• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चुनावी परिणामको सन्देश : सहरमा माओवादी ‘प्रवेश’, एमाले ‘निषेध’ !

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच देशभर गठबन्धन भएको थिएन । कुल ७५३ स्थानीय तहमध्ये २५ प्रतिशत पालिकामा मात्रै गठबन्धन भएको थियो । गठबन्धनले एमालेलाई विगतको तुलनामा आधा क्षति पु¥याएको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले एक्ले ३९ प्रतिशत पालिकामा पकड जमाएको थियो भने यसपटक २७ प्रतिशतमा खुम्चिएको छ ।
 
यति मात्रै होइन विगतमा एमालेले ६ वटा महानगरपालिका मध्ये २ वटामा विजयी भएको थियो भने ११ वटा उपमहानगरपालिका मध्ये ७ वटामा विजयी भएको थियो । यसपटक भने गठबन्धनले महानगरबाट एमालेलाई निल बनाउ सफल भएको छ भने उपमहानगरबाट एमालेले जितेका मध्येबाट ४ वटा खोस्न सफल भएको छ । यसका साथै गठबन्धनले भने ०७४ सालमा एमालेले लिएको सहरी क्षेत्रको उचाइलाई पाँच वर्षको अन्तरालमै खुम्च्याइदिन सफल भएको छ ।

बाक्लो बस्तीबाट एमाले ‘निषेध’

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी जनघनत्व भएको शहरी इलाकाले एमालेलाई छाडेको छ । सबैभन्दा बढी जनघनत्व भएको ६ वटै महानगरबाट एमाले पराजित भएको छ भने उपमहानगरमा पनि एमालेको नाजुक अवस्था रह्यो । एमाले अध्यक्ष केपी ओलीले आफ्नै गृहनगर दमक नगरपालिका गुमाए ।

काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार सबैभन्दा धेरै मतान्तरको तेस्रो स्थानमा रहेकाले जित्ने अवस्था छैन भने ललितपुर महानगरको अवस्था पनि उस्तै रहेको छ । यस्तै एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व जित्दा एमालेले भने आफ्नो पकड गुमायो । यसका साथै एमालेलाई सबैभन्दा नराम्रो झड्का लागेको महानगर भने वीरगञ्ज महानगर हो । जसपाबाट विजयी भएका मेयर विजयकुमार सरावगीलाई निर्वाचनको मुखमा ओलीले एमाले प्रवेश गराएका थिए । उनले एमाले प्रवेश मात्रै गराएनन् उसैलाई मेयरको टिकट पनि दिए । तिनै सरावगीले भने जसपाका उम्मेदवारसँग लज्जास्पद हार बेहोर्न पुगे । २३ हजार मतान्तरले सरावगी जसपाका उम्मेदवार राजेशमान सिंहसँग लज्जास्पद ढंगले पराजित भए ।

यस्तै विराटनगर महानगरपालिकामा पनि एमाले पराजित हुन पुग्यो त्यहाँ पनि एमालेका उम्मेदवार कांग्रेसका नागेश कोइरालासँग झन्डै ९ हजार मतान्तरले पराजित भए । एमालेका लागि सबैभन्दा बढी प्रतिष्ठाको महानगर थियो– चितवनको भरतपुर महानगर । त्यहाँ पनि माओवादीकी निवर्तनमान मेयर रेनु दाहालसँग एमालेका विजय सुवेदी साढे १२ हजार मतान्तरले पराजित भए ।

अझ रोचक त के छ भने यस महानगरमा एमालेका उम्मेदवारलाई राप्रपा र राप्रपा नेपालको साथ थियो भने माओवादीका उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलहरुको साथ थियो । यति मात्रै होइन माओवादीका लागि सबैभन्दा बढी सहयोगी पार्टीका रुपमा कांग्रेस थियो । कांग्रेसबाट भने भरतपुर महानगरमा माओवादीकी रेनु दाहाल विरुद्ध बागी उम्मेदवारी परेको थियो । बागी उम्मेदवारी दिएका कांग्रेसका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् । र पनि एमालेका उम्मेदवारले माओवादीकी उम्मेदवारलाई उछिन्न सकेनन् । बरु एमालेका उम्मेदवार विजय सुवेदी साढे १२ हजार मतान्तरले पराजित भए ।

०७४ को निर्वाचनमा ६ महानगर मध्ये एमालेले काठमाडौं र पोखरा जितेको थियो । यसपटक भने यि दुवै महानगरमा एमालेले अग्रता नै लिन सकेन । भने ११ मध्ये ७ वटा उपमहानगर जितेका मध्ये खुम्चिएर २ वटामा सीमित भएको छ भने एउटा तुल्सीपुर उपमहानगरमा अग्रता लिइरहेको छ । एमालेले अहिलेसम्म घोराही र कलैया मात्रै जितेको छ । हेटौंडा, बुटवल, धरान, इटहरी र जितपुर सिमरा गुमायो । भने नेपालगञ्ज र धनगढीबाट पनि एमाले पराजित भयो । भैरहवा, कोहलपुर, इनरुवा, तानसेन दमक जस्ता सहरहरुबाट पनि पराजय हुन पग्यो ।
 
एमालेले काठमाडौंका १० नगरमध्ये ६ वटा पालिका जितेको थियो । यसपटक भने ४ वटा पालिका गुमाएर बुढानिलकण्ठ र टोखा नगरपालिकामा मात्रै जित निकाल्यो । अघिल्लो पटक जितेको भक्तपुर मध्यपुर थिमी र चाँगुनारायण नगरपालिमा यसपटक पराजित भयो । 
 
बाक्लो बस्तीमा माओवादी प्रवेश 

गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा सहरी इलाकामा माओवादी केन्द्रलाई जित्न सबैभन्दा बढी कठिन भएको थियो । अर्थात् जित निकाल्नै सकेको थिए । पाँच वर्षपछि भने सहर प्रवेशको ढोका खोलेको हो । माओवादी केन्द्रले गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरमा २०३ मतान्तरले विजयी भएको थियो भने यसपटक साढे १२ हजार मतान्तरले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल मेयरमा विजयी भइन् । यस्तै माओवादी केन्द्रले ११ वटा उपमहानगर मध्ये गत निर्वाचनमा एउटा पनि जित्न सकेको थिएन तर यसपटक भने एउटा उपमहानगरमा भने जित हात पारेको छ ।
 
जितपुर सिमरा उपमहानगरमा भने माओवादी केन्द्रका राजन पौडेल २ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यस्तै गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ को झापा, मोरङ सुनसरीमा भएका पालिकामध्ये मोरङको रंगेली नगरपालिका मात्रै जितेको थियो । तर यसपटक भने धरान उपमहानगरपालिकाको उपमेयर जितेको छ । धरानमा एमाले र कांग्रेस जस्ता ठूला पार्टीले मेयरमा दिएको उम्मेदवारी निकम्मा हुँदा उपमेयरमा भने माओवादीले बाजी मारेको हो ।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियान्ता हर्क साम्पाङ राई विजयी भए भने उपमेयरमा माओवादी केन्द्रका प्रदेश १ का सचिवालय सदस्य आइन्द्रविक्रम मेघा प्रतिस्पर्धी उम्मेदवारभन्दा ३ हजार बढी मत ल्याएर विजयी भए । यस्तै माओवादी केन्द्रले काठमाडौं जिल्लामा तीन वटा वडाध्यक्ष जितेको छ भने ललितपुर जिल्लाबाट दुई वटा उपाध्यक्ष जितेको छ । यस्तै माओवादी केन्द्रको सबैभन्दा बढी सफलता भने भक्तपुर जिल्ला रहेको छ ।

मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका हुन् । भक्तपुर जिल्लामा भने माओवादी केन्द्रले पहिलो पटक खाता खोलेको हो । माओवादी केन्द्र पहिलो पटक ०६४ सालबाट निर्वाचन प्रक्रियामा सामेल भएको हो ।

माओवादीले निर्वाचनमा सामेल भएको १५ वर्षपछि पहिलोपटक उपमेयर र एक जना वडा सदस्य जितेर पार्टीको झन्डा फहराएको हो । नगर उपप्रमुखमा माओवादी केन्द्रका विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी एमालेकी उत्तरा नेपाल ३ हजार १३९ मतान्तरले पराजित भइन् । नेपालले ८९६३ मत मात्रै पाएकी थिइन् । यस्तै माओवादी केन्द्रले मध्यपुर थिमी– ६ मा वडा सदस्य पनि जितेको छ ।

तुलसीराम प्रजापति वडा सदस्यमा विजयी भएका हुन् ।  यसका साथै माओवादीका लागि सबैभन्दा सुखद् जिल्ला भने गोरखा हुन पुग्यो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा दुई वटा गाउँपालिका मात्रै जितेको माओवादीले पाँच वर्षको अन्तरालमा एक्लै चुनावी प्रतिस्पर्धा गरी गोरखाका ११ स्थानीय तह मध्ये दुई नगरसहित ९ वटा पालिकामा विजयी भयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकालले सहरी जनमत माओवादीतिर आकर्षित भएको बताए । उनले यसअघि पार्टी विभाजनका कारण केही असहजता भए पनि अहिले माओवादीप्रति नै आकर्षण बढेको बताए । ‘०६४ सालको संविधानसभा निर्वाचनमा सहरी जनमत माओवादीकै पक्षमा थियो । यसबीचमा माओवादी केन्द्रले सहरी जनमतको रक्षा गर्न सकेको थिएन । यो स्थानीय तहको निर्वाचनले महानगर, उपमहानगर र नगरपालिकाहरुमा प्रमुख र उपप्रमुख पदमा आएको छ ।

यि दुवै पदमा आउन नसकेका ठाउँमा पनि वडाध्यक्षहरुमा प्रवेश गरेको छ,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकालले भने,‘ यस हिसावले हेर्दा सहरी जनमत विस्तारै माओवादी तिर आकर्षित हुँदै गएको छ । अब हुने प्रदेश र केन्द्रको निर्वाचनमा हामी यो जनमतलाई अझ विस्तार गर्नेछौं । र अबको पाँच वर्षपछि सहरमा रहेका मतदातालाई थप आकर्षित गर्दै पार्टीलाई पुनर्स्थापित गर्छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर