• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निर्मला हत्या प्रकरण : न्याय अझै मरेको छैन

आशा अझै मरेको छैन, मरेको छ केबल इच्छाशक्ति

निर्मला पन्तको बलात्कार पछिको हत्या र त्यसपछि सृजित परिस्थितका सन्दर्भमा केही शब्द नलेखि बस्नै सकिन । ‘भनिन्छ, हातमा केही नहुनेहरू आवाज लिएर उठ ।’ निर्मलाको न्यायका निम्ति यो उक्तिलाई चरितार्थ गर्नुपर्ने भएको छ । 

जति हेर्याे उति पीडा अनि वेदना, भित्र–भित्र गुम्सिएको भावना व्यक्त नगरी बस्नै सकिन र निर्मलाको न्यायको लागि कलम चलाउने कोशिस गर्दैछु । यदि, आज हामी निर्मलाको न्यायको निम्ति बोलेनाँै भने भोलि सयौं निर्मलाहरू यो देशले गुमाउने छ र हामी केबल निरीह बनेर भनिरहनेछौ, ‘यो सतीले सरापेको देश हो ।’ तर होइन, यो सतीले सरापेको देश हुँदै होइन ।

बरु अहिलेको अवस्था कायमै रहे यो  सैतानले राज गरेको देश चाँहि अवश्य हुनेछ । त्यसैले आज मेरो जिज्ञासा र प्रश्न, विशेषतः महिला नेतृहरू समक्ष छ । जसले हिजो लाखौँ निर्मलाको सुरक्षा, स्वतन्त्रता, न्याय र नेतृत्वका लागि भन्दै राजनीतिको खेती गरे, कयौँले बन्दुक उठाए, कयौँले सडक तताए, गगनचुम्बी नारा घन्काए त कयौँले ठूल–ठूला एनजिओ, आइएनजिओहरू चलाए र उनीहरूको भावना र आँसु बेचेर आज देशको गरिमामय पद र प्रतिष्ठा हासिल गर्न सफल भए ।

लेखक

कतिले सामान्य राजनीति गरेर वा नगरिकन पनि श्रीमान, सन्तान वा आफन्त गुमाएकै भरमा सहानुभूतिको भर्याङ चढेरै भए पनि देशको शासन सत्तामा पुग्ने स्वर्णिम अवसर पाए, शासनको तालाचाबी पाए । तर, आज देशले सौभाग्यवश वा संयोगवश पाएको त्यो महाअवसरलाई कसैले पनि बुझ्नै सकेनन् र निर्मलाहरूको न्यायको निम्ति मैदानमा उत्रनै सकेनन् । 

यो देशले पहिलो पटक महिला राष्ट्रपति पाउँदा देशभरका महिलाहरू कति खुसी थिए होलान ? तर आज जनताको छोरी देशको राष्ट्रपति हुँदा जनताकै छोरी बलात्कृत भई हत्या हुँदा समेत राष्ट्रपतिको न्यायिक वक्तव्य पाउनु पनि ‘एकादेशकी बडामहारानीको कथा’ जस्तै बनेको छ । 

श्रीमानले श्रीमती कुट्दा पनि सायद श्रीमतीले रुदैँ भन्दिहुन, यो देशमा पनि अब महिला सांसद, मन्त्री र राष्ट्रपति भएका छन्, तिमी ममाथि त्यति धेरै अन्याय पनि नगर किनकी देश अब धेरै परिवर्तित भैसक्यो । आमाले छोरीलाई रातमा छिट्टै घर फर्किन आग्रह गर्दा सायद छोरीले भन्छिन्, आमा अब तपाईको जस्तो जमाना छैन, म पनि अब दाइभाइ जस्तै रातिमा घर फर्किन सक्छु, किनकी यो देशमा धेरै महिलाहरू पनि प्रहरीको माथिल्लो तहमा पुगिसकेका छन ।

उनीहरूको काम नै आखिर हामीहरूको सुरक्षाको ग्यारेन्टी गर्नु नै त हो । तर आज समय हिजोभन्दा पनि झन् असुरक्षित र विकराल भएको छ । यतिबेला हरेक आमाबाबु आपm्नो गर्भमा रहेकी छोरीको भविष्यसँग पनि त्रसित बनिरहेका छन् । आखिर हिजोको त्यति ठूलो त्याग, क्रान्ति, आन्दोलन र राजनीतिक परिवर्तन के–का लागि ? आज विदेशीभूमिमा रातको १ बजे पनि सुरक्षित ठानेर हिड्ने छोरीचेली किन आफ्नै गाउँघरमा दिउँसोमा पनि हिड्दा डराउनुपर्ने अवस्था आयो ?  विशेषत म महिला नेतृहरू समक्ष प्रश्न गर्न चाहन्छु ।

के अझै पनि हामी तपाईंहरूको गरिमामय पद र प्रतिष्ठालाई हाम्रो सौभाग्य भनेर बुझ्ने या दुर्भाग्य ?  सुन्दा नमिठो लागे पनि सत्य यही देखिएको छ, हातका औँलामा सीमित केहीबाहेक धेरै योग्यता र क्षमताले भन्दा पनि सहानुभूति, नातावाद र कृपावादले सदन र सत्तामा पुग्नुभयो त्यसैले त यहाँहरूको क्षमताले संसदमा ताली बजाउने काम मात्र पायो ।

यहाँहरूको विवेकले न्याय र अन्याय छुटाउन सकेन । देशका छोरीचेलीहरू असुरक्षाको घेराबन्दीमा रहँदा पनि तपाईंका आवाज सदन र सडकमा बुलन्द हुन सकेनन् । बरु सदनभित्र निदाइरहेका तस्बिरहरू देख्न पाइन्छ, नयाँ–नयाँ साडी र गाडीहरू फेरिएको सुन्न पाइन्छ, मोबाइल र आइप्याडको माग गरेको सुन्न पाइन्छ । आदि आदि ।

महिला राष्ट्रपति भएको मेरो देशमा, दक्षिण एसियाकै धेरै महिला सांसद भएको मेरो देशमा दिनानुदिन कयौँ छोरीचेलीहरू कुट्न्छिन्, बेचिन्छन्, लुटिन्छन् र मारिन्छन् तर पीडितहरू केबल निरीह र विवश बनेर हेरिरहन्छन्, न्यायको झिनो आशामा बाँचिरहन्छन् । उता अपराधीहरू खुलेआम हिडिरहन्छन्, मानौँ कि कुनै बहादुरीको काम गरेर पुरस्कार लिन लाइनमा पालो पर्खिरहेका छन् । तरपनि आशा अझै मरेको छैन । लाग्छ न्याय अझै मरेको छैन । केबल मरेको छ त यहाँ इच्छाशक्ति ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर