• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।
 
    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना सङ्क्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । सङ्क्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो ।
 
    पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना सङ्क्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।
 
    सङ्क्रमितको सङ्ख्या घटेसँगै अस्पतालले सङ्क्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको छ । पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।
 
    यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो । अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा सङ्क्रमित राखेको छ । त्यसैगरी पुरानो क्याबिनमा पनि सङ्क्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर