• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

फागु पूर्णिमालाई ‘पर्यटन उत्सव’मा बदल्नुपर्छ

काठमाडौं । आज फागु पूर्णिमा । यस दिन पहाडी भेगमा फागु खेल्ने चलन छ । भारतमा यस पर्वलाई होलि भनेर मनाउने गरिन्छ । भारतकै सिको गरेर नेपालको तराइ भागमा पनि होलि मनाइन्छ । तर होलि पूर्णिमाको दिन नभइ भोलिपल्ट मनाइन्छ । यद्यपि, यी दुबै रंगको उत्सव हुन् ।

वसन्त ऋतुको आगमनलाई स्वागत गर्न मनाइने यो पर्वले प्रेम भावलाई समाजमा प्रवाह गर्न सघाउँछ । नेपाली समाजमा विहे गरेको छोरी चैतमा माइत जानु हुन्न भन्ने चलन छ । यसको तत्पर्य पनि सन्तान उत्पादनसँग जोडिएको छ । चैतमा नारीको शरीरले बढी मात्रामा गर्भधारण गर्ने सामथ्र्य राख्छ भन्ने पुरातन मान्यता छ ।

नारीलाई सनातन संस्कृतिमा स्वयम् प्रकृतिको रुपमा चरित्रित गरिन्छ । जसरी चैत वैशाखको मौसममा रुखमा नयाँ पालुवा पलाउँछ, त्यसरी नै मावन शरीरले पनि यौन र पुनरुत्पादनको माग गर्छ । त्यसैले सनातनीहरु यसलाई कामोत्तेजनाको मौसम मान्छन् । वसन्त ऋतुलाई प्रेम र यौनको द्योतकका रुपमा प्राचीन समयदेखि नै चित्रित गरिँदै आएको छ ।

त्यसैले युवा युवतीहरु यो पर्वमा बढी उल्लासमा देखिन्छन् । असाधारण जीवन ऊर्जा बोकेका युवाहरुका लागि यो विशिष्ट उत्सव हो । पछिल्लो समय यो उत्सव कुनै धर्म, जात वा सम्प्रदायभन्दा माथि उठेर ‘आम पर्व’को रुपमा उदाउन थालेको छ । यो सबैभन्दा खुसीको कुरा हो । अझ नेपालले यो बेला होलि वा फागु लक्ष्यित गरी ठूलो मात्रामा पर्यटक भित्र्याउने र फागु उत्सव मनाउने विकल्पमा धेरै काम गर्न सक्ने संभावना रहेको छ ।

ठाउँ अनुसारको चलन

नेपालमा ठाउँ र समुदाय अनुसार यो पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा फल्गुन शुक्ल अष्टमीबाटै यो पर्व सुरु हुन्छ । त्यस दिन वसन्तपुरमा चीरोत्थान गरेपछि काठमाडौंमा होलि सुरु भएको मानिन्छ । उपत्यकामा अष्टमीदेखि पूर्णिमासम्म यो पर्व मनाइन्छ ।

पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाइन्छ । चीरमा राखिएको ध्वजापताकाहरु ‘औषधि’का लागि भनेर लुछाचुँडी गरेर घर लाने चलन छ । चीर जलाएको खरानीको टीका लगाउने चलन छ । यसले ‘अनिष्ट’ टरेर जाने जनविस्वास छ ।

पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामको राक्षस बनाइ उसलाई इटुम्बहालबाट ल्याइएको १० पाथि चामलको भात र एउटा राँगाको मासु खुवाउने चलन छ । त्यसपछि न्यूरोड गेटनेरको सैनिक अस्पतालभित्र लगेर त्यहाँको ‘जधु’ नामक धारोमा मुख चुठाउने चलन पनि रहेको छ ।


फागुपूर्णिमाको दिन उपत्यकामा भीमसेनको पूजा गर्ने चलन पनि रहेको छ । पूर्णिमाकै दिन हिमाली क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले ‘तोरन ल्ह’ पर्व मनाउने चलन छ । पहाडी क्षेत्रमा यसलाई ‘फागु’ पर्वको रुपमा मनाइन्छ । यस दिन अबीर दलेर रमाइलो गर्ने चलन छ ।

अचेल पहाडी र हिमाली क्षेत्रमा पनि रातो रङ्गका साथै अनेक रङ्ग दल्ने र पानी छ्यायाछ्याप गर्ने चलन पनि फस्टाएको छ । यसलाई प्रेम, भ्रातृत्व, उमंग र ऐश्वर्यका साथै ‘असत्यमाथि सत्यको जीत’को प्रतीकका रुपमा पनि मनाइन्छ ।

तराइमा भोलिपल्ट मनाइने होलीमा रङ्ग खेल्नुका साथै रोमाञ्चक गीत गाउने र व्यङ्ग्यात्मक कार्यक्रमहरु पनि आयोजना गर्ने गरिन्छ । तराइमै पनि पूर्वदेखि पश्चिमसम्म कयौं विविधताहरु छन् । पोखराजस्ता पर्यटकीय क्षेत्रमा होलिलाई एक उत्कृष्ट पर्यटन उत्सवको रुपमा मनाउन थालिएको छ ।

ऐतिहासिक प्रमाण र किम्बदन्ती

होलि वा फागु पर्वको इतिहासबारे अनेक ग्रन्थमा फरक फरक प्रसङ्गहरु उल्लेख छन् । पूर्व मिमांसा दर्शनका रचयिता जैमिनी र शबरले यस पर्वको सुरुआति नाम ‘होलाका’ भएको उल्लेख गरेका छन् ।

‘काठकगृह्य’ नामक पुस्तकमा ‘राका होला के’ भनेर उल्लेख गरिएको छ । भारतीय टीकाकार देवपालले यस सूत्रको व्याख्या गर्दै भनेका छन्, ‘स्त्रीहरुको सौभाग्यका निम्ति राका (पूर्णचन्द्र वा चन्द्रदेव)को नाममा मनाइने उत्सव नै होलाका हो ।’


यस्ता कयौं तथ्यहरु प्राचीन ग्रन्थमा पाइन्छन् । लिंग पुराणमा फाल्गुन पूर्णिमालाई ‘फाल्गुनिका’ भनिएको छ ।

‘पटवास–विलासिनी’को अर्थ चूर्ण अर्थात् धूलो रङ्ग वा अबीरको पर्व हो । फाल्गुन पूर्णिमामा यस्तो उत्सव मनाउँदा संसारमा समृद्धि आउने भनिएको छ ।

यो पर्वलाई वसन्त ऋतुको आगमन र प्रेम तथा प्रजननसँग पनि जोडेर हेरिएका ऐतिहासिक एवम् सांस्कृतिक आयामहरु पनि छन् । वात्स्यायनले आफ्नो पुस्तक कामसूत्रमा लेखेका छन्, ‘पुरा भारत (उपमहाद्वीप)मा प्रचलित २० खेल (क्रिडा)मध्ये एक होलिका हो ।’

कामसूत्र एवम् भविष्योत्तर पुराणले यस पर्वलाई वसन्त ऋतुसँग जोडेका छन् । चन्द्रमास क्यालेन्डरमा फाल्गुन पूर्णिमा वर्षकै अन्तिम पूर्णिमा हो । त्यसैले प्रेम र यौवनको ऋतु मानिने वसन्तलाई स्वागत गर्ने उत्सवका रुपमा पनि यसलाई व्याख्या गर्ने गरिन्छ ।


ईश्वीको १३ औं शताब्दीमा वर्तमान हैदरावाद इलाकामा पर्ने देवगिरिका प्रधानमन्त्री हेमाद्रिले भविष्योत्तर पुराणलाई उद्धरण दिएर एउटा कथा लेखेका छन् । युधिष्ठिर र कृष्णको सम्बाद गाँसिएको उक्त कथामा भगवान श्रीरामका अग्रज राजा रघुको जमानाबाट होलि पर्व मनाउन सुरु गरिएको उल्लेख छ ।

तर उक्त कथामा ‘ढोण्ढा’ नामक एक राक्षसीले शिवसँग वरदान लिएको र उसलाई बच्चाहरुले मारिदिएको कहानी छ । कयौं कथहरु त राधाकृष्णमा पनि ठोक्किएका छन् । कथाअनुसार एक पल्ट कृष्णले आफू कालो र राधा गोरी भएको भनेर माता यशोदासँग गुनासो गरे । माताले हैरान भएर एक दिन राधालाई पनि रङ्ग दल्न भनेपछि कृष्णले राधाका साथै सबै गोपिनीलाई रङ्ग दलिदिएर मथुराबाट होलि सुरु भयो ।

कतैकतै चाहीँ कंसले आफ्ना भान्जा कृष्णलाई मार्न राक्षसी पूतनालाई पठाए । पूतनाले दूध चुसाइन् । कृष्णले दूध चुसेरै उनलाई मारिदिए । त्यसपछि पूतनाको शरीर गायब भयो । मथुराका गाइपालक किसानले पुत्ला बनाएर लास जलाए र उत्सव मनाए ।

शिव पार्वतीको कथा पनि यसमा गाँसिएको छ । सत्यदेवीको अंगपतनपछि तपस्यामा लीन रहेका शिवलाई कामदेवले कामवाण चलाए । जवाफमा शिवले कामदेवलाई नै भष्म गरिदिए । त्यसपछि शिव र पार्वतीको विवाह भयो । यसरी वासनायुक्त आकर्षणका प्रतीक कामदेव भष्म भएपछि शिव र शक्तिबीच पवित्र प्रेम फलिभूत भयो भन्ने कथा छ ।


मनुस्मृतिमा संसारको पहिलो मानव ‘मनु’ यस धर्तिमा जन्मिएको नै फाल्गुपूर्णिमाका दिन रहेको उल्लेख गरेको छ । भगवान विष्णुको चौंथो अवतार भनिने ‘नरनारायण’को जन्मदिन पनि फाल्गुन पूर्णिमा नै भएको उल्लेख पाइन्छ ।

प्राचीन संस्कृत साहित्यमा यो पर्वको उल्लेख पाइन्छ । सातौं शताब्दीका राजा हर्षवर्धनका नाटकहरु रत्नावली र प्रियदर्शिकामा होलिका प्रसङ्ग भेटिन्छ । महाकवि कालिदासका कुमारसंभवम् तथा मालविकाग्निमित्रम् लगायत ग्रन्थमा यसका प्रसङ्ग छन् । कालिदासले अफ्नो प्रथम कृति ऋतुसंहारमा त पुरा एक सर्ग नै ‘वसन्तोत्सव’लाई समर्पित गरेका छन् । हिन्दि साहित्यको पहिलो महाकाब्य ‘पृथ्वीराज रासो’मा पनि चंदबरदाईले होलिको वर्णन गरेका छन् ।

होलिको पौराणिक इतिहास

सत्य युगमा हिरण्याक्ष र हिरण्यकशिपु नामका दुई दाजुभाइ असुर थिए । ऋषि कश्यप र दितीका सन्तान यी हिरयण्याक्ष (सुनौलो आँखा भएको) दैंत्यले ब्रह्माको तपस्या गरेर ‘अजन्मा (आमाको कोखबाट नजन्मिएको) पशुका अलवा अरु कसैले मार्न नसक्ने’ वरदान प्राप्त गरे । त्यसपछि उनले स्वर्गसहित तिनै लोकमा शासन गरे ।

तिनै हिरण्याक्षले पृथ्वीलाई जलमा डुबाइदिएपछि भगवान विष्णुले वराह ९बँदेल० अवतार लिएर धर्तिलाई पानीको गहिराइबाट माथि ल्याएका थिए भनिन्छ । विष्णुले सोही वराह रुपमा हिरण्याक्षलाई मारिदिए । त्यो देखेपछि उनका भाइ हिरण्यकशिपु (सुनले शरीर ढाकेको) ले विष्णुसँग बदला लिनका लागि ब्रह्माको घोर तपस्या गरे ।


दाइको पराजयबाट सिकेर उनले अझ बढी सुरक्षित हुने विकल्प खोजे । उनले ब्रह्मा जीसँग अनौठो वर मागे । ‘मेरो मृत्यु न जल, न स्थल, न आकाश कतै पनि नहोस् । न घर भित्र मरूँ, न घर बाहिर मरूँ । न दिनमा मरूँ न रातमा मरूँ । न स्त्री न पुरुष कसैको हातबाट मृत्यु नहोस् । न सुर, न असुर, न मनुष्य न पशु कसैद्वारा नमरूँ । न शस्त्रले मरूँ, न अस्त्रले मरूँ ।’

ब्रह्माजीबाट यस्तो वरदान पाएपछि उनले आफूलाई ‘अजेय’ सम्झिए । तपस्या पुरा गरेर फर्किएपछि उनकी पत्नी कयाधुलाई इन्द्र आदी देवताले हरण गरेका थिए भनेर उनले थहा पाए । हिरण्याक्ष र हिरण्यकशिपुको पराक्रमबाट त्रसित भएका देवताहरु उनको पुत्रसँग झनै तर्सिएका थिए । त्यही डरले ‘गर्भमै मारिदिने’ योजनामा गर्भवती कयाधुको अपहरण गरेका थिए ।

इन्द्रले त्यस अघि पनि हिरण्यकशिपुकी आमाको गर्भमा प्रवेश गरेर गर्भलाई ७ टुक्रा बनाइदिएका थिए । दितीको बुहारीको गर्भ पनि त्यसै गरी नास गर्ने योजनामा देवताहरु अघि बढेपछि देवऋषि नारदले उनीहरुलाई रोके । इन्द्रले मुनीको आश्रममा कयाधुलाई छाडेर गएपछि नारदले गर्भवती अवस्थामै भागवत दिक्षा दिए । गर्भमा रहेको बच्चाले त्यही ज्ञान सुन्यो जन्मेपछि पनि त्यसैलाई जीवनको आदर्श बनायो ।

उता हिरण्यकशिपुले पत्नीलाई फिर्ता ल्याए र आफ्नी पत्नीको अपहरण गर्ने इन्द्रमाथि हमला गरेर स्वर्ग विजय गरे । पुनः तिनै लोक कब्जा गरे र वैदिक व्यवस्थामा उलटफेर ल्याउन थाले । दाइको मृत्युपछि पुनः त्रिलोक कब्जा गरेका हिरण्यकशिपुले आफैंलाई ‘भगवान’ घोषित गरे । उनले लामो समय तिन लोकको शासन गरे ।

उनले अरु असुरजस्तो यज्ञ गर्न रोक लगाएनन्, बरु यज्ञमा हवन गर्दा ‘हिरण्याय नमः’ भन्न लगाए । यसले पुरा यज्ञको फल उनले प्राप्त गर्न थाले । पौराणिक इतिहासमा सबैभन्दा सशक्त रुपमा स्वर्गको शासन कब्जा गर्ने असुरमध्ये यी दाजुभाइको इतिहास उनीहरुको नामजस्तै स्वर्णिम छ । ब्रह्माण्ड पुराणका अनुसार १० करोड ७२ लाख ८० हजार वर्ष राज्य गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर