• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वामदेबको ६ बुँदे पार्टी एकताको आधार बन्न सक्छः सुवास नेम्बाङ्ग

काठमाडौं । नेकपा संसदीय दलका उप नेता सुवासचन्द्र नेम्बाङ्गले वरिष्ठ नेता वामदेब गौतमद्वारा अघि सारिएको ६ बुँदे प्रस्ताव पार्टी एकताको लागि आधार बन्न सक्ने बताएका छन् । शुक्रबार समाचार दैनिकसँगको कुराकानीमा नेम्बाङ्गले गौतमको ६ बुँदे पार्टी एकतालाई बलियो बनाउने आधार बन्न सक्ने बताए ।

‘वामदेब गौतम आदरणीय कमरेड, आन्दोलन अघि बढाउन हाम्रो पार्टीमा त्यो तहको अनुभवि र हाइटको नेता । उहाँ अहिलेसम्म अध्यक्ष पनि हुनुभएको छैन । प्रधानमन्त्री पनि हुनु भएको छैन । उहाँको लामो अनुभवका आधारमा पार्टी एकढिक्का राख्नका लागि ६ बुँदे प्रस्ताव अगाडि बढ्ने आधार बन्न सक्छ’, नेम्बाङ्गले भने– ‘गौतमको ६ बुँदे प्रस्ताव बारे अध्यक्षद्वयको छलफल भयो भएन थाहा छैन ।’

विचार र सिद्धान्तमा विवाद नदेखिएको औंल्याउँदै नेम्बाङ्गले दुई अध्यक्षको उच्च मनोबल र चाहनाले पार्टी एकता भएको बताए । उनले भने– ‘उहाँहरुको उच्च मनोबल र साहसले मात्रै पार्टी एकता भएको ऐतिहासिक यर्थातता हो । अल्पमत, बहुमतको कुरा गर्दा एकता र सहमति फरक ढंगले अघि बढ्छ । भत्किन सक्छ । फेरि पनि उहाँहरु मिल्नुको विकल्प छैन् ।’

निर्वाचनमा कार्यगत एकताबाट अघि बढ्दा २ तिहाई नजिक पुगेको स्मरण गर्दै उनले त्यहीँबाट जनता उत्साहित भएको बताए । ‘चुनाव चिन्हका कारण हो हाम्रो २ तिहाई सहजै थियो । ९ लाख बढि मत चिन्हका कारण बदर भएका छन् । यो यर्थातलाई स्वीकारेर पार्टी एकता भएको हो । यो एकता जनताले देखाएको अदभूत मत र अध्यक्षद्वयको इच्छा शक्तिले भएको हो’, उनले भने– ‘जनताको मतलाई हामीले अपमान गर्नु हुँदैन । जनमतको कदरका लागि उहाँहरु फेरि उच्च सम्मानका साथ मिल्नुपर्छ ।’

पार्टीको संक्रमणकालिन विधानले व्यवस्था गरे बमोजिम अघि बढ्दा पार्टी जोगिने उनले बताए । दुई फरक र उत्कर्षबाट पार्टी एकता भएकाले बाँकी बक्यौता महाधिवेशनबाट टुंगो लगाउन उनले आग्रह गरे । प्रधानमन्त्री केपी ओली निकट मानिने नेता नेम्बाङ्गले भने– ‘सर्वोच्च निकाय भनेको महाधिवेशन हो । महाधिवेशनमा पनि एकता र सहमतिका आधारमा हुने भनेर पार्टीको संक्रमणकालिन विधानमा व्यवस्था गरेका छौं । आगामी चैतमा महाधिवेशन गर्ने निर्णय अघिल्लो केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ । यसमा कसैको बिमति छैन । यदि आवश्यकता नै हो भने त्यसअघि अर्ली महाधिवेशन गरौं भनेकै छौं ।’
प्रधानमन्त्री ओलीको प्रतिबद्धतालाई दोहोर्याउँदै नेम्बाङ्गले महाधिवेशनसम्म मिलेर जान अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

‘एकता र सहमतिको महाधिवेशन नहुँदै बीचमा जुन कुरा आए यस बारे उहाँ(ओली)ले प्रष्टसँग भन्नुभएको छ, मैले कक्षा दोहोर्याउँदिन भनेर । महाधिवेशनमा अध्यक्षको उम्मेदवार पनि बन्दिन, सांसदको उम्मेदवार नि बन्दिन र पुनः प्रधानमन्त्रीको उम्मेदवार पनि बन्दिन भन्नु भएको छ । पार्टीका लागि मैले सहयोगी भूमिका खेल्छु भन्नु भएको छ । प्रधानमन्त्रीको यो कुरालाई उहाँ(प्रचण्ड–नेपाल)ले पनि बुझिदिनु पर्यो’, नेम्बाङ्गले भने । 

केही केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गरिरहेको सन्र्दभलाई उनले अध्यक्षद्वयबीच राजनीतिक निश्कर्ष नआउँदासम्म औचित्य नहुने बताए । उनले भने– ‘सचिवालयले सबै समस्या समाधान स्थायी कमिटीबाट भनेर निर्णय गर्यो । तर, अहिलेसम्म लम्बिदैं गएको छ । समाधानको बाटो नस्किएको छैन । कोरोना, बाढी–पहिरो, भारतसँगको तिक्तता बढेको छ । यस्तो अवस्थामा कम्तिमा नेतृत्वबीच राजनीतिक सहमति भएर केन्द्रीय कमिटीमा जानु पर्ने हुन्छ । माथि नै राजनीतिक सहमति नटुंगिएकाले केन्द्रीय समितिको आव्हान गर्नु कुनै औचित्य हुँदैन ।’

सबैको राय, सुझाबलाई सुनेर अध्यक्षद्वय निश्कर्षमा पुग्न नेता नेम्बाङ्गले सुझाए । ‘सबैको कुरा सुन्दै, अध्यक्षज्यूहरु बाक्लो छलफल गरेर निश्कर्षमा पुग्नुपर्छ र पुग्नुहुन्छ भन्ने नै छ । यसमा हामी सबैको पहल हुन्छ’, नेम्बाङ्गले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर