सोमबारदेखि ताज महल खुल्ने

एजेन्सी । भारतमा रहेको १७औँ शताब्दीको ऐतिहासिक भवन ताज महल सोमबारदेखि खुल्ने भएको छ । तीन महिनाभन्दा लामो समयसम्म पर्यटकका लागि बन्द गरिएको ताज महल अब खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपि, अब ताज महलमा प्रवेश गर्नका लागि पर्यटकहरुले केही दिशानिर्देशनको पालना गर्नुपर्नेछ । अनिवार्य मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम राख्नुपर्ने र महलाको चम्किला सतहहरुलाई छुन नपाइने लगायतका निर्देशन पालना गर्नुपर्ने छ ।
यसैगरी, ताज महलमा दैनिक ५ हजारले मात्रै भ्रमण गर्न पाउनेछन् भने पर्यटकलाई दुई समूहमा बाँडिने बताइएको छ । भारत सरकारको पर्यटन मन्त्रालयले भनेको छ, ‘सबै ऐतिहासिक भवन तथा स्थलमा सेनिटाइजेशन, सामाजिक दूरी र अन्य स्वास्थ्य निर्देशनको पालना गरिनेछ ।’
मुगल बादशाह शहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा २२ वर्ष लगाएर उक्त महल बनाएका थिए । कोरोना भाइरसको महामारी आउनअघि ताज महलमा दैनिक ८० हजारसम्म पर्यटक अवलोकन गर्न आउने गरेका थिए ।
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दैनिक बढ्ने क्रमका बीच भारत सरकारले ताज महलका साथै नयाँ दिल्ली स्थित लाल किल्लालाई पनि पुनः खोल्ने भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० नयाँ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ६ लाख ७३ हजार नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १९ हजार ६२८ पुगेको भने ४ लाख बढी निको भएर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस