• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन हुदै 

फाईल तस्बिर

काठमाडौं । दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम तीव्र रुपमा अघि बढेको  छ ।  अहिले पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सकिएको छ ।
 
आजै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माणाधीन बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।  अवलोकनपछि उनले यही असोज महिनाभित्र ल्याण्डफिल साइटको पहिलो चरणको निर्माण सकिने जनाउँदै  आगामी कात्तिक पहिलो सातादेखि फोहर विसर्जन गर्न सकिने  बताएका छन् ।

कोरोना भाइरसको  कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै राज्यमन्त्री मानन्धरले अब एक महिनाभित्र साइट निर्माण सकिने जिकिर गरे ।  काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि  सरकारले स्यानेटरी ल्याण्डफिल साइट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्डफिल गर्दा कम्तीमा ५० वर्षका लागि उक्त स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने बताइएको छ ।
 
विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि त्यसभन्दा दुई किलोमिटर पर एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरी निर्माण थालिएको हो ।  उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब र कम्तीमा दुई वर्ष समय लाग्ने अनुमान गरिएको छ ।

उपत्यकाबाट दैनिक १२ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।  सबैभन्दा बढी काठमाडौँ महानगरबाट पाँच सय मेट्रिक टन फोहर लाने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई सय गाडी फोहर लगिने गरिएको छ ।

वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या नौलो होइन ।  नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेंसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा ल्याइने गरेको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर