँ, तर प्रमुख साह मान्नु हुन्न ।‘ अगाडी भने ‘ मेयर साबलाई डर छ पारदर्षी विधि अपनाएँ भने आफूले विगत ३ वर्षदेखि गर्दै आएको भ्रष्टाचारको पोल खुल्ने छ ।’

उपमहानगरपालिकाका वडाध्यक्षहरु प्रत्येक वर्ष बजेट फ्रिज हुँदै आएकोप्रति समेत आपत्ति जनाए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरबाट २५ वटै वडाका लागि कुल १२ करोड ७५ लाख रुपैयाँ मात्रै जाने गरेको र अरु पैसा मेयर साह भ्रष्टाचार गर्नकै लागि निजि श्रोतको रुपमा राखेको आरोप लगाए । उनले भने ‘ हामीले उठाउने गरेको राजश्वमा समेत भ्रष्टचार भई रहेको छ, मैले आफ्नो वडाबाट ९ लाख रुपैयाँ राजश्व उठाएर दिएको छु जबकि ४ लाख रुपैयाँ मात्रै हिसाबमा उल्लेख छ ।’ यसले नै स्पष्ट हुन्छ मेयर साह कति भ्रष्ट र असफल मेयर हुनु हुन्छ वडाध्यक्ष सिंहको भनाई छ । 

यता आफू मेयरको अलोकतान्त्रिक विधि बिरुद्ध आवाज उठाउँदा आफूलाई मेयरको लठैत कार्यपालिका सदस्यहरुले तछाड मछाड गरि धकेलेको वडा नम्बर १०का वडाध्यक्ष मिथिलेश कर्णले आरोप लगाए । उनले यहि शैली रह्यो भने हामी बैठक संचालन गर्न नदिने अडान व्यक्त गरे । 

जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता मिश्र बैठक नै शुरु हुन नदिई वडा नम्बर ७को वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु गलत रहेको बताइन् । उनले बैैठक शुरु हुने वित्तिकै सम्पूर्ण हरहिसाब वडाध्यक्ष लगायतक कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउने योजना रहेको बताउँदै भनिन् ‘ वडाध्यक्षहरुले देखाएको रबैया गलत हो ।’ उनले माइन्युट च्यात्ने वडाध्यक्ष बिरुद्ध मुद्दा चलाउने तयारी समेत भई रहेको जानकारी दिइन् । 

जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा असार ९ र १० गते हुने तय गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर