• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चेपाङ बालबालिकाः छानो खोसिए पनि शिक्षाबाट बञ्चित हुनु परेन

चितवन । रेखा चेपाङ्गका बुवा राती सुतेकै अवस्थामा निधन भयो । ओड्ने ओछ्याउने अभाव कारण बुवाको मृत्युपछि आमाले दोस्रो विवाह गरेर घर छोडिन। रेखा दाइ–भाउजुसँग बसेर हुर्किइन । गरिवीका कारण पढ्न त परकै कुरा । उनलाई पेटभरी खानसमेत मुस्किल थियो ।

आठ वर्षमा दौड्दै गरेकी रेखा नवदुर्गा रा.प्रा.विमा पढाउने शिक्षक टिकाराम आचार्यको नजरमा परिन् । गरिब बच्चाहरु पढ्नबाट बन्चित हुनुहुँदैन भन्ने अभियानमा रहेका शिक्षक आचार्यले आठ वर्षकी रेखालाई शिशु कक्षामा भर्न गरिदिऐ । शिक्षक आचार्यको अभियानले उनको जीवन रेखा नै मोडियो । रेखा यतिबेला माडी क्याम्पस वसन्तपुरमा १२ कक्षामा अध्ययनरत छिन् । भविष्यमा शिक्षक बनेर शिक्षाबाट बञ्चि गरिव तथा अनाथ बच्चाहरुको सेवामा खटिने उनको एउटै उद्देश्य रहेको छ । 

माडी–९, कुसुमखोलामा रहेको सुकुम्वासी चेपाङ्ग बस्तीका २ वटा घरमा गत साउन ३ गते साँझ चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगो लगाई दियो । उनीहरु कहाँ बस्ने भनेर अहिलेसम्म टुंगो लागेको छैन । आमा बुवाको ओत लाग्ने छानोको टुंगो नलागे पनि यस क्षेत्रका चेपाङ्ग बालबालिका शिक्षाबाट भने बञ्चित हुनु परेको छैन । कुसुम खोला क्षेत्रका सत्र जना बालबालिका रेखासँगै नमुना छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । 

चितवनको माडी नगरपालिका लक्ष्मीबासमा रहेको नवदुर्गा रा.प्रा.वि.मा पढाउने शिक्षक टिकाराम आचार्य स्कूलमा बच्चाहरु निकै टाढाबाट आउनु पर्ने । गरिवीका कारण नियमित विद्यालय आउन नपाउने जस्ता समस्याका बारेमा जानकार थिए । कसरी गरिव बच्चाहरुलाई पढाउने भनेर सोचिरहेको समयमा उनले केही स्थानीय अगुवाहरुको सहयोगमा आफ्नै घरमा छात्रावास सञ्चाल गर्ने निधो गरे । छात्रावास स्थापनाको सुरुवातमा दश जना बच्चाहरुले आवासीय रुपमा अध्ययन गर्ने अवसर पाए । माडी नगरपालिका–६ लक्ष्मी निवास स्थित नमुना छात्राबासमा २७ छात्रा र १५ छात्र गरी ४४ जना बालबालिका आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।

पढ्नबाट कोही पनि बन्चित हुनुहुँदैन भन्ने सोचका साथ छात्राबास सञ्चालन गरिएको बताउँछन् शिक्षक एवं छात्रावास सञ्चालक आर्चाय । ‘हामिले कुसुम खोला आसपासको क्षेत्रलाई पहिल्यैबाट अति नै संवेदनशील क्षेत्रका रुपमा राखेका थियौं । अहिले आगो लागेका ठाँउका मात्रै आठ जना र यस आसपासका सत्र जना बच्चाहरु अध्ययन गरिरहेका छन् । अहिले अरु बच्चाहरु पनि राख्नुपर्यो भनेर अभिभावकहरु आउनु हुन्छ । तर, स्रोत साधनको अभावमा हामीले राख्न सकेका छैनौं । करिव एक सय बच्चाहरु अहिले पनि यस क्षेत्रमा गरिवीकै कारण अध्ययनबाट बञ्चित भएका छन्’, आचार्यले समाचार दैनिकसँग भने । 

विद्यालयको स्रोत र स्थानीय रूपमा पाइने सहयोगले छात्रावास व्यवस्थित गर्न मुस्किल भएको सञ्चालक आर्चायले बताए । विगत सम्झदै आचार्यले भने– ‘चार वटा कोठामा ४४ जना बच्चाहरु राखेर पढाउनु पर्ने बाध्यता । राती शौचालय जान पनि गाह्रो थियो । रिङ राखेर बनाएको शौचालय पाँच महिना नहुँदै भरिने । राती–राती बच्चाहरु सुताएर अर्को ठाँउमा खाल्डो बनाउँथे । शुक्रबार आयो कि सहयोग खोज्न निस्कन्थे । आफ्नो दुई विगाह जमिनमा भएको उब्जनी र सानो माछा पोखरीसमेत यिनै बच्चाहरुको लागि खर्च गरेँ ।’ विगत केही वर्षदेखि फ्रान्सेली संस्थाका लुइच नामक व्यक्तिले केही नियमित आर्थिक सहयोग गरेको उनले बताए । तर, उक्त सहयोग पर्याप्त नभएको उनले बताए । 

अभिभावकबिहीन चेपाङ्ग छात्रावासमा ओढ्ने, ओछ्याउने, लत्ताकपडा, स्टेसनरी सामग्री विभिन्न संघ÷संस्थाले सहयोग गर्दै आएका छन् । छात्रावासमा विभिन्न समयमा सहयोग गर्दै आएका सामाजिक अगुवा, लायन्स क्लव अफ माडीका अध्यक्ष एवं युवा नेता श्री दवाडीले नियमित दाताहरुकै कारण छात्रावास सञ्चालनमा केही सहज भएको बताए । समस्यामा रहेको छात्रावासलाई अहिले माडी नरगपालिकाले सहयोग गरिरहेका छ । विभिन्न दाताहरुको सहयोगमा पालनपोषण र शिक्षाको व्यवस्थापन गरिरहेको बेला संरक्षणको जिम्मेवारी माडी नगरपालिकाले लिएसँगै बच्चाहरुको भविष्य बन्नेमा आफूहरु ढुक्क भएको दवाडीले बताए । 

नगरपालिकाको सहयोगपछि कठिनसँग छात्राबास चलाउँदै आएका सञ्चालक आचार्यलाई अहिले केही सुख मिलेको छ । उनले भने– ‘माडी नगरपालिकाको नगर प्रमुखमा ठाकुर ढकाल विजय भएसँगै पहिलो काम यसलाई व्यवस्थित गर्ने र दीर्घकालिन रुपमा सञ्चालन गर्ने भनेर लाग्नु भयो । गत साउन पाँच गतेबाट नवदुर्गा स्कुलको खाली भएको भवनलाई पुनः निर्माण गरेर छात्राबासलाई व्यवस्थित गर्ने काम भएको छ ।’ 

निकै दुःख र हन्डर खाएर २०६४ सालमा स्थापना भएको यस छात्राबासलाई यही आर्थिक वर्षबाट भने माडी नगरपालिकाले सहयोग गरेको छ । जनकल्याण माध्यामिक विद्यालय र नवदुर्गा रा.प्रा.वि एकीकृत भएसँगै नवदुर्गा रा.प्रा.विको खाली भएको विद्यालय भवनमा छात्राबास निर्माण गरिएको माडी नगरपालिका प्रमुख ठाकुर ढकालले बताए । छात्राबास सञ्चालन राम्रो भए पनि त्यहाँ जनशक्ति र स्रोतको कमी भएसंगै त्यसलाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने सोंच आएको प्रमुख ढकालले बताए ।

‘नगरपालिकाले शैक्षिक कोष निर्माण गरेर छात्राबासमा रहेका बालबालिकाहरुको लागि दीर्घकालीन रुपमा अध्ययन गर्ने व्यवस्था मिलाएका छौं । माडी नगरपालिका, विभिन्न व्यक्तिहरुको विवाह उत्सव, जन्मोत्सव, शिक्षकहरुको स्वस्र्फुत सहयोगमा अहिलेसम्म करिब १५ लाख रुपैयाँ शैक्षिक कोषमा जम्मा भैसकेको छ । त्यसलाई बढाएर लैजाने काम भैरहेको छ’, प्रमुख ढकालले भने ।   

माडीको कुसुमखोला, भालुखोला, बाँदरझुला, छरछरेका अति गरिब बालबालिकाहरु यस नमुना छात्राबासमा संरक्षण लिएर बसेका छन् । स्कुलको रुपमा प्रयोग हुँदै आएको भवनलाई पुनर्निमाण गरेर गत साउन ५ गतेबाट सञ्चालनमा ल्याईएको हो । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर