नयाँ कानुन : विवाहसम्वन्धी व्यवस्था र उल्लंघनको सजाय
विवाह गर्नु भनेको हरेक मानिसले जीवनको ठूलो निर्णय लिनु हो । कानुनी तथा सामाजिक बन्धन पनि हो । जव तपाईं विवाह बन्धनमा बाँधिनु हुन्छ, तब अधिकार सुविधा मात्र स्वीकार गरेको होइन यसबाट तपाईंमा कानुनी तथा सम्पत्तिमा समेत दायित्व सिर्जना हुनेछ ।
कस्तो अवस्थामा विवाह भएको मानिने ?
‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ’ भनी परिभाषा गरेको पाइन्छ । यसबाट महिला र पुरुषबीच स्वतन्त्ररुपमा दाम्पत्य तथा पारिवारिक जीवनको प्रारम्भ हुनेछ भने जुन सामाजिक तथा कानुनी बन्धन हुनेछ । जस्तोसुकै प्रकारले विवाह गरेको भएता पनि सार्वजनिक गर्नु वा गराउनु पर्ने छ ।
विवाह गर्नको लागि बीस वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने हाडनातामा विवाह गर्न पाइने छैन । तर जातीय, समुदाय वा कुलमा चलिआएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा गर्न वा गराउन भने पाउनेछ ।
विवाह गर्न गराउन नहुने अवस्थाहरु
शरीरमा एचआइभी, हेपाटाइटिस बि, निको नहुने कडारोग लागेमा, यौनाङ्ग नै नभएको, नपुंसक भएमा, पूर्णरुपमा बोल्न सुन्न बोल्न नसक्ने अवस्था, दृष्टिविहीन, होस ठेगानामा नरहेको, विवाह भैसकेको, गर्भवती आदि भएकालाई झुक्याई विवाह गर्न गराउन हुँदैन यसो गरेमा विवाह बदर गराई सम्बन्धित पक्षले मनासिव क्षतिपूतिसमेत दावी गर्न सक्नेछ ।
विवाह बदर हुने अवस्था
मन्जुरी नभइ गरेको विवाह, हाडनाताबीच भएको विवाह बदर हुन सक्ने छ ।
वदर गराउन सक्ने
२० वर्ष उमेर पूरा नभई विवाह गरेमा, माथि उल्लेख गरे बमोजिम झुक्याइ विवाह गरेमा समेत विवाह वदर गराउन सक्नेछ तर बदर नगराएमा विवाह कायमै हुनेछ ।
शारीरिक सम्पर्कबाट बच्चा जन्मिएमा
शारीरिक सम्पर्कबाट गर्भाधारण गरी बच्चा जन्मिएमा त्यस्तो महिला र पुरुषबीच स्वतः विवाह भएको मानिने छ तर यदि जवरजस्ती करणी र हाडनाता करणीमा शारीरिक सम्पर्कबाट बच्चा जन्मिएमा विवाह भएको मानिने छैन । तर त्यस्तो करणीबाट जन्मिएको शिशुको हकमा भने कानुनबमोजिम त्यस बच्चाले हक प्राप्त गर्ने छ ।
वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने अवस्थाहरु
महिला र पुरुषबीच मन्जुरी नभइ भएको विवाह, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरुबीच भएको विवाह, कानुनबमोजिम पति पत्नी सम्वन्धबिच्छेद भएमा र पत्नीले कानुन बमोजिम सम्बन्धबिच्छेद नहुँदै अर्को विवाह गरेको अवस्थामा वैवाहिक सम्बन्ध कानुनीरुपमा नै सकिएको मानिनेछ ।
कस्तो अवस्थामा फेरी (पुनः) विवाह गर्न सक्न्छि
महिला र पुरुषबीच मन्जुरी नभइ भएको विवाह, कानुनबमोजिम पति पत्नी सम्बन्धबिच्छेद भएमा र पत्नीले कानुनबमोजिम सम्बन्धबिच्छेद नहुँदै अर्काे विवाह गरेमा । पति वा पत्नीको मृत्यु भएमा र पति वा पत्नीले कानुनबमोजिम अंशबन्डा गरी भिन्न भइ बसेको अवस्थामा फेरी विवाह गर्न पाइने कानुनी व्यवस्था छ
विवाहको परिणाम के हुन्छ त ?
विवाहपछि सम्बन्धित पुरुष र महिला पति र पत्नी मानिने छन् । पत्नीको बासस्थान पतिको घरमा कायम भएको मानिने छ । इज्जत र क्षमता अनुसार एक अर्कामा खान लाउन र स्वास्थ्य उपचारको लागि व्यवस्था गर्नु वा गराउनु पर्ने छ । सहमतिमा घर व्यवहार चलाउनु पर्ने, पेशा वा व्यावसाय वा काम गर्न रोक्न नहुने व्यवस्था गरेको छ । यदि, कसैलाई यसबाट मर्का परेमा त्यस्तो काम कारवाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
कानुन उल्लंघन गर्दा के सजाय हुन्छ त ?
मन्जुरीविना विवाह गराएमा
दुई वर्षसम्म कैद र बीस हजारसम्म जरिवाना हुनेछ ।
हाडनातामा विवाह गरेमा
थाहा नपाई गरेमा विवाह वदर हुनेछ । जानाजानी गरेको रहेछ भने विवाह गर्नेलाई हाडनाता करणी कसुरको सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै हुनेछ र त्यस्तो विवाह पनि स्वतः बदर हुने ब्यवस्था रहेको छ ।
बाल विवाह गरेमा
बीस वर्ष उमेर नपुगी विवाह गरेमा स्वतः बदर हुनेछ । यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुनेछ ।
विवाहमा लेन देन गर्न नहुने
दाइजोमा चल अचल सम्पत्ति माग गर्ते तथा कुनै सर्त राखी विवाह गरेमा पाँच वर्ष कैद वा पचास हजारसम्म जरिवाना र यदि त्यस्तो सम्पत्ति लिएका भए उक्त सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
बहुविवाह सम्बन्धी
कसैले बहुविवाह गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजारदेखि पचास हजारसम्म जरिवाना र विवाह स्वतः बदर हुनेछ ।
कहिलेसम्म उजुर गर्ने (हदम्याद)
कसुर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिनामित्र यदि तीन महिना नाघेमा उजुर लाग्ने छैन ।
–लेखक अधिवक्ता हुन्
प्रतिकृया दिनुहोस