• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अँध्यारो गाउँ

हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा ! तपाईं भरखर आउनुभएको छ । हतारहतार आउने वित्तिकै यस्तो कुरा ग¥यो भन्नुहोला । तर तपाईंलाई हामी सबै यही कुरा सोध्ने भनेर व्यग्रतापूर्वक प्रतिक्षामा बसेका थियौं । पोहोरदेखि समाजका मान्छेहरूले तपाईलाई हेर्ने आँखानै बेग्लै भएको छ । हाम्रो घरलाई हेर्ने आँखा पहिलेको जस्तो छैन । तपाई पहिले पहिले घर आँउदा गाउँका मानिसहरू कति खुसी हुन्थे ।

अब भोलि बिहान उज्यालो मात्रै होस, अनि थाहा पाउनु होला । तपाईलाई देखेर मान्छेहरू अर्कै बाटोबाट हिँड्नेछन् । मानिसहरूले तपाईलाई थुक्न सक्नेछन् । गाउँमा बुझ्ने र पढेका मान्छेहरू कोही छैनन् र मात्रै हो । उनीहरू भएको भए तपाईलाई के–के गर्ने थिए । हो, तपाईलाई पक्कै बाँच्न सजिलो थिएन । तपाई यहाँ आएको कसैले थाहा पाएका छन् भने तपाईले भोलिको उज्यालो देख्न पनि पाउनु हुन्न । अझै पनि तपाई यो घरमा लुकरै भए पनि केही दिन बस्नु भयो भने तपाई यहाँबाट पक्कै पनि आफनो जागिरमा बाँचेर फर्कन सक्नुहुन्न । अब गाउँ कहाँ तपाईले सोचे जस्तो छ र । तर यतिबेला तल्ला गाउँ, माथ्ला गाउँमा कोही दाइहरू पनि घरमा छैनन् । हामी जस्तै साना केटाकेटीहरू, बुढा हजुरबाहरू र आमैहरू मात्र छन् । उनीहरूले पनि तपाईलाई साह्रै खराब मान्छेका रूपमा चिनेका छन् ।

बाबा ! जागिर त परिवार आफन्तहरू र समाजलाई सहयोग गर्नका लागि खानु पर्ने होइन र तर तपाईको जागिरले सबैलाई बर्बाद पा¥यो । पुलिसको जागिर खाएर तपाई त उठ्नै नसक्ने गरि बर्वाद हुनु भयो । हाम्रै गाउँमा पनि पुलिसको जागिर खाने अरू पनि त छन् । सामाजिक प्रतिष्ठाप्रति उनीहरू सचेतै छन् । समाज र आफन्तहरूको आँखामा तपाई त दुष्ट र अपराधी मान्छेका रूपमा चिनिनु भयो भयो तर हामीलाई पनि किन किन मानिसहरूले राम्रो आँखाले हेरिदिदैनन् । बाबा ! तपाईको दोषका कारण हामीले किन सजाय पाउने ? यो त हामीमाथिको अन्याय हो नि होइन ? हामीले त सबैलाई त्यसै भन्ने गरेका छौं । बाबाले गरेका अपराधका कारण हामीलाई नराम्रो व्यवहार नगरिदिनुस् भनेर अनुनय–विनय गरेका छौ र यो समाजमा बस्न पाएका छौं ।

आमा एकदिन पँधेराबाट रूँदै आउनु भएको थियो । पँधेरामा आमाले अरू मानिसहरूलाई बोलाउँदा पनि बोलेनन् रे ! उहाँलाई देख्नेबित्तिकै मानिसहरू परपर जान्छन रे ! मास्टर्नी काकी त आमाको नजिकै पर्न चाहनुहुन्न रे ! बाबा ! तपाईले किन यस्तो महाअपराध गर्नुभयो ?

बाबा ! मास्टर काकासँग झगडा गरेर तपाई भोलिपल्ट बिहानै हिड्नुभयो । झगडा गर्दा मास्टर काकालाई तपाईले भोलि राति नै सिध्याइदिन्छु भन्नुभएको रहेछ । पर्सीको उज्यालो देख्न पाउदैनस् भनेर भन्नुभएको रहेछ । तपाईले यसो भन्नुभएको कुरा गाउँका सबै मान्छेले सुनेका रहेछन् । तपाईले यति निच काम गर्नुृहुन्छ भनेर हामीले त कल्पनै गरेका थिएनौं ।

बाबा ! मास्टर काकाजस्तो असल मान्छे त यो गाउँमै थिएनन् । ‘आँखामा राख्दा पनि नबिझाउने मान्छे’ भन्दै मास्टर काकालाई मारेपछि यहाँका कैयौं मान्छेहरू धेरै दिनसम्म रोइरहे । हो, बाबा हामीलाई पनि तपाईहरूले मास्टर काकालाई मारेपछि यो गाउँको मणि नै हराएजस्तो लाग्यो ।

मेरो कुरा सुनेर तपाईलाई साह्रै रिस उठ्यो होला । तपाई रिसाउनु अब हाम्रा लागि महत्वपूर्ण कुरा होइन । अनुहार पनि तपाईको कति साहै बिग्रेको । तपाईलाई यतिवेला ठूलो पश्चाताप भएको होला तर अब के गर्ने ? एक पटक मरिसकेपछि कसैको जीवन फेरि फर्केर आएको छैन । यही कुरा तपाईले पहिले नै सोचिदिनुभएको भए कति राम्रो हुने थियो ।

भोलिपल्ट राति उस्तैउस्तै लुगा लगाएर आउने मान्छेहरूको एक हुलले मास्टर काकालाई कति क्रुरतापूर्वक मारे, त्यो तपाईलाई मैले भनिरहनै पर्दैन । त्यो त तपाईलाई थाहै छ । मास्टर काकाको छोरा नरेश भाईले एकदिन मसँग खुसुक्क भनेको थियो, त्यहाँ तपाई पनि हुनुहुन्थ्यो अरे । तर तपाईले अनुहारलाई खै ! किन हो एउटा रूमाल बाँधेर मुख छोप्नुभएको थियो रे ! बन्दुकको कुन्दाले मास्टरकाकाको टाउकै टाउकोमा हान्दा नरेशले तपाईसँग ठुलो बुवा बाबालाई नमारी दिनुस्, हामी जेभने पनि मान्छौ भनेको थियो रे तपाईसँग । नरेशले यो कुरा स्कुलमा मेरो कानमा खुसुक्क भनेको थियो । उसले मलाई बाबालाई मार्न ठूलो बुवा पनि आउनुभएको थियो भन्थ्यो । जति छोप्न खोजे पनि बाबा ! तपाईलाई त सबैले चिनेछन ।

मास्टर्नी काकीले तपाईलाई चिनेपछि तपाई भित्तामा छेलिनु भयो रे ! होइन ? मास्टर काकालाई तल देविथानको रूखतिर मार्न लैजाँदा तपाईले मास्टर काकालाई गाली गर्दै लगेको तपाईको स्वर त, गाउँका सबैले चिनेछन् नि ! मास्टर काकालाई गोली हान्ने बेलामा पनि तपाईंले तँ माओवादी नै होस् भनेर जथाभावी गाली गर्नुभयो रे ! होइन ? घरबाट तल देविथानसम्म पु¥याउँदा मास्टर काकालाई बन्दुकको कुन्दाले जथाभावी घोच्दै लानुभयो रे ! होइन ?

गाउँका मान्छेसँग हामी पनि भोलिपल्ट बिहानै तल देविथानमा मास्टर काकाको लास हेर्न गयौं । काकाको जिउभरि प्वालैप्वाल थिए । डोरीले बाँधेको त्यति एकजना मान्छेलाई मार्न पनि तपाईंहरूले किन त्यति धेरै गोली हान्नु परेको ? हतियार नभएको मान्छे मास्टर काकासँग तपाईंहरूलाई कति धेरै डर रहेछ ।

मास्टर काकाको लास हेर्न जाँदा त गाउँका धेरै मान्छेहरू मुर्छा भएर लडे नि ! मास्टर्नी काकीलाई त तीन दिनसम्म होस आएन । नरेशले त कति दिनसम्म भातै खाएन नि बाबा ! उसलाई त त्यसपछि कस्तो कस्तो रोग लाग्यो । टोलाएर बस्न थाल्यो । मान्छेहरूसँग पनि डराउन थाल्यो । हाम्रो कक्षामा त त्योभन्दा पहिले प्रथम हुन्थ्यो नि बाबा ! त्यसपछिको परिक्षामा ऊ फेलै भयो । नरेश त अब पहिले पहिले जस्तो छैन ।

साथीहरू सँग पनि बस्न रूचाउँदैन । एक्लैएक्लै बसेर समय बिताउन मन पराउँछ । स्कुलमा साथीहरू उसलाई सा¥है मन पराउँछन् । पहिले कसैसँग पनि झगडा गर्दैनथ्यो । अहिले त साथीहरू सँग पनि सानो कुरामा झड्ङ्ग रिसाउँछ । साथीहरूसँग नजिक हुनै चाहँदैन । स्कुलबाट आउँदा म उसैसँग घर फर्कन चाहन्थे तर ऊ एक्लै आउँछ । तपाईहरूले उसको बाबालाई मारेपछि उसको स्वभावमा कति फरक भयो, भयो ।

तपाईको अनुहार देख्दा मलाई अहिले मास्टर काकाको सम्झना भइरहेको छ । हामी केटाकेटीका लागि उहाँ कति असल मान्छे हुनुहुन्थ्यो । माओवादीले गरेका गलत कामलाई उहाँ गलतै भन्नुहुन्थ्यो । माओवादीले गरेका राम्रा कामको उहाँ प्रशंसा गर्नुहुन्थ्यो । के राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु गलत हो र ! तपाईहरूले त्यस्तो मान्छेलाई पनि देख्न सक्नु भएन । तपाईहरू आफैले सुरक्षा गर्नुपर्ने कानुनलाई आपैmले कुल्चनुभयो । एकपटक उहाँलाई मन पराउने समाज, मास्टर्नी काकी र नरेशको अनुहार सम्झनुस् त ! के तपाईलाई कतै दुखेन ?

हामीलाई पनि तपाईको अनुहार हेर्न मन छैन । तपाईको अनुहार सम्झँदा पनि घिन लाग्छ । तर यो कुरा तपाईलाई भन्ने जरूरी थियो । हामी तपाईलाई भेटेर यो कुरा भन्न चाहन्थ्यौं ।

तपाईलाई जति शान्ति हुन्छ, रातमै शान्ति हुन्छ । यो गाउँमा, यो समाजमा तपाईका लागि उज्यालो कति पीडादायक हुनेछ, हेर्दै जानुुस् । बरू कामना गर्नुस कहिल्यै उज्यालो नहोस् भनेर । भोलि उज्यालोमा तपाईले यो गाउँलाई नहेर्नुस् । तपाई राति आउनुभयो, ठिकै गर्नुभयो । तपाईलाई घरमा आउँदा लुकेर बस्नुपर्ने छ भनेर हामीले एउटा कोठा बनाइदिएको छौं । त्यहाँकतैबाट उज्यालो छिर्दैन । तपाई यहाँ बसुन्जेल त्यही अँध्यारो कोठामा बस्नुस् ।

यो गाऊँमा तपाई आएको बाटामा कसैले देखेका रहेछन् भने तपाई यहाँबाट बाँचेर फर्कन पक्कै पनि सक्नुहुन्न । अब गाउँ तपाईहरूले पहिले सोचेजस्तो कहाँँ छ र !
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर