प्रदेश राजधानी जोड्ने ‘खलंगा–बालुवासंग्रही’ सडकको कालोपत्रे हुँदै
सुर्खेत । सल्यानलाई प्रदेश राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नति सहित कालोपत्रे गर्न शुरु भएको छ । ट्रयाक खोलेको झण्डै तीन दशकपछि सडकलाई चौडा बनाई नाली काट्दै कालोपत्रे गर्न शुरु गरिएको छ । सोहि अन्तर्गत बालुवासंग्रही–कुपिण्डेताल–जयतपानी–खलंगा सडक कालोपत्रेका लागि शनिबार शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक कालोपत्रेको शिलान्यास गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले देशमा राजनीतिक ब्यवस्था परिवर्तन संगै बिकास निर्माणका कामले तीव्रता पाएको बताए । उनले नेपालमा संघीयता लागु भैसकेपछि र कर्णाली प्रदेश राजधानी सुर्खेत भैसकेपछि यो सडकले महत्व पाएको बताएका थिए ।
उनले भने, ‘गणतन्त्र, लोकतन्त्र, र संघीयताको ले गर्दा अहिले गाउँ गाउँमा विकास निर्माण भैरहेको छ, पहिले देशमा विकासले तिब्रता पाउन सकेको थिएन, तर राजनीतिक ब्यवस्था परिबर्तन भएसंगै बिकासले तिब्रता पाउन थालेको छ, सोही अनुसार सडकको ट्रयाक खोलेको लामो समय पछि स्तरोन्नति र कालोपत्रेको लागि कामको थालनी भएको छ।’
मन्त्री ज्वालाले सल्यानबाट कर्णाली प्रदेशको राजधानी जोड्ने लाइफ लाइनको रुपमा रहेकाले यस सडक प्रदेशको प्राथमिकतामा परेको बताए । सोहि अनुसार प्रदेशले बर्षेनी सडकको स्तरोन्नतिको लागि काम गरिरहेको उनले बताए ।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार पुनले बनगाड हुँदै जाने यस सडक गौरवको आयोजना भएको बताएका थिए । उनले यस सडकलाई कृषि र पर्यटनसंँग जोड्नुपर्ने धारणा राखेका थिए । यसका लागि छिटो, छरितो र स्तरीय काम गर्न निर्माण कम्पनीलाई नगरप्रमुख पुनले आग्रह गरेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले विगत लामो समयदेखि सडकको स्तरोन्नतिको लागि पहल भैरहेको र अहिले आएर सार्थकता पाएको बताएका थिए । प्रदेश सरकारले नै जिल्ला सदरमुकामलाई प्रदेश राजधानीसम्म जोड्ने लक्ष्य सहित सडक निर्माण गर्ने योजना अगाडि बढाएको र सोहि अनुसार सल्यान–सुर्खेत सडकको स्तरोन्नति र कालोपत्रे गर्न लागिएको उनले बताएका थिए ।
पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख बिनोद पुनले सबैको साथ र सहकार्यमा नै सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने बताए । यस्तै नेकपा सल्यानका जिल्ला कमिटी सचिव कर्ण बहादुर बुढाथोकीले तोकिएको समयमा नै स्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए ।
सल्यानको बालुवासंग्रहीदेखि कुपिण्डेताल हुँदै सदरमुकाम खलाङ्गासम्मको ३२ किलोमिटर सडकलाई कालोपत्रे गर्न लागिएको हो । नाली सहित ८ मिटर चौडा, साँढे ५ मिटर कालोपत्रे गर्न रु. १८ करोड १८ लाख ३६ हजार ९ सय ९८ लाग्ने भएको छ । सडक निर्माणका लागि गाल्वा धुलिखेल जेभिले जिम्मेवारी लिएको छ । आगामी २ बर्ष भित्रमा काम सम्पन्न गर्ने सम्झौता भएको छ ।





2026-10-26-01-07-45.jpeg)



प्रतिकृया दिनुहोस