• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सय वर्षअघि खेत बाली लगाउँदाको खर्च र धानको मूल्य 

काठमाडौं । एक सय वर्षअघि नेपालमा खासै व्यवसायिक कृषि उत्पादन थिएन । यद्यपि गाउँवस्तीले बनेको नेपालमा आफ्नो उब्जनी आफैले बाँच्ने आत्मनिर्भर भने थियो । सय वर्षअघि नेपाल अहिले जस्तो ज्यालादारी मजदुरी अवस्था थिएन ।

विक्रम संवत् १९७७ तिरको नेपाल बारे ‘त्यस बखतको नेपाल’ पुस्तकमा सरदार भीमबहादुर पाँडेले सबै उल्लेख गरेका छन् । ‘त्यस बखत खेतीपातीको सबैजसो काम अर्मपर्मबाट चल्ने हुँदा किसानले पर्मेलीलाई खालि खाजा ख्वाए पुग्थ्यो, ज्याला दिन पर्दैनथ्यो । 

खेतीवालाको मुख्य नगद खर्च खालि सरकारी मालपोत तिर्नमा मात्रै हुन्थ्यो । गाउँलेको मूल आम्दानीको स्रोत खेती थियो । त्यसैबाट नून, मट्टीतेल, वडापैरी किन्दथे र भोज भत्यार चलाई बचेका रकम सात गाँठो पारी राख्दथे’, पुस्तकमा उल्लेख छ । 

चामलको महत्व उतिबेला बढि थियो । पहाडको गाउँघरमा मुख्य तथा बढि उब्जनी हुने मकै, कोदो र धान थिए । तर, चामललाई भोज–भत्यार, चाडपर्व, आजापूजा र पाहुना लाग्दा मात्रै पकाउने गरिन्थ्यो । 

खेत बाली लगाउँदा खर्च, जनशक्ति, हल गोरु सबैको हिसाब ऐनका रुपमा निकालिएको थियो । छत्तीसमुरी खेत बाँझो जोत्नलाई पाँच हल गोरु, छत्तीसमुरी खेत हिल्याउनलाई चाहिने तीन हल गोरु, छत्तरीमुरी खेत साउने र सम्म पार्न चाहिने छ हल गोरुको चाहिने उल्लेखै गरिएको छ । 

हल गोरु र हलीलाई लाग्ने खर्च समेत तोकिएको छ । गोरुको भन्दा हलीलाई दिइने ज्याला कम देखिन्छ । हल गोरुको ज्याला नगद दिए ८ पैसा अन्न दिए दुई माना चामल । हलीले नगद लिए ४ पैसा र अन्न लिए १ माना चामलको लिनुपर्ने व्यवस्था थियो । धान रोपाहारा, गोडमेल, काट्नेलाई ४ पैसा तर, आली लगाउनेलाई ६ पैसाको व्यवस्था गरिएको छ ।

१९८३ पुस ३ गते गोरखापत्रमा प्रकाशित बजार दरभाउ अनुसार चामलको मूल्य पनि निर्धारण गरिएको छ । त्यो बेलाको भाउ अनुसार मार्सी धान ३.५ पैसा, तौली धान ४ पैसा, मसिनो चामल १.१ पैसा, मार्सी चामल १.५ पैसा, तौली चामल १.७.५ पैसा, हकुवा चामल २ पैसा निर्धाण गरिएको छ । 

त्यस्तै नेपाल सरकारको निम्तोमा पाहुना भई आउने विदेशीहरुलाई पनि चामल, घ्यु, दाल, चिया दुध, माछा, मसला, नून लगायत गरी ३ रुपैयाँ बराबरको व्यवस्था थियो । चामल, आँटा भारतीय पाहुनाहरुका लागि थियो भने पाउरोटी, फलफूल लगायत सबैको व्यवस्थाका लागि युरोपियन पाहुनाका लागि चामल दिने चलन थिएन । ३ रुपैयाँ बराबरकै खाना, खाजाको व्यवस्था गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर