झापामा धान उत्पादनमा वृद्धी, बास्मति धान प्रति कृषक आकर्षित

झापा । झापामा यो वर्ष समग्र धान उत्पादनमा बृद्धि भएको छ । कार्तिकको सुरुवातमै बेमौसमी बर्षापछि आएको बाढीले उत्पादन घट्ने आंकलन गरिएको थियो । यद्यपी उत्पादनमा अघिल्लो वर्ष भन्दा नघटेको कृषि ज्ञान केन्द्रका कृषि बिज्ञ शालीकराम भट्टराईले जानकारी दिए ।

झापामा अघिल्लो वर्ष ८५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोप्दा ४ लाख १५ हजार ६ सय २५ मेट्रिक टन फलेको थियो । यो वर्ष धान रोप्ने जमिनको क्षेत्रफल पनि बढेको छ । ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपीएको छ । यसबाट मंसिर २२ गते सम्ममा ४ लाख २३ हजार ९ सय ६६ मेट्रिक टन उत्पदान भइसकेको छ ।

अझै केहि पालिकाहरुले त्यहाँ उत्पादन भएको धानको तथ्यांक नपठाइसकेकोले पुषको पहिलो साता सम्ममा एकमुष्ट तथ्याकं आउँने ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष ४ लाख ६६ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान  ज्ञान केन्द्रको छ । यो वर्षको बेमौसमी वर्षाले ४६ हजार ७ सय ९२ मेट्रिक टन उत्पादन घटाएको ज्ञान केन्द्रले तथ्याकं निकालेको छ ।

बास्मति धानमा किसानको आकर्षण

झापामा सबैभन्दा बढि भारतीय जातको रञ्जित धान उत्पादन हुन्छ । तर पछिल्लो समय झापामा बास्मती धानको पनि उत्पादन बढ्न थालेको छ । पहिलो चरणमा झापालाई बास्मती धानमा पूर्ण आत्मनिर्भर बनाउने लक्ष्यका साथ व्यवसायीक रुपमै उत्पादन थालिएपछि यसको उत्पादन पनि बढ्न थालेको हो  ।

झापाको गौरादह नगरपालिका ७ मा राष्ट्रिय खाद्य बैकंले कालो नुनिया १० बिगाहमा, कालो बास्मती १० बिगाहमा, इन्द्रबली १६ बिगाहमा, रातो बास्मती ५ बिगाहमा र ९ बिगाहमा कालो नुनिया बास्मती धान रोपेको छ । बैंकले आफ्नो पहिलो पाईलट प्रोजेक्टको रुपमा गौरादहमा सुरु गरेको धान खेतीको उत्पादन सोचेभन्दा राम्रो देखिएको छ । अहिले यहाँ लगाइएको धान धमाधाम काट्ने काम चलिरहेको छ । काटीसकेपछि खाली भएको जमिनमा बैंककै अन्य योजनामा सहयोग पुग्ने गरिका बाली रोपीने बैकंका सञ्चालक समिति सदस्य ईश्वर लुईटेलले जानकारी दिए ।

पहिलो पटक भएकोले यो वर्ष ५० बिगाहमा बास्मती धान लगाइएको छ । जापानीज प्रविधिबाट  खेती गरिएको हुनाले यहाँ उत्पादन सन्तोषजनक भएको बैकको भनाई छ । उत्पादन बढि भएको देखेर यहाँका अन्य किसानले पनि बैकसँग साझेदारी गरेर खेती गर्ने भन्दै सम्पर्कमा आउने क्रम बढ्न थालेको छ । अव आगामी वर्ष धान खेती गर्दा २ सय बिगाहमा गरिने बैकंका अध्यक्ष शंखरनाथ उप्रेतीले बताए । यहि क्रममा बढ्ने हो भने झापामा २ वर्ष भित्रमा ५ सय बिगाह क्षेत्रफलमा बास्मती धान मात्रै रोप्ने र रैथाने जातको धानलाई प्रर्वधन गर्ने योजना बनाएको उनले सुनाए ।

झापामा १२ हजार हेक्टर क्षेत्रफलमा बिभिन्न जातको बास्मती धान खेती हुने गरेको छ । केहि धनाड्डे  परिवारले यसको खेती गर्न लगाउँने गराएको भएपनि यसको व्यवसायीक उत्पादनमा लाग्नेको संख्या भने निकै कम रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर