• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

मुलुकको आर्थीक भरोसाको केन्द्रबिन्दु बनाउनु पर्छ आईटी

काठमाडौँ । झन्डै आधाभन्दा बढी संख्यामा पसल राख्ने सटरहरू बन्द भएको र प्रायः व्यवसाय मौलाउन नसकेको वर्ष २०८० मा आशावादी हुनुपर्नेमध्ये एक समाचार बन्यो, सूचना प्रविधि अर्थात् आईटी क्षेत्र । गएको वर्ष नेपालमा आईटी सेवा तथा उत्पादनहरूले उल्लेख्य रोजगारी र आम्दानी गरिरहेको तथ्यांक सार्वजनिक भएयता यो क्षेत्र हरेक आर्थिक छलफलको हिस्सा बन्ने गरेको छ।

नेपालबाटै झन्डै १ लाख जनशक्तिले अमेरिका, जापान, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाका ग्राहकलाई प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ सेवा दिँदै छन् ।

छिमेकमा रहेका दुई ठूला आर्थिक शक्ति भारत र चीनको कुल गार्हस्थ्य उत्पादन र निर्यातको प्रमुख हिस्सा ओगटेको आईटीबीपीएम अर्थात् इन्फर्मेसन टेक्नोलोजी एन्ड बिजनेस प्रोसेस म्यानेजमेन्ट क्षेत्रले नेपालमा देखाएको बढ्दो सम्भावनाले धेरैलाई आशावादी बनाएको छ । दुइटै देशमा गरेर करोडौं प्राविधिक र अन्य जनशक्तिलाई रोजगारी दिने यो क्षेत्रमा नेपाल पनि कसरी प्रतिस्पर्धात्मक र गुणस्तरीय रूपमै अगाडि बढ्न सक्छ भन्नेमा बहस सुरु भएका छन् ।

नेपालले विदेशमा सूचना प्रविधि सेवा बेचेर एकै वर्षमा करिब ६७ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको तथ्यांक बाहिरिएयता सूचना प्रविधि क्षेत्रलाई लिएर सबैमा उत्साह जागेको हो । सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गत साउनमा सार्वजनिक गरेको ‘अनलिजिङ आईटी स् एड्भान्सिङ नेपाल्स डिजिटल इकोनमी’ शीर्षकको अध्ययन प्रतिवदेनमा नेपालको सबैभन्दा ठूलो निर्यात सूचना प्रविधि सेवा भएको उल्लेख थियो ।

यही सेरोफेरोमा सरकारले सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर आवश्यक नीतिगत एवं अन्य सुधारका पहल गर्ने र सुविधाहरू थप्नेलगायतका प्रतिबद्धता जनाउँदै आएको छ । २०८० असारमा सार्वजनिक भएको नेपाल व्यापार एकीकृत रणनीतिमा सरकारले निर्यात सम्भावना भएका सेवाको सूचीमा सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवालाई दोस्रो नम्बरमा राखेको छ । रणनीतिमा भनिएअनुसार पछिल्ला वर्ष सूचना प्रविधिको विकास, सेवाको एकीकरण, विश्वव्यापीकरण, कानुनी अनिवार्यतालगायत कारण व्यापारिक पूर्वाधार उद्योग फस्टाएको छ ।

स्वदेशी एवं विदेशी कम्पनीको संख्या, कारोबार, आम्दानी र रोजगारी वृद्धिसँगै ब्लकचेन, रिमोट वर्किङ, डिजिटल कन्टेन्ट निर्माण, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा बढ्दो माग र अवसरले सूचना प्रविधि क्षेत्रलाई थप आकर्षक बनाउँदै लगेको बुझ्न सकिन्छ । नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिले अमेरिका, जापान, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाका ग्राहकलाई मुख्य गरी प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ सेवा दिँदै आएको सो अध्ययनले जनाएको थियो । सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान पुगेको थियो ।

अध्ययनको सीमितताका कारण आफूहरूले औपचारिक माध्यमबाट भइरहेको आयात–निर्यातलाई मात्रै गणना गरेको हुनाले उल्लिखित आँकडा वास्तविकताभन्दा अझै कम हुन सक्ने आईआईडीएसको सो अध्ययनमा नेतृत्व गरेकी अमृता शर्मा बताउँछिन् । ‘आउटसोर्सिङ वा निर्यात सेवा मात्रै होइन सूचना प्रविधिको हाम्रो आन्तरिक बजार पनि बढिरहेको छ,’ उनी भन्छिन्, ‘हामीहरूमध्ये धेरैले पर्स बोक्न छोडिसक्यौं, क्यूआर कोडबाट सजिलै भुक्तानी गर्छौं । वित्तीय क्षेत्रमा जस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत्, स्वास्थ्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणको उत्तिकै सम्भावना छ । ती प्रविधिले छुन बाँकी क्षेत्र हुन् ।’

हावर्ड विश्वविद्यालयको ग्रोथ ल्याबले सार्वजनिक गरेको रिपोर्टअनुसार पनि नेपालले सन् २०२१ मा मात्रै ६० करोड १५ लाख डलरको आईसीटी सेवा निर्यात गरेको थियो । ट्राभल एन्ड टुरिजम, यातायात र बिमा तथा वित्त सेवामध्ये आईसीटी सेवा निर्यातको हिस्सा ७५.३९ प्रतिशत रहेको सो प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, देशहरूको नवप्रवर्तन क्षमता मापन गर्ने विश्व बैंकअन्तर्गतको वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन ९वाइपो० ले सार्वजनिक गर्ने ग्लोबल इन्नोभेसन इन्डेक्समा सन् २०२३ मा नेपाल तीन स्थान सुधार गरी १०८ मा उक्लिएको छ । १३२ देशमध्ये यसअघिका दुई वर्ष १११ औं स्थानमा रहेको नेपालले सन् २०२३ मा कर्जा सुविधा, कुल पुँजी निर्माण, हाई–टेक आयात, मोबाइल एप निर्माण, आन्तरिक बजारको विविधीकरण लगायतमा सुधार गरेको उल्लेख छ ।

त्यस्तै, विश्व आर्थिक मञ्चको प्रक्षेपणअनुसार आगामी दस वर्षमा करिब ७० प्रतिशत उद्यमहरू सूचना प्रविधि प्रणालीमा जोडिनेछन् । नेपालको आन्तरिक सूचना प्रविधि क्षेत्रमा हाल वित्तीय–प्रविधि (फिनटेक) र चेक क्लियरिङ (कनेक्ट आईपीएस) गरी दुइटामा मात्रै गतिलो किसिमको डिजिटल रूपान्तरण देखिएको र बाँकी सबै क्षेत्र परम्परागत मोडलमै चलिरहेको डिजिटल अर्थतन्त्र र सूचना प्रविधिका विज्ञ विवेक राणा बताउँछन् । ‘भारतमा डिजिटल लेन्डिङ ३.५ ट्रिलियन डलरको क्षेत्र हो तर नेपालमा यो सुरु नै भएको छैन,’ उनले भने, ‘पोर्टफोलियो म्यानेजमेन्टमा हामी जान बाँकी छ भने शिक्षा–प्रविधिमा अलिअलि मात्रै काम भएको छ । क्रसबोर्डर पेमेन्ट सुरुवाती चरणमा छ ।’ अबका दिनमा कस्ता कानुनी व्यवस्था आउँछन्, नियामकले कस्ता निर्देशिका ल्याउँछन् र कत्तिको लचिलो व्यवहार गरिन्छ भन्नेमा लगानीकर्ताहरूले हेरेर बसेको र सोहीअनुसार प्रविधि क्षेत्रमा लगानी आउनेर नआउने तय हुने राणाको विश्लेषण छ ।

अर्काथरी जानकारहरू नेपालको सूचना प्रविधि क्षेत्रमा हाल फिनटेक, साइबर सुरक्षा, कन्टेन्ट क्रिएसन, ई–कमर्स, गेमिङलगायत व्यवसाय पनि मुख्यतया सफल हुँदै गएका धारणा राख्छन् । हार्डवेयर निर्माणभन्दा सफ्टवेयर उत्पादनसँगै सूचना प्रविधिसम्बन्धी सेवा प्रवाह नेपाली बजारको सबल पक्ष रहेको कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान० महासंघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिका उपाध्यक्ष रञ्जितकुमार पोदारको बुझाइ छ । हार्डवेयरमा भारत र चीनसँग प्रतिस्पर्धा गर्न अलि कठिन हुने उनले बताए । ‘आजभन्दा १०र१५ वर्षअघि एउटा सानो एकाउन्टिङ सफ्टवेयरसमेत विदेशको किनेर चलाउनुपर्थ्यो, अहिले हामी साना युटिलिटी सफ्टवेयरदेखि ठूला संस्थाका विभिन्न जटिल आवश्यकतासमेत पूरा गर्ने इन्टरप्राइज सफ्टवेयरहरू आफैं बनाउन सक्ने भएका छौं,’ पोदारले भने, ‘वडा, गाउँपालिकादेखि महानगरपालिकासँगै साना–ठूला सबै प्रकारका संस्थाहरूले नेपालमै बनेका एप र वेब–बेस्ड सफ्टवेयर प्रयोग गरिरहेका छन् ।’ यस्तोमा अन्य उद्योगलाई सरह सूचना प्रविधि क्षेत्रलाई पनि सरकारले बिजुली, इन्टरनेट कनेक्टिभिटी, बैंकिङ कर्जालगायतमा सहुलियत दिए यसमा थप उल्लेखनीय वृद्धि हुने पोदारको भनाइ छ ।

बढ्दो अवसर

वित्तीय तथ्यांक व्यवस्थापनसम्बन्धी सेवा दिने गोक्यो ल्याब्सका सहसंस्थापक अभय पौडेल बिना कुनै उल्लेख्य सरकारी सहयोग यहाँसम्म आइपुगेको आईटी क्षेत्रले अहिले हासिल गरेको उपलब्धि सम्भावनाको सानो हिस्सा मात्रै भएको ठान्छन् । शून्यबाट सुरु भएर ५१५ मिलियन डलर आम्दानी गर्ने स्थितिमा आइपुगेको नेपालको आईटी–इनेबल्ड आउटसोर्सिङ सेवालाई विश्वव्यापी ३ ट्रिलियन डलरको बजारमा खुला अवसर रहेको पौडेल बताउँछन् ।

नेपालका सफ्टवेयर र सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको प्रतिनिधित्व गर्ने नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस् कम्पनिज् ९नास–आईटी० का कोषाध्यक्षसमेत रहेका पौडेलले नेपालबाट आईटी सेवा मात्रै निर्यात गर्ने कम्पनी संख्या १ हजार हाराहारी रहेको बताए । ‘सूचना प्रविधिभित्रका आन्तरिक र निर्यात दुवै क्षेत्रलाई सरकारले उचित वित्तीय बजारको पहुँच र प्रवर्द्धनात्मक सहयोग दिन सके तुरुन्तै २ देखि ३ अर्ब डलरको उद्योग सजिलै बन्ने देखिन्छ,’ उनी भन्छन्, ‘अझ यो संस्था बनाउँदा नेपालको आईटी–इनेबल्ड आउटसोर्सिङ सेवालाई १० वर्षमा ५ अर्ब डलर ९साढे ६ खर्ब रुपैयाँ० बराबर निर्यात गर्न सक्ने बनाउने उद्देश्य लिएका थियौं ।’

सूचना नेपालले ढिला सुरु गरेको हुनाले भारत वा अन्य ठूला आईटी निर्यात गर्ने देशजत्तिको पूर्वाधार बन्न समय लाग्ने भए पनि प्राविधिक रूपमा नेपाली उद्योग प्रतिस्पर्धी रहेको उनको दाबी थियो । हुन पनि अटोमेसनमा जाने, एआईको प्रयोग बढाउँदै लाने, गेमिङ र डिजिटल कन्टेन्टबाट प्रचार र व्यापार गर्नेसँगै तथ्यांक व्यवस्थापन, चिकित्सा क्षेत्र, वित्तीय प्रविधिसँगै मनोरन्जन, कृषि, उत्पादनलगायतमा बढ्दो होडले नेपालजस्ता सेवा र साधन उत्पादन गर्न सक्ने देशका लागि सम्भावना फराकिलो बनाएको नेपाली उद्यमीहरूको अनुभव छ ।

झन्डै २०० अर्ब अमेरिकी डलर बराबरको रहेको मानिने आर्टिफिसियल इन्टेलिजेन्स, सन् २०३० सम्ममा १५ खर्ब अमेरिकी डलर बराबरको हुने अपेक्षा गरिएको डिजिटल मनोरन्जन बजार, खर्बौं अमेरिकी डलरले बढेको तथ्यांक व्यवस्थापनसँगै द्रुत गतिमा डिजिटाइज हुँदै गएको विश्वले दिनानुदिन अवसर थपेको समयमा नेपालले त्यसलाई गुमाउन नहुने विचार नेपाली प्रविधि विज्ञहरूको छ । उद्यमी गोल्छा लोडसेडिङ बन्द हुनु, इन्टरनेट कनेक्टिभिटी बढ्नु, कलेज र विश्वविद्यालयको शैक्षिक सुधारसँगै विदेशमा रहेका नेपालीमार्फत बिजनेस प्राप्तसँगै रोजगारी र अर्थोपार्जनजस्ता पक्षले नेपालको आईटी क्षेत्र सशक्त हुँदै गएको टिप्पणी गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर