नौ नगरप्रमुख र अध्यक्षमा ७३ जनाको उम्मेदवारी दर्ता

महेन्द्रनगर । सात नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्ष पदका लागि ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यहाँका नौवटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका उम्मेदवार र स्वतन्त्र गरी ७३ जनाले नगरप्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएको यहाँका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए । उनका अनुसार भीमदत्तमा उपप्रमुख पदमा ११ जनाले उम्मेदवारी दिएका छन् । ६६ हजार ६५० जना मतदाता रहेको भीमदत्तमा १९ वटा वडा रहेका छन् । यहाँ १९ वडाध्यक्षका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को निर्वाचनमा भीमदत्तमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

त्यसैगरी यहाँको दोधारा चाँदनी नगरपालिकामा आठ जनाले नगरप्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् भने सो नगरपालिकामा आठ जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । दोधारा चाँदनीमा पार्टी र दुई÷दुई जनाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी परेको छ । २६ हजार ८०३ जना मतदाता रहेको दोधारा चाँदनीमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । 

त्यसैगरी वेदकोट नगरपालिकामा पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वेदकोटमा उपप्रमुखका लागि चार जनाको उम्मेदवारी परेको छ । ३२ हजार ७६० जना मतदाता रहेको वेदकोटमा अघिल्लो निर्वाचनमा नगरप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जना र उपप्रमुखका लागि पाँच जनाको उम्मेदवारी परेको छ । यहाँ अघिल्लो पटक नेपाली कांग्रेसका उम्मेदवार नगरप्रमुखमा विजयी भएका थिए । शुक्लाफाँटामा कूल ३१ हजार ४४८ जना मतदाता रहेका छन् ।

त्यस्तै कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुख र उपप्रमुखमा छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँका निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले राजनीतिक दलबाट उम्मेदवारी परेको बताए । कृष्णपुरमा ४० हजार ३३८ जना मतदाता रहेका छन् । यसअघिको स्थानीय तहको निर्वाचनमा यहाँ एमालेका उम्मेदवार नगरप्रमुखमा विजयी भएका थिए ।

त्यसैगरी बेलौरी नगरपालिकामा छ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् । ३४ हजार ५३९ मतदाता रहेको बेलौरीमा यस पटक उपप्रमुख पदमा सात जनाले उम्मेदवारी दिएका छन् । अघिल्लो पटक यहाँ माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

त्यसैगरी यहाँको पुनर्वास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन् । ३४ हजार ६३ मतदाता रहेको पुनर्वासमा पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । विसं २०७४ को पालिकाको निर्वाचनमा एमालेका उम्मेदवारले निर्वाचत जित्दै पालिकाको नेतृत्व सम्हालेका थिए ।

त्यसैगरी कञ्चनपुरमै राना थारुको बाहुल्यता रहेको लालझाडी गाउँपालिकामा छ जनाले अध्यक्ष र चार जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । १४ हजार १६ जना मतदाता रहेको लालझाडीमा अघिल्लो पटक माओवादी केन्द्रका उम्मेदवारले बाजी मारेका थिए ।

त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि गाउँपालिकाको नेतृत्व सम्हाल्ने भन्दै छ जनाले अध्यक्ष र छ जनाले उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो पटक एमाले उम्मेदवार विजयी भएको बेल्डाडीमा १४ हजार ३७३ जना मतदाता रहेका छन् । 

कञ्चनपुरमा यस पटक नेपाली कांग्रेस, नेकपा एमाले र दुई दलीय गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

यहाँको भीमदत्त नगरपालिकामा अघिल्लो पटक चार हजारभन्दा बढी मत ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँका नौवटै पालिकामा एक्ला÷एक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र समाजवादीले पालिकामा गठबन्धन गरेर चुनावी मैदानमा उम्मेदवार उतारेका छन् ।

निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् । यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर