• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो । त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । 

उनका अनुसार सञ्चालक समितिले टेलिकमले स्वीकृतविना नम्बर वितरण गरेकाले एक पटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुनेछ ।

यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो ।

नम्बर प्रयोगकर्तालाई वितरण भएपश्चात् उक्त नम्बर दीर्घकालीनरूपमा प्रयोग हुने भएकाले अस्थायीरूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायीरूपमा प्रदान हुनेछ । सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । नेपामा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर